arrow

मानव स्वास्थ्यका विद्यमान सामाजिक अन्धविश्वासहरु 

logo
डा कपिलमणि केसी, 
प्रकाशित २०८० भदौ १६ शनिबार
article-kapilmani-kc-2080-0.jpg

हाम्रो देशमा सामाजिक सचेतना र बौद्धिक विद्धता राम्रै अवस्थामा छ । यद्यपि युरोप, अमेरिका जस्ता विकसित देशहरुमा भए जस्तो नभए पनि अफ्रिकी मुलुकका देशहरु भन्दा निकै माथि भएको महसुस गर्न सकिन्छ । 

तर मानव स्वास्थ्यसँग सम्बन्धित केही सामाजिक तर्क अथवा विश्वासहरु यस्ता छन् कि जुन वर्षौँदेखि समाजमा जरा गाडेर बसेका छन् र ती अन्धविश्वासहरु मानव जातिको समग्र स्वास्थ्यको विरुद्धमा छन् । यद्यपि देशका विकसित शहरहरुमा यस्ता प्रचलन सामान्य नभए पनि देशका दुर्गम गाउँहरुमा ब्याप्त छन् ।  

म आफैँ पनि देशको यही परिधिमा रहेका बिरामीहरुको स्वास्थ्य सेवामा संलग्न भएको हुँदा यस्ता अन्धविश्वासहरुको बारेमा अझ नजिकबाट बुझ्ने अवसर मिलेको छ ।

लेखको शुरुआत बिरामीसँग भएको एउटा संवादबाट शुरु गर्न मन लाग्यो । थाइ (साप्रा) को हड्डी भाँच्चिएर निकै गम्भीर अवस्थामा अस्पताल आएका बिरामीलाई सघन अपचार कक्षमा राखी हड्डीमा लामो रड राखेर घर पठाएको छ महिनापछि ओपीडीमा राम्रोसँग हिँडेर आउँछन् । 

उनले छ महिनाको अवधिमा झन्डै झन्डै दैनिक जसो चिप्ले कीरा खाने वातावरण मिलाउँछन् । उनी यति विश्वस्त छन् कि चिप्ले कीरा नखाइकन हड्डी कुनै पनि हालतमा जोडिँदैन । उनको भनाइलाई सापटी लिँदा डाक्टर साबले पनि मेहनत त गर्नु भएकै हो तर मेरो हड्डी जोडिन चिप्ले कीराले प्रमुख भूमिका खेले जस्तो लाग्छ भनेर आफ्नो विश्वास ब्यक्त गर्दछन् । 

कुरा चिप्ले कीरा किन खाएको भन्ने होइन । तर हड्डी भाँच्चिएपछि चिप्ले कीरा नखाइकन हड्डी जोडिँदैन भन्ने सामाजिक मान्यता गलत छ । बरु चिप्ले कीरा सेवन गर्दा पेट सम्बन्धी अरु रोगहरुको संक्रमण हुन सक्छ । हड्डी राम्रोसँग जोडिनको लागि अपरेशनको तरीका उत्तम हुनुको साथसाथै नियमित पिजिओथेरापी, क्याल्सियम भिटामिन डीको सेबनलगायत अरु धेरै कुरामा ध्यान दिनु आवश्यक छ ।  

अर्को केसको कुरा गर्दा आफ्नी आमाको हातको सानो हड्डी भाँच्चिएपछि चिप्ले कीरा ल्याउन भीरमा जाँदा लडेर आफ्नो खुट्टाको हड्डी भाँच्चिदा यही अस्पतालमा आएर छोराले पनि हड्डीको अपरेशन गर्नु परेको कथा छ । धन्न यसपटक चाहिँ छोराको लागि चिप्ले कीरा ल्याउन अरु आफन्तहरु फेरि पनि भीरमा गएनन् होला भन्ने विश्वास गरेको छु ।

कहिलेकाहिँ खुट्टा मर्किएर अथवा भाँच्चिएर सुन्निएको अवस्थामा धेरै मानिसहरुले तातो पानीले सेक्ने गरेको पाइन्छ । तातो पानीले सेक्दा भाँच्चिएको ठाउँमा रक्तसंचारको प्रवाह अझ बढ्ने हुँदा उक्त भाग झन् सुन्निने, दुख्ने, फोका उठ्ने, पाक्ने पनि हुनसक्छ । 

यहाँ उल्लेख गरेका सबै जटिलताहरु एकै साथ नदेखिन पनि सक्छन् । भाँच्चिएको भाग थप सुन्निँदै जान्छ । त्यसकारण भाँच्चिएको मर्किएको ठाउँमा तातोको सट्टा चिसो पानीले अथवा बरफले सेक्नु पर्दछ । ढाड र घुँडामा हुने दीर्घकालीन दुखाइमा भने मन तातो पानी अथवा हट वाटर ब्यागले सेक्न सकिन्छ । धेरै नै तातो पानी प्रयोग गर्नु राम्रो हुँदैन । धेरै तातो पानीले सेक्दा ढाडमा फोका उठेर घाउ भएका धेरै बिरामीहरु पनि भेटिन्छन् । 

अर्को कुरा चोटपटक लागेपछि अथवा भाँच्चिएको ठाउँमा प्लास्टर लगाएर निकालेपछि गाईको घ्यूलगायत अरु जडिबुटी लगाएर बेस्सरी मालिस गर्ने चलन छ । चोटपटक लागेको ठाउँमा मालिस गर्दा शरीरको मासु र हड्डीमा थप चोट अथवा आघात पर्दछ र थप दुखाइ हुन्छ भने प्लास्टर निकालेको ठाउँमा मालिस गर्दा थप हड्डी पलाउन सक्ने र यसले जोर्नीलाई थप जाम गराउने सम्भावना रहन्छ । 

त्यसैगरी ढाड सड्किएको बेलामा पनि मालिस गर्नु हुँदैन । यसले समस्यालाई थप जटिल बनाउँदछ । ढाड सड्केकै चर्चा गर्दा औषधि सेवन नगरिकन दुखेको बेलामा मसल तन्काउने फिजिओथेरापी गर्नु हुँदैन । यद्यपि मेशिनबाट सेक्ने थेरापी चाहिँ गर्न सकिन्छ ।

हात र खुट्टामा प्लास्टर लगाएपछि औँलाहरु चलाउन हुन्न भन्ने मान्यता पनि गलत हो । प्लास्टर लगाएपछि औँलाहरु चलायो भने हड्डीले ठाउँ छोड्छ भनेर हातलाई बाँधेर झोलामा राख्ने चलन देखिन्छ । यसरी औँलाहरु लामो समयसम्म नचलाउँदा जाम भएर सुन्निने, दुख्ने, राम्रोसँग मुठी पार्न नमिल्ने हुन्छ । जसलाई मेडिकल भाषामा कम्प्लेक्स रिजनल पेन सिन्ड्रोम भनिन्छ । 

यस्तो समस्या भएमा बिरामीहरुले लामो समयसम्म दुखाइलाई झेल्नु पर्ने हुनुको साथै लामो अवधिसम्म थेरापी गर्नु पर्ने हुनसक्छ । एउटा हात सामान्य रुपमा भाँच्चिएर प्लास्टर लगाइसकेपछि राम्रोसँग हातका औँलाहरु चलाउनु पर्छ भन्ने सही सल्लाह नपाउँदा बिरामीले हात भाँच्चिएर पाउने दुःख भन्दा जोर्नी जाम भएर हुने समस्या दश गुणा बढी हुनसक्छ । 

खुट्टा भाँच्चिएर प्लास्टर लगाएको अवस्थामा अथवा अपरेशन गरेपछिको अवस्थामा पनि भाँच्चिएको हड्डीको प्रकृति हेरेर डाक्टरको सल्लाहअनुसार छिटो टेकेर हिँड्ने वातावरण मिलाउनु पर्दछ । मेडिकल भाषा अनुसार खुट्टा टेकेर हिँड्न शुरु गरेपछि मात्र हड्डी जोडिने प्रक्रिया थप मजबुत हुँदै जान्छ । यद्यपि जोर्नीनेरको हड्डी भाँच्चिएर टुक्रा–टुक्रा भएको अवास्थामा यो नियम नलाग्न सक्छ । 

त्यसकारण मर्किएका र सामान्य फ्याक्चर भएका बिरामीलाई प्लास्टर लगाउन परेमा प्लास्टरमै टेकेर हिँड्ने सुझाव आवश्यक पर्दछ । यो कुरा गाउँघरमा काम गर्ने स्वाथ्यकर्मीको हकमा अझ बढी सान्दर्भिक देखिन्छ ।

बिरामीहरुले प्लास्टर लगाएपछि हिँड्नै हुँदैन भन्ने विश्वास राख्ने हुँदा यो कुरा स्वास्थ्यकर्मी र डाक्टरहरुले नै हड्डी भाँच्चिएको प्रकृति हेरेर टेकेर हिँड्ने सल्लाह दिनुपर्दछ । 

एक जना बिरामीको उदाहरण दिएर भन्नु पर्दा एउटा सामान्य मर्केको खुट्टामा प्लास्टर लगाएर आराम गर्नुपर्छ भन्ने सल्लाहअनुसार उनले डेढ महिनासम्म खुट्टा नटेकिकन प्लास्टर लगाएर आराम गर्दा माथि उल्लेख गरे अनुसार कम्प्लेक्स रिजनल पेन सिन्ड्रोममा भएर बिरामीलाई खुट्टा सामान्य अवस्थामा आउन नौ महिना लाग्यो । 

यो अवधिमा उनले धेरै डाक्टरलाई देखाउँदा लामो समयसम्म मानसिक तनाब झेल्नुका साथै ठूलो आर्थिक क्षति बेहोर्नु पर्यो । जुन कुरा प्लास्टर लगाएर विज्ञ चिकित्सकको सल्लाहअनुसार टेकेर हिँडेको भए एक महिनामै पहिलाको अवस्थामा आउने थियो । 

अर्को कुरा जुन अहिलेको समयमा त त्यति प्रचलित छैन तर १५–२० वर्ष अगाडि धेरै सामान्य थियो । त्यो हो हड्डी भाँच्चिएपछि बेस्सरी कँसेर काप्रा बाँध्ने । यसरी जोडसँग कँसेर काप्रा बान्दा रक्त संचार बन्द भएर हात अथवा खुट्टा मर्ने हुँदा धेरै बिरामीहरुको हात खुट्टा काट्नु परेको छ । बरु काप्रो नबानेर यत्तिकै राखेको भए पनि हड्डी बाङ्गो गरि जुटेर भए पनि गरिखाने अवस्था आउँथ्यो होला ।

अन्त्यमा, शल्यक्रिया (अपरेशन) गरेपछि के कुरा खाने र नखाने भन्ने बारेमा पनि ठूलो अन्धविश्वास देखिन्छ । यो पनि गाउँ घरतिर नै बढी प्रचलित छ । बिरामीलाई जति नै सम्झाए पनि अपरेशन गरेपछि माछा, मासु, पिँडालु, भाण्टा, लसुन, प्याज खानै हुँदैन भन्ने मान्यता छ ।  

अझ तराईतिर त माछा खाने भनेको त घाउ पकाउन नै हो भन्ने विश्वास छ ।  जुन कुरामा कुनै वैज्ञानिक सत्यता छैन । सत्य कुरा त के हो भने माछा मासु खायो भने शरीरमा प्रोटिनको मात्रा बढेर घाउ सन्चो हुन मद्दत गर्दछ । 

त्यसैगरी युरिक एसिड भएका बिरामी मानिसले दहीलगायत अमिलो चिज खान हुँदैन भन्ने सोचाइ पनि गलत हो । युरिक एसिड भएका मानिसहरुले यस्ता चिजहरु सेवन गर्न मिल्छ । शरीरका जोर्नीहरु दुख्दैमा युरिक एसिड भयो भन्नु पनि गलत हो । अरु धेरै रोगहरु हुन्छन् जसको कारणले पनि जोर्नीहरु दुख्न सक्छन् । 

त्यसकारण एक्काइसौँ शताब्दीमा स्वास्थ्य सम्बन्धी अन्धविश्वासलाई चिनौँ र स्वस्थ्य जीवन बिताउँ भन्ने कामना गर्दछु । (बेलायतबाट एफआरसीएस उपाधि प्राप्त अर्थोपेडिक सर्जन डा. केसी देवदह मेडिकल कलेजका सहप्राध्यापक हुन्, उनी बुटवलस्थित मर्सी सिटी अस्पतालमा पनि आवद्ध छन् )

यी सम्बन्धित समाचार लिंक पनि–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ