- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
निजी सवारी साधनमा चारदेखि सात वर्ष उमेर समूहका बालबालिकाका लागि विशेष सिटको व्यवस्थामात्र गर्दा पनि सम्भाव्य परिघटनामा घाइते हुने वा ज्यान जोखिममा पर्ने मात्रामा ५९ प्रतिशतले कमी आउने विश्व स्वास्थ्य संगठनको आँकलन छ ।
यसका लागि सरकारले निजी सवारी साधानका धनीहरुलाई अनिवार्य रुपमा बालबालिकाको सिटको व्यवस्था मिलाउनुपर्ने कानूनी व्यवस्था गर्नु आवश्यक छ ।
त्यस्तो सिट अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको हुनुपर्दछ । यस्तो सिट अनावश्यक रुपमा महँगो हुनु हुँदैन जसबाट मानिसहरु यस्तो सिटको व्यवस्थापनमा आनाकानी नगरुन् ।
यस्तो सिटलाई घटाउने, बढाउने वा फिक्स गरेर राख्न मिल्ने व्यवस्था हुनुपर्दछ । यस्तो सिटको उपयोग गर्ने निजी सवारी साधनको खरीदमा छुुट वा ऋण सहुलियतको व्यवस्था गरेर पनि मानिसलाई आकर्षित गर्न सकिन्छ ।
बालबालिकालाई टल्किने वा टाढैबाट देखिने किसिमका लुगा लगाइदिनु पनि एक किसिमको बचावटको उपाय हो । विद्यालय क्षेत्रमा बाटो कटाउन टल्किने लुगा लगाएका वयष्कहरुको सहयोग उपलब्ध गराउनु पनि फाइदाजनक हुन्छ ।
बालबालिकालाई साइकल चलाउन दिँदा अनिवार्य रुपमा हेलमेटको व्यवस्था गर्ने तथा साइकलको अगाडि र पछाडिपट्टिको भागमा रातो बत्ती वा टल्किने बत्तीको प्रयोग गर्ने । यसैगरी मोटरसाइकलमा पनि दिउँसोसमेत बत्तीको प्रयोग अनिवार्य गराइनुपर्दछ ।
मोटरसाइकलमा दिउँसो पनि बत्तीको प्रयोग गर्दा बालबालिकाको ज्यान जोखिममा पर्ने मात्रामा २९ प्रतिशतले कमी ल्याउन सकिन्छ । सडक बनाउनु भनेको गाडी चलाउनेमात्र हो भन्ने सोच अझै पनि व्याप्त छ । सुरक्षित सडक मापदण्डले यो मान्यता राख्दैन ।
सडक मानिसको सुविधाका लागि बनाइएको हो । यो मानिसको ज्यान जोखिममा पार्ने स्थानका रुपमा परिचित हुनुहुँदैन । बटुवा तथा बालबालिकाका लागि फुटपाथको व्यवस्था अनिवार्य हुनुपर्दछ ।
गति कम पार्ने अन्य उपायहरु जस्तो रेज पेभेमन्ट्स अथवा गति रोक्ने संकेत वा सजिलो ढिस्को , राउन्ड अबाउट, बटुवा, साइकल यात्री आदिका लागि छुट्टै लेनको व्यवस्था, यथेष्ठ बत्तीका संकेतहरु, सडकमा संकेत रेखांकन जस्ता विभिन्न उपाय पनि अवलम्वन गर्नुपर्दछ । बालबालिकालाई सडकमा खेल्नबाट रोक्ने वा सडक नजिकै खेलमैदानको व्यवस्था गर्नु वा गरे पनि उपयुक्त घेरा बार लगाइनु पर्दछ ।
अर्को उपाय हो सुरक्षित सवारी साधनको व्यवस्थापन । यसका लागि सवारी साधनमा उर्जा न्यूनीकरण माध्यम क्रम्पल जोन जडान भएको हुनुपर्दछ ।
क्रम्पल जोन जडान गरेमा कथंकदाचित सवारी साधन ठक्कर खाए पनि मानिसलाई बढी क्षति हुनबाट रोक्दछ । त्यस्तै स्वचालित सवारी साधनको प्रयोग पनि अर्को विकल्प हो ।
यो सामान्यतया मानिसले चलाउने सवारी भन्दा महँगो हुन्छ । तर बढी सुरक्षित हुन्छ । अमेरिकामा एक दशक लगाएर गरिएको अध्ययनअनुसार स्वचालित कारको प्रयोग गरे सम्भाब्य यातायात जोखिम ९० प्रतिशतले घटेको थियो ।
यसबाट एक दशकमा अमेरिकामा मात्र तीन लाख मानिसको ज्यान बचेको थियो भने यसबाट एक सय ९० अर्ब अमेरिकी डलर बचत भएको थियो । तर यस किसिमको सवारी साधन हाम्रोजस्तो मुलुकमा आजकै दिनमा कल्पना गर्न सकिँदैन ।
यदाकदा केही कम्पनीका सवारी साधनहरु नेपालका सडकमा पनि नदेखिएका भने होइनन् । विस्तारै यस्ता सवारी साधनहरु सस्तो भएर बजारमा आउने नै छन् ।
सडक यातायातलाई बालबालिकाका लागि बढी सुरक्षित बनाउने अन्य उपायहरुमा सवारी साधनमा अगाडि र पछाडि देखिने क्यामेरा जडान तथा अल्कोहल इन्टरलक सिस्टम जडान पनि एक हो ।
अल्कोहल इन्टरलक सिस्टम एक किसिमको मापसे नाप्ने यन्त्र हो । यदि सवारी चालकले मापदण्डभन्दा बढी मादक पदार्थ सेवन गरेको भए सवारी साधन स्टार्ट नै हुँदैन ।
यसका लागि चालकले ब्रेथलाइजरमा फुकेर तोकिएको मापदण्ड पूरा गर्नुपर्दछ । त्यसो गर्दा सवारी साधन नचले अर्को चालकको व्यवस्था गर्नुपर्दछ । यस नियमलाई अनिवार्य गरे नेपालमा पनि मापसे गरेर सवारी चलाउने क्रम पूर्णरुपमा बन्द हुन्छ ।
सामान्यतया मादक पदार्थको असर १२ घण्टासम्म रहन्छ । अध्ययनअनुसार मादक पदार्थको प्रभाव र्याल र सासमा १२ देखि २४ घण्टा देखिए पनि पिसाबमा पाँच दिनसम्म र कपालको जरामा ९० दिनसम्म रहन्छ ।
अर्को उपाय हो, सिकारु चालकसम्बन्धी मापदण्डको व्यवस्था । भर्खरै चालक बनेका वा सिकारु चालकहरुलाई विशेष ख्याल गर्नुपर्दछ । खासगरी यस्ता चालकले चलाउने सवारी साधनमा बेग्लै किसिमको नम्बर प्लेट राख्ने व्यवस्था हुनुपर्दछ ।
अष्ट्रेलियाको क्विन्सल्यान्ड राज्यमा ग्राजुएटेड लाइसेन्सिङ सिस्टम लागु गरिएको छ । यस अन्तर्गत सिकारु चालकका लागि ६ महिनादेखि एक वर्षसम्म परीक्षण कालको व्यवस्था गरिएको हुन्छ ।
उक्त अवधिमा सिकारुले आफ्ना अभिभावक वा प्रशिक्षकको निगरानीमा एक सय घण्टा सवारी चलाउनु पर्दछ । जसमध्ये १० घण्टा राति सवारी चलाउनु पर्दछ । निगरानी गर्ने व्यक्तिले उक्त अवधिमा सिकारु चालकले मोबाइल फोनको प्रयोग वा यस्तै अन्य कुनै पनि ध्यान अन्यत्र केन्द्रीत गर्ने यन्त्र वा तौरतरिकाको प्रयोग गरे नगरेको रेकर्ड लगबुकमा भरेर सम्बन्धित सरकारी कार्यालय बुझाउनु पर्दछ ।
यस परीक्षामा पास भएपछिमात्र सिकारुले सवारी साधन चलाउने पूर्ण अनुमति पत्र प्राप्त गर्दछ । यसो गर्दा सिकारुले चलाएका सवारी साधनको क्र्यास रेटमा ४६ प्रतिशतले कमी आएको अध्ययनले देखाएको छ ।