- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
युरिक एसिड भन्ने शब्द सामान्य जनमानसमा धेरै उच्चारण गरिने शब्दहरूमध्ये एक हो । दैनिक ओपीडीमा आउने बिरामीहरूको चेक जाँच गर्दा उनीहरूलाई जे समस्या भए पनि एक पटक युरिक एसिडको जाँच गरेपछि मात्र अस्पतालमा आउने गरेको पाइएको छ ।
हातखुट्टाका जोर्नीहरूलगायत शरीरका कुनै पनि अंग दुखेमा युरिक एसिडले नै हो भन्ने विश्वास यत्रतत्र छ । अर्कोतिर बाथको बारेमा पनि जनमानसमा गहिरो छाप छ ।
सबैभन्दा महत्वपूर्ण कुरा के छ भने धेरैजसो बिरामीहरूमा बाथ र युरिक एसिड एउटै रोग हो भन्ने मान्यता छ ।
यद्यपि मेडिकल भाषामा यी दुई फरक प्रकृतिका रोगहरू हुन् । हुनत बाथ रोग पनि धेरै प्रकारका हुन्छन् । यति धेरै बाथ रोगहरूको बारेमा एउटै लेखमा उल्लेख गर्न सम्भव छैन ।
यो लेखमा चर्चा गर्न लागेको गठिया बाथ (रिमाटोइड आर्थराइटिस) को बारेमा हो । गठिया बाथ पनि बिरामीहरूलाई हुने कमन समस्याहरूमध्ये एक हो ।
युरिक एसिड महिलामा भन्दा पुरूषमा ज्यादा हुन्छ । जवान मानिसहरूमा बढी हुन्छ । यसका लक्षणहरू नाटकीय प्रकृतिका हुन्छन् ।
राति केहि समस्या नभैकन सुतेका मानिसहरूको बिहान उठ्दा विशेष गरी खुट्टाको बुढी औँलाको बेसमा अचानक बेस्सरी दुख्ने, सुन्निने र हिँड्न गाह्रो हुने हुन्छ ।
दुखाइको मात्रा यति धेरै हुन्छ कि बिरामीहरूलाई भित्र बाहिर हिँड्न, बाथरूम जान र तलमाथि गर्न पनि निकै गाह्रो हुन्छ ।
केही बिरामीहरूलाई त घाउ भएर पीप जम्मा हुन लागेको जस्तो महसुस हुन्छ । कहिलेकाहिँ स्वास्थ्यकर्मीहरूलाई पनि संक्रमण भएर पीप जम्मा हुन लागे जस्तो भ्रम हुन सक्छ ।
माछा, मासु, मदिरा र गुलियो चीजहरू सेवन गर्ने मानिसलाई युरिक एसिड हुने सम्भावना बढी हुन्छ ।
यो रोग वंशानुगत हुने सम्भावना पनि बढी हुन्छ । खुट्टाको बुढी औँलाको बेसमा युरिक एसिडले बढी आक्रमण गर्ने भएता पनि गोलीगाँठा, घुँडा, कुहिनो र हातको बुढी औँलाको बेसमा पनि युरिक एसिडले समस्या पार्ने गर्दछ ।
गठिया बाथ (रिमाटोइड आर्थराइटिस) महिलाहरूमा ज्यादा देखिन्छ । ३०–४० वर्षको उमेरबाट यो रोगको शुरूवात हुन्छ ।
यद्यपि जवान र बूढाबूढी उमेरका मानिसहरूलाई पनि उत्तिकै देखिइरहेको छ । यो रोग लागेका बिरामीहरूको विशेष गरी हातका औँलाका सबै जोर्नीहरू मन्द–मन्द दुख्ने, सुन्निने, बिहान उठ्न बित्तिकै औँलाका जोर्नीहरू कक्रक्क भएर जाम हुने, केही चीजहरू समात्न गाह्रो हुने र शरीरमा थकावटको महसुस हुने हुन्छ ।
हातका औलाका जोर्नीहरू बाहेक नाडी, कुहिनो, कुम, हिप, घुँडा, गोलीगाँठा लगायत मेरूदण्डको जोर्नीहरूमा पनि गठिया बाथले असर पुर्याउन सक्छ ।
यो रोगको समयमा पहिचान नहुँदा हातलगायत शरीरका सबैजसो जोर्नीहरू पूर्णरूपमा बिग्रिएर बाङ्गा हुनुको साथै बिरामीहरू घरको दैनिक काम गर्न नसक्ने गरी अपाङ्ग हुन सक्छन् ।
यो रोगले जोर्नीमात्र नभएर दीर्घकालीन रूपमा मुटु, फोक्सो, किड्नी, पाचन प्रणाली, दिमाग, स्पाइनल कर्ड लगायत नसाहरूमा पनि असर गर्दछ ।
युरिक एसिडले सम्बन्धित जोर्नीलाई बाहेक केही मात्रामा किड्नीलाई असर गर्न सक्छ । युरिक एसिड भएका बिरामीहरूको कहिलेकाहिँ रगतमा कोलेस्टोरोलको मात्रा बढी देखिन्छ ।
अर्कोतर्फ बाथ भएका बिरामीहरूले औषधी सेवन नगरेको अवस्थामा जोर्नीहरू दीर्घकालीन रूपमा पूर्णरूपमा बिग्रनुका साथै शरीरका धेरैजसो भित्री अंगहरूमा असर पर्न जान्छ ।
युरिक एसिड भएका बिरामीहरूले माछा, मासु, गेडागुडी, मदिराजन्य पदार्थ र गुलियो चीजहरू सेवन गर्नु हुँदैन ।
यद्यपि टमाटर, भाण्टा, कागती, अमिलो चिजहरू, अचार, दही, दूध, महीहरू निसंकोच खान मिल्छ ।
गठिया बाथ भएका बिरामीहरूले खानेकुरामा कुनै पनि चिजहरू बन्देज गर्नु पर्दैन । निःसन्देह माथि उल्लेख गरेका सबै खाद्य पदार्थहरू सेवन गर्न मिल्छ ।
युरिक एसिड भएका बिरामीहरूले शुरूको अवस्थामा दुख्न र सुन्निन कम हुने किसिमका औषधीहरु केही समयको लागि एलोपुरिनोल, फेबोस्टाट जस्ता युरिक एसिड घटाउने औषधीहरू खानु पर्दछ । युरिक एसिड घटाउने औषधी लामो समयसम्म खानु पर्दैन ।
अर्कोतर्फ गठिया बाथ भनेर प्रमाणित भैसकेको अवस्थामा बिरामीहरूले लामो समयसम्म र कहिलेकाहिँ त आजीवन औषधी खानु पर्दछ ।
यदि बिरामीहरूले बीचमा औषधी खान छोडेमा यसले जोर्नीहरूलाई पूर्ण रूपमा बिगारेर जोर्नी प्रत्यारोपणको अवस्थासम्म पुर्याउन सक्छ ।
बाथ भएका बिरामीहरू नियमित चिकित्सकको निगरानीमा बस्नु पर्छ । औषधीको साइड इफेक्ट भए नभएको थाहा पाउनको लागि समय समयमा रगतको जाँच गर्नु आवश्यक पर्दछ ।
त्यसकारण बाथ र युरिक एसिडलाई एउटै दृष्टिकोणबाट हेर्न अतियुक्त मानिँदैन । यी दुवै अत्यन्त भिन्न प्रकृतिका रोगहरू हुन् । आफैँले अल्पज्ञान राखेर बस्नु भन्दा सम्बन्धित विज्ञ चिकित्सकको सल्लाहअनुसार यी रोगहरूको बारेमा स्पष्ट रूपमा बुझ्नु जरूरी देखिन्छ ।
माथि उल्लेख गरिएका कुराहरूलाई सम्बन्धित बिरामीहरूले राम्रोसँग मनन गरेर उपचार पद्धतिमा जाँदा यी रोगहरूबाट दीर्घकालीन रूपमा हुने ठूला–ठूला जटिलताहरूबाट बच्न सकिन्छ । (बेलायतबाट एफआरसीएस उपाधि प्राप्त अर्थोपेडिक सर्जन डा. केसी देवदह मेडिकल कलेजका सहप्राध्यापक हुन्, उनी बुटवलस्थित मर्सी सिटी अस्पतालमा पनि आवद्ध छन् )