arrow

दमक हस्पिटलमा आर्थिक अनियमितता : भुसाल र गैरेविरुद्ध प्रशासनमा सामूहिक उजुरी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ११ बिहिबार
damak-hospital.jpg

दमक । देशका विभिन्न ठाउँमा रकम ठगीका घटनाहरू बाहिर आइरहेको बेला झापाको दमक ८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा आर्थिक अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय झापामा दुई जना सञ्चालक विरुद्ध ठगी सम्बन्धी उजुरी परेको छ । अर्घाखाँची स्थायी ठेगाना भएका प्रालिका अध्यक्ष डा. नीराजन भुसाल र सञ्चालक डा.चन्द्रप्रकाश गैरेले कम्पनीको बैङ्क खातामा रहेको रकम अनियमित तवरले झिकेर अपचलन गरेको भनी अन्य सञ्चालक तथा लगानीकर्ताले प्रमुख जिल्ला अधिकारी समक्ष आवश्यक कारबाही लागि उजुरी दिएका हुन् । 

उनीहरूले दिएको उजुरीमा भुसाल र गैरेले विभिन्न व्यक्तिका नाममा कम्पनीको बैङ्क खाताबाट रकम निकालेर अपचलन गरेको दाबी गरेका छन् । सञ्चालक सदस्य मोतीलाल बरालसहित ९ जनाले दिएको सामूहिक उजुरीमा आरोपितद्धयले ३ करोड ४१ लाख रुपैयाँ अपचलन गरेको उल्लेख छ । 

दमक ८ नम्बर वडा कार्यालयले बनाएको हस्पिटल विवाद समाधान समितिले तयार पारेको प्रतिवेदनसहित प्रमुख जिल्ला अधिकारीलाई दिएको सो उजुरी जिल्ला प्रशासन कार्यालयमा मंगलबार दर्ता भएको बिहीबार (आज) पीडितहरूले दमकमा पत्रकार सम्मेलन गरेर जनाएका छन् ।  उजुरीमा विभिन्न व्यक्तिहरूको सहमति बिना नै उनीहरूको नाममा पटक पटक बैङ्कबाट रकम झिकेको प्रमाण समेत संलग्न गरिएको छ ।

हस्पिटलका कार्यकारी निर्देशक तेजराज घिमिरेलाई समेत दबाबमा राखेर गैरे र भुसालले त्यस किसिमको अनियमित क्रियाकलाप गरी ठगी धन्दा चलाएको पीडितहरूको उजुरीमा उल्लेख छ । कम्पनी नियम विपरीत निजहरूले अन्य सञ्चालक तथा शेयर सदस्यहरूको उपस्थिति र बैठक बिना नै एकलौटी रूपमा गएको भाद्र ६ गते आफ्ना नाममा मात्रै शेयर कायम गरेको देखिएकाले किर्ते तथा जालसाँजी समेत गरेको आरोपितहरूको ठहर छ । 

यसअघि सो संस्थामा भएको समस्याका विषयलाई लिएर निवेदन परेपछि विवाद समाधानका लागि दमकको ८ नम्बर वडा कार्यालयले पनि विवाद समाधान समिति बनाएको थियो । सो समितिले तयार पारेको प्रतिवेदन समेत वडा कार्यालयमा बुझाइएको समितिले जनाएको छ । 

आरोपित भुसाल र गैरे दुवै जना अर्घाखाँची स्थायी ठेगाना भएका व्यक्ति हुन् । ती मध्ये गैरे दमकमानै ऊँ शान्ति डेन्टल सञ्चालन गर्दै आएका छन् भने भुसाल अन्यत्रै बस्ने गरेका छन् ।  गैरेले स्वास्थ्य निकायको उपल्लो तह सम्म आफ्नो पहुँच रहेको बताउँदै स्वास्थ्य क्षेत्रका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी र कतिपय राजनीतिक , सामाजिक अगुवाहरूलाई समेत स्वास्थ्य क्षेत्रमा लगानी गर्न भन्ने गरेको र लगानी गरिएको पैसा आफूले अपचलन गर्ने गरेको बताइएको छ । 

लगानीकर्ता चिकित्सकहरूले आफूले लगानीको हर हिसाब मागेर पारदर्शी कारोबार गर्न माग गर्दा उल्टै धम्क्याउने गरेको पीडितहरूको भनाई छ । उनले कम्पनीमा लगानी गर्न भन्दै यहाँका प्रतिष्ठित डाक्टर तथा स्वास्थ्य क्षेत्रका मानिसहरूसँग लाखौँ रुपैयाँ लिएर शेयर कायम नगरी ठगी गर्ने गरेका पनि बताइएको छ । 

उजुरी गर्नेहरूमा बराल, सञ्चालक सदस्य नारायण श्रेष्ठ र हेमराज पोखरेल हुन भने डा. सञ्जय रिमाल, डा. प्रकाश शर्मा, डा. दिव्या तुलाचन, डा. नवीन ढकाल र सुजन खरेल सो हस्पिटलका लगानीकर्ता हुन् । लगानीकर्ताहरूको सो समूहलाई गैरेले हस्पिटलमा लगानी गर्न आग्रह गर्दै पटक पटक झण्डै डेढ करोड रुपैयाँ लिएर शेयर कायम नगरी ठगी गरेको जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको उजुरीमा जनाइएको छ । 

कूल ७५ लाख लगानी रहेको सो अस्पतालमा गैरे थप ७५ लाख रुपैयाँ लगानी गरेर आउन तयार भएपछि तत्कालीन शेयर होल्डरहरूले उनलाई स्वीकारेका थिए । 

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भुसाल र गैरेविरूद्ध परेको उजुरीमाथि कारबाही सुरू गरिएको बताए। ‘हामीले एक चरणको छलफल गर्‍यौँ, दुबैलाई सञ्चालकहरूको हिसाब-किताब बुझाइदिन भन्ने, अन्यथा आवश्यक कारबाही अघि बढाउने भनी इलाका प्रहरी कार्यालय दमकलाई लेखी पठाइएको छ,’ पोखरेलले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ