arrow

शल्यक्रिया अनिवार्य

नेपालमा जोर्नी प्रत्यारोपणः भ्रम र यथार्थ 

संसारभर जोर्नी प्रत्यारोपण एकदमै सफल शल्यक्रिया हो भनेर प्रमाणित गरिसक्दा नेपालमा नागरिकले गहिरोसँग बुझेका छैनन्, जसले जति बुझेका छन् त्यो पनि नकारात्मक पक्षमात्र बुझेका छन्

logo
डा कपिलमणि केसी, 
प्रकाशित २०८० भदौ ३० शनिबार
article-kapilmani-kc-2080-05-30.jpg

मिर्गौला प्रत्यारोपणको बारेमा हामीहरुले बारम्बार सुनिरहेका छौँ । मुटु र बोनम्यारो प्रत्यारोपणको बारेमा पनि केही खबर सुन्न पाइन्छ । त्यसैगरी जोर्नी प्रत्यारोपणको बारेमा पनि अहिले आएर धेरै प्रगति भएको पाइन्छ । मिर्गौला प्रत्यारोपणको बारेमा जनमानसमा धेरै नै चेतना भए पनि जोर्नी प्रत्यारोपणको बारेमा त्यस्तो धेरै सचेतना छैन ।

अंग्रेजी वर्षको ६०–७० को दशकबाट शुरु भएको जोर्नी प्रत्यारोपण अहिले संसारभर नै गरिन्छ । युरोप र अमेरिका जस्ता विकसित मुलुकहरुमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर यो सेवा शुरु भैसकेको छ । बेलायतमा आजको दिनमा जोर्नी प्रत्यारोपण गर्नु परेमा ३ देखि ४ वर्ष कुरेरमात्र शल्यक्रिया गर्ने पालो आउँदछ । 

संसारभर गरिएका सबै प्रकारका अनुसन्धानले जोर्नी प्रत्यारोपण एकदमै सफल शल्यक्रिया हो भनेर प्रमाणित गरिसक्दा पनि हाम्रो देशमा यो शल्यक्रियाको बारेमा सामान्य नागरिकले गहिरोसँग बुझेका छैनन् । जसले जति बुझेका छन् त्यो पनि यसको नकारात्मक पक्षमात्र बुझेका छन् ।

त्यसकारण जोर्नी प्रत्यारोपण के हो ? कस्ता बिरामीलाई जोर्नी प्रत्यारोपण गरिन्छ ? जोर्नी प्रत्यारोपण गरेपछि यसले कति वर्ष काम गर्दछ ? यसको लागत कति पर्दछ ? किन यसको बारेमा नकारात्मक धारणा बढी छ ? भन्ने प्रश्नको समाधान खोज्नु आवश्यक देखिन्छ ।

जोर्नी प्रत्यारोपण के हो ? 
विभिन्न कारणहरुले जोर्नी पूर्णरुपले खिएर काम नगर्ने अवस्थामा पुगेपछि खिएको भागलाई निकालेर धेरै प्रकारका धातुहरुलाई मिलाएर बनेको कृत्रिम जोर्नी उक्त ठाउँमा राख्ने प्रविधिलाई जोर्नी प्रत्यारोपण भनिन्छ । 

यद्यपि माथिको वाक्यमा भने जस्तो जोर्नी प्रत्यारोपण केवल खिएको जोर्नीलाई निकालेर कृत्रिम जोर्नी हाल्ने मात्र नभएर धेरै प्राविधिक कुराहरुलाई ध्यान दिनु पर्दछ र शल्यक्रिया गर्ने चिकित्सकलाई विषय वस्तुको बारेमा ठोस ज्ञान हुनुको साथै शल्यक्रिया गरेको लामो अनुभव हुनु जरुरी छ । 

सामान्य रुपमा शरीरमा भएका सबैजसो जोर्नीहरूलाई प्रत्यारोपण गर्न सम्भव भए पनि घुँडा र हिपको जोर्नीलाई ज्यादा प्रत्यारोपणको आवश्यक पर्दछ ।  

जोर्नी प्रत्यारोपण किन गरिन्छ ?
जब शरीरका जोर्नीहरू विशेष गरी घुँडा र हिपको जोर्नी खिएर पूर्ण रुपमा काम नगर्ने अवस्थामा पुगेपछि बिरामीहरुलाई जीवन धान्नको लागि गरिने दैनिक कामहरु गर्न पनि गाह्रो हुन्छ । तब जोर्नी प्रत्यारोपणको आवश्यकता पर्दछ । 

जोर्नी खिएर यस्तो अपाङ्गता भएका बिरामीहरुले औषधि खाएर, थेरापी तथा अकुपंचर गरेर, जोर्नीमा सुइ लगाएर ठीक हुन्छ भनेर वर्षौँ चिकित्सककोमा धाउनु केबल समय र पैसाको बर्बादी गर्नु हो । 

यस्तो अवस्थाका बिरामीहरुले कि त जोर्नी प्रत्यारोपण गर्नु पर्दछ, होइन भने दुखाइ सहेर बस्नु बाहेक कुनै विकल्प छैन । 

प्रत्यारोपण गरेको जोर्नी कति वर्ष टिक्छ ?
प्रत्यारोपण गरेको जोर्नी कति वर्ष टिक्छ भनेर चर्चा गर्दा यो तथ्य धेरै कुराहरुमा निर्भर गर्दछ । कति वर्षमा जोर्नी प्रत्यारोपण गरेको हो, कुन जोर्नीको शल्यक्रिया गरेको हो, के कारणले जोर्नी बिग्रेको हो, बिरामीको पेशा के हो, बिरामी मोटो छ कि पातलो छ, अरु कुनै रोग छ कि छैन, कस्तो कम्पनीको जोर्नी हो, कस्तो चिकित्सकले शल्यक्रिया गरेको हो लगायतका धेरै कुराहरुमा निर्भर हुन्छ । 

यद्यपि अनुसन्धानका धेरै रिपोर्टहरुले १५ वर्षदेखि २५ वर्षसम्म एक पटक फेरेको जोर्नी टिक्ने दावा गर्दछन् । पहिलो पटक फेरेको जोर्नीको अवधि पूरा भैसकेपछि दोश्रो प्रत्यारोपण पनि गर्न सकिन्छ । तर दोश्रो शल्यक्रिया पहिला भन्दा जटिल र कम समय टिक्ने हुन्छ । 

जोर्नी प्रत्यारोपणको बारेमा नकारात्मक धारणा किन ?
हाम्रो समाजमा अहिले पनि बूढाबूढी भएपछि जोर्नी खिइने प्राकृतिक कुरा हो र यसलाई सहेर बस्नु पर्दछ भन्ने धारणा ब्याप्त छ । ओपीडीमा आउने बूढाबूढी बिरामीहरु जसलाई जोर्नी खिइने समस्या बढी हुन्छ उनीहरुलाई शल्यक्रिया गर्ने सल्लाह दियो भने उनीहरुले झर्किएर जवाफ दिँदै भन्छन् – अब बूढाबूढी भैसकेपछि धेरै वर्ष बाँचिदैन त्यसकारण किन अप्रेशन गर्नुपर्यो ?

चिकित्सकले शल्यक्रिया गर्ने सल्लाह दिँदा कुनै कुनै बिरामीहरु त उक्त चिकित्सककोमा फेरि उपचार गर्न कहिले पनि आउँदैनन् । 

धेरैजसो बिरामीहरु जसलाई जोर्नी प्रत्यारोपणको वास्तविक जरुरी छ तिनीहरुले शल्यक्रिया नगरिकन यत्तिको हिँडिरहेको अवस्थामा शल्यक्रिया गरेपछि झन् भित्र बाहिर गर्न नसकिने गरी थला परियो भने मलाई कसले हेरचाह गर्दछ ? भनेर नकारात्मक जवाफ दिन्छन् । 

बिरामीहरुका यस्ता जवाफमा कुनै सत्यता छैन । जोर्नी प्रत्यारोपण सामान्यतया बूढाबूढीहरुलाई नै बढी गर्नुपर्ने भएकाले बूढाबूढी भएपछि किन शल्यक्रिया गर्नु पर्यो भन्ने कुरामा कुनै तर्क र बहस गर्नुपर्ने आवश्यकता छैन । 

उमेर पुगेपछि दुखाइ सहेर बस्नुपर्छ भन्ने पनि केही होइन । झन् बूढाबूढी भएर यो शल्यक्रिया गर्यो भने मर्ने बेलासम्म कसैको सहारा बिना दिसा पिसाब आफैँ गर्न सकिन्छ । 

यो कुरा दावाका साथ भन्न सकिन्छ कि विगत तीन दशकको अवधिमा संसारभर जोर्नी प्रत्यारोपण पूर्णरूपले सफल भएर करोडौँ मानिसहरुको जीवनस्तरलाई तात्विक रुपमा परिवर्तन गर्न सकेको अवस्थामा हामी नेपालीहरुले शल्यक्रिया गरिपछि झन् थला परिन्छ भन्ने कुरा गर्नु नितान्त गलत हो । यो जनतामा कमी हो । 

कुनै पनि कुरामा शतप्रतिशत सफलता हासिल नगरे पनि यो अत्यन्तै सफल शल्यक्रियामध्ये एक हो । 

तर एउटा कुरा चाहिँ सत्य हो कि यो प्रविधि खर्चिलो छ । कृत्रिम जोर्नी विदेशमा बन्ने हुँदा र उतैबाट आयात गर्नुपर्ने हुँदा नेपालमा आउने बेलासम्म महँगो पर्न जान्छ ।
 
जोर्नी प्रत्यारोपणलाई सहज बनाउन के गर्नु पर्दछ ?
जोर्नी प्रत्यारोपणलाई सहज बनाउन सबैभन्दा पहिला मानिसहरुको नकारात्मक धारणालाई परिवर्तन गर्नु पर्दछ । मानिसहरुमा चेतनाको विकास हुनु जरुरी छ । सामाजिक अन्धविश्वासलाई विस्तारै सम्बोधन गर्दै जानु पर्दछ । 

निश्चय पनि आर्थिक पाटो महत्वपूर्ण छ । त्यसकारण सरकारी तहबाटै जोर्नी प्रत्यारोपण गर्ने बिरामीहरुलाई आर्थिक सहयोगको यथासक्य जरुरी देखिन्छ । 

झाडापखाला लागेर उपचार नपाउने देशमा जोर्नी प्रत्यारोपण गर्ने निर्णय आर्थिक रुपमा त्यति सहज छैन । यद्यपि मानिसको सोच्ने दृष्टिकोण परिवर्तन हुनुको साथै आर्थिक रुपमा देश अलि सबल हुँदै जाने हो भने यो सेवा धेरै बिरामीहरुलाई उपलब्ध गराउन सकिन्छ । (बेलायतबाट एफआरसीएस उपाधि प्राप्त अर्थोपेडिक सर्जन डा. केसी देवदह मेडिकल कलेजका सहप्राध्यापक हुन्, उनी बुटवलस्थित मर्सी सिटी अस्पतालमा पनि आवद्ध छन् )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ