- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हरेक वर्ष विश्वमा सडक यातायात हताहतीमा परी १३ लाख मानिसको ज्यान जान्छ । परिघटनामा परी २० देखि ५० लाख मानिस घाइते हुन्छन् ।पाँच वर्षदेखि २९ वर्ष उमेर समूहका बालबालिका तथा वयष्कहरुको मृत्युको मुख्य कारण सडक यातायात जोखिम हो ।
सडक यातायात जोखिममा पर्नेमध्ये कम आय भएका मुलुकका बासिन्दा उच्च आय भएका मुलुकका बासिन्दाका तुलनामा मृत्यु हुने सम्भावना तीन गुणा बढी हुन्छ ।
यसको मुख्य कारण सडकमा सुरक्षाका उपाय जस्तै, बटुवाका लागि फुटपाथ, साइकल तथा मोटरसाइकल लेनको कमी, सडक पार गर्ने निश्चित स्थानको अभाव तथा यातायातको साधनको गति कम पार्ने उपायको अबलम्वन नहुनु हो ।
तीव्र गति नै मृत्युको मुख्य कारण हो । सवारी गति सरदर एक प्रतिशतले वृद्धि हुँदा मृत्युको जोखिम चार प्रतिशतले वृद्धि हुन्छ ।
५० किलोमिटर प्रतिघण्टाका गतिमा गुडेको हलुका सारी साधनका तुलनामा प्रतिघण्टा ६० किमीको गतिमा रहेको सवारी साधनले ठक्कर दिएमा मानिसको ज्यान जाने दर चार गुणाले वृद्धि हुन्छ ।
मादक पदार्थ सेवन गरेर सवारी चलाए दुर्घटना अवश्यम्भावी छ । विश्व स्वास्थ्य संगठनले वयष्क चालकलाई रगतमा सरदर मादक पदार्थको मात्रा ०.०५ ग्राम प्रति डेसिलिटर र सिकारु चालकका लागि ०.०२ जीडीएलभन्दा कम हुनुपर्ने सीमा तोकेको छ ।
यस किसिमको व्यवस्था लागू गर्ने असल कानूनको व्यवस्था विश्वका ४५ मुलुकले मात्र लागू गरेका छन् । नेपाल यसमा पर्दैन ।
नेपालमा मादक पदार्थको शून्य मानिए पनि अन्य मापदण्ड अन्तर्राष्ट्रियस्तरका नभएकाले कानूनलाई असल कानून मानिएको छैन ।
दुई पांगे्र सवारी साधनका चालक र प्रयोगकर्ताले मापदण्ड अनुसारको हेलमेट मात्रै प्रयोग गरे पनि सडक यातायातबाट हुने मृत्युमा ४२ प्रतिशतले न्यून पार्न सकिन्छ भने गम्भीर चोट लाग्नेक्रम पनि ७० प्रतिशतले कम पार्न सकिन्छ ।
हाल विश्वका ४४ वटा मुलुकले यस किसिमको कानूनको व्यवस्था गरेकाले करिब १७ प्रतिशत जनसंख्या यस किसिमको मापदण्डमा बाँधिएर सुरक्षित बनेका छन् ।
हलुका सवारी साधनमा अगाडिको सिटमा बस्नेले सिट बेल्टमात्र बाँधे पनि हताहतीको दर ४५ ले कमी हुन्छ ।
त्यस्तै पछाडिको सिटमा बस्नेले पनि सिटबेल्ट बाँधे हताहतीको दर २५ देखि ७५ प्रतिशतले कमी पार्न सकिन्छ ।
हाल विश्वका एक सय पाँच मुलुकले यस किसिमको कानून लागू गर्दै विश्वका ६७ प्रतिशत जनसंख्यालाई यस किसिमको मापदण्डमा ल्याएका छन् । नेपाल यस वर्गमा पर्दैन ।
विश्वमा १६ देखि २० वर्षका युवाहरुको मृत्युको पहिलो कारण सडक यातायात जोखिम बनेको छ । यो क्रम महिलाका तुलनामा पुरुषमा बढी छ । यस उमेर समूहका करिब ७३ प्रतिशत युवाको मृत्युको कारण सडक यातायात बनेको छ ।
विश्वमा हुने रोडक्र्यासमध्ये २० प्रतिशत चालक थाकेर निदाएका कारण हुन्छन् । त्यसैले हरेक निश्चित दूरी पार गरेपछि चालकले अनिवार्य आराम गर्नुपर्दछ ।
यसका लागि सरोकारवाला पक्षबाट जनचेतना जगाउनु पर्दछ । हाल विश्वका मानिसको ज्यान लिने १० मध्ये आठौँ कारण सडक यातायात बनेको छ ।
योक्रम यसरी नै बढे सन् २०३० सम्म सडक सवारी मानव मृत्यु सातौँ कारण बन्दछ ।
सडक यातायात असुरक्षाका कारण हुने मृत्यु तथा घाइतेको उपचारका लागि विश्वले वर्षमा एक हजार आठ सय अर्ब अमेरिकी डलर खर्च गर्दछ ।
विश्वको जनसंख्यालाई भोकमरीबाट मुक्त पार्न वार्षिक दुई सय ५० अर्ब डलरमात्र खर्च लाग्छ ।
यदि विश्वमा सडक जोखिम शून्यमा झार्न सके एक वर्ष हुने खर्चले आठ वर्षसम्म विश्वबाट भोकमरी अन्त्य गर्न सकिन्छ ।
सडक जोखिम मानवीय कमजोरीले हुने हो । सरकार तथा सरोकारवालाहरुले चाहे यसलाई शून्यमा झार्न सकिन्छ ।