arrow

मन्त्री र सचिवलाई जिल्ला अस्पतालका गुनासै गुनासा

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० असोज ११ बिहिबार
mugu-aspatal.jpg

मुगु । बुधबार बिहान ११ बजे मुगु जिल्ला स्थित जनता प्लाजा होटेलमा आयोजित एक कार्यक्रममा जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर कमल ढुङ्गाना जिल्ला अस्पतालका समस्याहरू बारे बताइरहेका थिए। प्रमुख ढुङ्गानाले समस्याहरू बारे बत्ताइरहँदा छेउमा बसेका कणाली प्रदेशका सरकारका सामाजिक विकास मन्त्री खडक बहादुर पोखरेल र मन्त्रालयका सचिव भोजराज शर्मा सुनिरहेका थिए ।

मुगु जिल्ला अस्पताल मुगुका प्रमुख ढुङ्गानाले जिल्ला अस्पतालमा दरबन्दी अनुसार कर्मचारी नभएको,एकसरे मेसिन बिग्रेको ४ महिना भइसक्दा पनि प्रदेश सरकारले मर्मतका लागी कोही नपठाएको,कणाली प्रदेशका अन्य अस्पतालमा सरकारले सशुल्क फार्मेसी सञ्चालन गर्न बजेट छुटाएको मुगुलाई उपेक्षा गरेको, मर्मत सम्भार शीर्षकमा बजेट नरहेको,अस्पतालमा ल्याब भए पनि बजेट र जनशक्तिको व्यवस्था नभएको,वायोमेट्री र इलेकट्रोनिक्स प्राविधिक नहुँदा अस्पतालमा रहेका मेसिन र विद्युत् नियमित सञ्चालन गर्न समस्या भएको,सरकारले निःशुल्क भनेर तोकेका ९८ प्रकारका औषधी किन्न बजेट अभाव भएको,उच्च गतिको इन्टरनेट नहुँदा स्वास्थ्य बिमाको केलेम गर्न समस्या हुँदा हाल सो सेवा रोकिएको,सरकारले ख वर्गको एम्बुलेन्स सञ्चालन गर्नुपर्ने नीति लिएपछि सो वर्ग अनुसारको एम्बुलेन्स नहुँदा घ वर्गको एम्बुलेन्स सञ्चालन गर्न बाध्य भएको जस्ता समस्या प्रस्तुत गरेका थिए। 

जिल्लामा विशेषज्ञ चिकित्सक नहुँदा सामान्य शल्यक्रियाका बिरामी पनि रिफर गर्नु परेको,कम्तीमा एक जना एमजिडिपी डाक्टर सबै चेकअप र शल्यक्रियाको काम जानेको चिकित्सकको व्यवस्था गरिदिन र यदि त्यो नभए कम्तीमा प्रसूति विज्ञको व्यवस्था मिलाउन डा ढुङ्गानाले कणाली प्रदेश सरकारका सामाजिक मन्त्री सँग आग्रह गरे । उनले अहिले जिल्ला अस्पतालमा एक जना नहकुल शाही डाक्टरले प्रसूति सेवा दिई रहनु भएको छ ४,५ महिना पछि उन अध्ययनका लागी नोकरी छोड्नु हुने भएकाले त्यसपछि सामान्य प्रसूति गराउन पनि जिल्ला अस्पताल नसक्ने अवस्था आउने सुनाए । 

अस्पतालमा खानेपानी नहुँदा समस्या छ नेपाली सेनाले राती अस्पतालमा खानेपानी छोडिदिन्छ जसो तसो त्यसैले धान्न परेको छ । सेनाकोबाट पानी नआएको दिन सबै सरसफाइका सबै काम रोकिन्छ शौचालय समेत ताला लगाउनु पर्छ । घेरवार नहुँदा पशु चौपाया देखि अस्पताल वरिपरिका स्थानीयहरू अस्पताल भित्र आवत जावत गर्ने गरेका छन्,कोरियाली सहयोग नियोग(काईकाले बनाई दिएका अस्पतालका भवन र करोडौँका मेसिन औजार सञ्चालन नहुँदा जीर्ण बन्दै गएको ।

अस्पताल प्रमुख ढुङ्गानाले अस्पतालमा रहेका समस्या बताई सकेपछि सहभागीहरूले अस्पताल हो की अस्तव्यस्त ताल हो आफूहरू दुबिधामा परेको बताएका थिए । अस्पताल प्रदेश मातहतको हो कणालीका १० जिल्लाहरूमा छुटाएको बजेटमा कणाली प्रदेश सरकारले विभेद गरेको आरोप लागेको छ । 

जिल्ला अस्पताल १५ शैयाको भए पनि बिरामीको चाप रहेकाले ४९ शैया चलाई रहेको प्रमुख कमल ढुङ्गानाले बताए । अस्पतालमा उपचार गर्न मुगु जिल्लाका ४ पालिकाका सार्थै हुम्लाका चेंखेली,अदानचुली बाजुराको हिमाली र जुम्लाको कनकासुन्दरीसम्मबाट समेत बिरामी उपचारका लागी जिल्ला अस्पतालमा आउने छन् । बढ्दो बिरामीको चाप र उपलब्ध ५० शैया पनि धान्न सक्ने अस्पतालका संरचनाहरू भएकाले कणाली प्रदेश सरकारले बजेट प्रस्तुत गर्दा मुगु जिल्ला अस्पताललाई ५० शैयामा स्तर उन्नति गर्ने घोषणा गरे बमोजिम जनशक्ति र अन्य आवश्यक संरचनाको व्यवस्था गरि यसै आर्थिक बर्षबाट ५० शैयाको सेवा सुचारु गर्न पूर्व शिक्षा राज्यमन्त्री हस्त बहादुर मल्लले कणाली सरकार,सामाजिक विकास मन्त्री र सचिवलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै मुगुम कार्मारोङ्ग गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले प्रदेश मातहतको अस्पताल अस्तव्यस्त ताल हुनु भनेको प्रदेश सरकार कै वेईजतीका साथै मुगुबाट निर्वाचित प्रदेश,सङ्घ का सांसद देखि स्थानीय तहका प्रमुखहरूको पनि वेइजती भएको बताउँदै अस्पतालमा रहेका मेसिन औजार मर्मत र सामान्य मर्मत सम्भार काम लागी जिल्लाका ४ वटै स्थानीय सरकारहरूले चालु आर्थिक वर्षबाट नियमित बजेट छुटाउने निर्णय गरेको सामाजिक मन्त्रीलाई जानकारी गराए । 

जिल्ला अस्पतालमा फार्मेसी सञ्चालनका लागी छायाँनाथ राराको बजेट अधिवेशनबाट बजेट छुटाएको र फार्मेसी सञ्चालन कार्यविधि निमार्णपछि अस्पतालको हाता भित्र फार्मेसी सञ्चालन गने नगरप्रमुख विष्णु कुमार भामले बताए । प्रदेश सरकारले ५० शैयाको अस्पताल सञ्चालन गरेमा स्थानीय सरकारका नाताले सानातिना खर्च शीर्षकका लागी नगरपालिकाले बजेटको नियमित व्यवस्था मिलाउने नगरप्रमुख भामले प्रतिबद्धता व्यक्त गरे ।

जिल्ला अस्पतालका प्रमुखले प्रस्तुत गरेका अधिकांश समस्या अस्पताल परिवारले नै समाधान गर्ने किसिमका छन् । सामान्य पानी,छत चुहिएको,गाईबस्तु भित्र पस्ने गरेको,कर्मचारीले नटेरे जस्ता समस्या पनि प्रदेश सरकारले समाधान गरि देओस् भनेर अपेक्षा गर्नु अस्पताल परिवार र व्यवस्थापक कै कमजोरी भएको बताउँदै सामाजिक विकास मन्त्रालयका सचिव भोजराज शर्माले प्रदेश सरकारले मुगु जिल्ला अस्पताललाई ५० शैयाको बनाउने घोषणा गरे बमोजिम नै के कस्ता संरचनाहरू छन् ? मेसिन औजार के के छन्,शैया छन् की छैनन् ? बिरामी कति आउँछन् र स्थानीयहरूको चाहाना के छ भनेर मन्त्री सहित आफू स्थलगत बुझ्न मुगु आएको बताए । उनले भने प्रदेश राजधानी सुर्खेत पुग्नासाथ ५० शैयामा चाहिने जनशक्ति,संरचना,औषधी,मेसिन औजार लगायतको लागत सहितको विश्लेषण गरि प्रतिवेदन सरकारलाई पेश गर्ने र ५० शैया बनाउने वा २५,३०,४० कति शैयाको बनाउने सरकारले निर्णय गर्ने छ । 

जिल्ला अस्पताल,आयुर्वेद अस्पतालको प्रस्तुति र सहभागीहरूको जिज्ञासा सुनिसकेपछि सामाजिक विकास मन्त्री खडक बहादुर पोखरेलले मुगु मात्र नभएर १० जिल्लामा रहेका प्रदेश मातहतका अस्पताल र सामाजिक कार्यालयहरूका विभिन्न शीर्षकका बजेट चालु आवमा कटौती भएको बताए । उनले भने कणाली प्रदेशमा यो वर्ष राष्ट्रिय खेलकुद प्रतियोगिता हुदैछ यसको खर्च प्रदेश सरकारले व्यहोर्नु पर्ने हो तर खेलकुद सामाजिक विकास मन्त्रालय अन्तरगतको हो भन्दै अन्य मन्त्रालयहरू बजेट खर्च गर्न पछि हटेकाले नैतिकताका आधारमा पनि बरु मन्त्रालयका अन्य शीर्षक कटौती गरि राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी बजेट छुटाउँदा बजेट अपुग भएको हो । 

अस्पतालहरूको स्तर उन्नति र शैया थपको लागी विज्ञ समिति गठन गर्ने र सोही समितिले दिएको प्रतिवेदनका आधारमा कणाली प्रदेशका कुन अस्पताललाई के स्तर उन्नति र कति शैया थप्ने बारे मन्त्रालय र प्रदेश सरकारले निर्णय गर्ने पनि मन्त्री पोखरेलले बताए । अस्पताल सबैको हो त्यसैले स्थानीय,प्रदेश र सङ्घीय सरकारहरूले आ आफ्नो क्षमता अनुसार दुर्गम तथा ग्रामीण क्षेत्रका अस्पतालहरूलाई हार्डवेयर र सफ्टवेयर दुवै क्षेत्रमा सहयोग गर्नु पर्ने जिल्ला समन्वय समिति मुगुका प्रमुख मन्जन बहादुर कार्की सुझाव दिए ।

सरकारले जिल्ला अस्पताल व्यवस्थापन समिति गठन गरि अस्पताल सञ्चालन र व्यवस्थापनको जिम्मेवारी दिए पनि समितिका लागी आवश्यक बजेट,अधिकार नदिएकाले व्यवस्थापन समितिका हात गोडा बाँधेर काम गर भने जस्तो भएको मुगु जिल्ला अस्पताल मुगु व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्लले गुनासो गरे । जिल्ला अस्पताल मुगुको भौतिक संरचना,जनशक्ति परिपूर्ति र औषधी उपलब्धताका बारे सङ्घीय स्वास्थ्य मन्त्री देखि प्रदेश सरकारका मन्त्री,सचिवसम्म सबैलाई अनुरोध र जानकारी गराए पनि आजका मितिसम्म आश्वासन मात्र पाएको पनि अध्यक्ष मल्लले गुनासो व्यक्त गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ