arrow

झापामा पहिचानवादीले गरे शक्ति प्रदर्शन

logo
युवराज रेग्मी,
प्रकाशित २०८० भदौ ३१ आइतबार
pahicanbadi-koshi-pradesh.jpg

झापा । झापाको बिर्तामोडमा शनिबार पहिचानवादी हरुले शक्ति प्रदर्शन गरेका छन् । कोशी ( प्रदेश नं. १) प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति झापाको आयोजनामा १५ सय १ जनाको पहिचानका लागि युवा दस्ता गठन गर्दै बिर्तामोडमा शक्ति प्रदर्शन गरिएको हो ।

उक्त समूहले बिर्तामोड स्थित सिटी सेन्टर परिसरमा कोशी प्रदेश खारेजीको नारा सहित हातमा लट्टी उचाल्दै उनीहरूले मार्च पास गरेका थिए । साथै उनीहरूले  युवा दस्ता गठन भएको घोषणा गर्दै घरेलु हातहतियार र लट्टीसहितको जर्सीधारी युवाहरूलाई बिर्तामोडमा मार्च पास गराएको थियो ।

मार्च पासपछि बिर्तामोडको अदुवा खोला पुलनजिक कोणसभा गरेका थिए । उक्त सभालाई विभिन्न जातीय संस्थाका अगुवाहरूले सम्बोधन गरेका थिए । यसअघि भदौ २६ गते पहिचानवादीहरूले हल्दिवारीमा १०१ जनाको युवा दस्ता गठन गरेका थिए ।

अदुवा खोला पुल नजिक भएको कोण सभामा बोल्दै अगुवा नेता पाण्डवलाल चौधरीले पहिचानका लागि युवाले झापा जिल्लाको नेतृत्व लिने घोषणा गरेका थिए । पहिचानवादी युवा नेता सामी पालुङ्वाको संयोजकत्वमा गठित युवा दस्ताको सह–संयोजकमा सुमन सम्बाहाङ्फे, कर्ण राजवंशी र सदस्य सचिवमा गौरीमान राईलाई जिम्मेवारी तोकिएको उनले बताए । घोषणा सभामा चौधरीले झापा जिल्लाका हरेक क्लष्टर मिलाएर सचिवालय गठन हुने समेत घोषणा गरे ।

पहिचानको लागि युवा गठनमा समन्वयकारी भूमिका निर्वाह गर्ने नेपाल आदिवासी जनजाति महासङ्घ झापाका उपाध्यक्ष केवलराम राईले स्वागत मन्तव्य राखेको सभामा पहिचानको लागि युवा सङ्घीय संयोजक तथा किरात राई यायोख्खाका केन्द्रीय महासचिव भीम राईले पहिचानको लागि युवा गठन गरिनुको मूल उद्देश्य र आचार संहिताको बारेमा प्रस्ट्याएका थिए ।

झापा जिल्लाका १५ वटा स्थानीय तहबाट सहभागी भएका युवाहरूलाई पहिचानको लागि युवा सङ्घीय सह–संयोजक एबिराज आङ्देम्बेले परेड खेलाएर मार्च पास गराएका थिए । घोषणा सभामा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष सङ्घीय समन्वय समिति अध्यक्ष तथा किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हाताको, नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय उपाध्यक्ष युवराज जिरेल, नेपाल शेर्पा सङ्घका केन्द्रीय महासचिव लाक्पा शेर्पा, प्रदेश नं. १ पुनः नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्रसिं थेगिम, राष्ट्रिय जनमुक्ति पार्टी (७ घटक) का अध्यक्ष केपी पालुङ्वा, पहिचानवादी नेता सञ्जुहाङ् पालुङ्वा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान प्रान्तीय मञ्चका उपाध्यक्ष ज्ञानु इम्बुङले बोलेका थिए ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय महासचिव दिलकुमार लावती, जसपा नेपालका केन्द्रीय सदस्य भीम राई, पहिचानवादी नेता सञ्जुहाङ् पालुङ्वा, मेचे सिवियारी अफातका केन्द्रीय उपाध्यक्ष अग्निमाया मेचे, नेपाल आदिवासी जनजाति महिला महासङ्घ केन्द्रीय सचिव सनम राजवंशी, धिमाल जातीय विकास केन्द्रमा केन्द्रीय उपाध्यक्ष तथा जसपा नेपाल लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव केदार धिमाल, नेवा देय: दबु प्रदेश सदस्य तथा नेपाल आदिवासी जनजाति महासङ्घ झापाका पूर्व अध्यक्ष भरत कुमार श्रेष्ठ, नेकपा माओवादी झापा जिल्ला इन्चार्ज अग्नि आचार्य लगायत विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि वक्ताहरूले प्रदेशको नाम कोशी खारेज नभइन्जेलसम्म आन्दोलन गरिरहने बताएका थिए ।

उनीहरूले पहिचानका लागि युवा प्रदेश नं. १ अन्तर्गतका १४ वटै जिल्लामा युवा दस्ता गठन गरिने उद्घोष गरे । संयुक्त सङ्घर्ष समिति झापा सदस्य सचिव सेसेहाङ् फियाक लिम्बू र पहिचानको लागि युवा झापा सचिव गौरीमान राईले कार्यक्रम सञ्चालन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ