- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विश्व स्वास्थ्य संगठनले सन् २०१६ मा सार्वजनिक गरेको विश्व सडक जोखिम तथ्यांकअनुसार नेपालमा प्रतिलाखमा १५.९ जनाको ज्यान सडक यातायात जोखिमका कारण गएको थियो ।
यीमध्ये ४० प्रतिशत मानिस २६ वर्षभन्दा कम उमेरका युवा थिए । यता हाम्रै स्वास्थ्य तथा जनसंखया मन्त्रालयले गत वर्ष गरेको सर्वेक्षणमा प्रतिलाखमा १४ जनाको सडक यातायात जोखिममा ज्यान गएको थियो ।
तीमध्ये ६८ प्रतिशत मोटरसाइकल तथा यस्तै प्रकृतिका दुईपांग्रे सवारी साधनका प्रयोगकर्ता वा तिनको ठक्करमा ज्यान गुमाउनेहरु थिए ।
कम आय भएका मुलुकका परिवारका सदस्यको सडक यातायात जोखिममा परी ज्यान जाँदा परिवारको आयमा ७५ प्रतिशतसम्म गिरावट आउने भारतमा गरिएको एक अध्ययनले देखाएको छ ।
तर यही क्रम उच्च आय भएका मुलुकमा फरक पर्दछ । ती मुलुकका कुनै परिवारका सदस्यको ज्यान जाँदा परिवारको आयमा ६४ प्रतिशतले गिरावट आएको थियो ।
सडक यातायात जोखिममा शहरका तुलनामा गाउँका मानिस नै बढी पर्दछन् । जसको घरमा सवारी साधन छैन, अथवा जो गाडी किन्न सक्दैन, मर्ने उसकै परिवारका सदस्य हुन्छन् ।
भारतमै गरिएको अर्को एक अध्ययनअनुसार ग्रामीण इलाका ४० प्रतिशत परिवारका कुनै एक सदस्य त्यस क्षेत्रमा भएको सडक यातायात जोखिममा पर्दछ ।
सोही अवस्था शहरका घरपरिवारमा भने फरक पर्दछ । शहरमा हुने सडक जोखिममा १२ प्रतिशत घरपरिवारका मानिस पर्ने गरेका छन् । यस्तै सडक जोखिममा परेकामध्ये कम आय भएका गाउँले परिवारका सदस्यहरु विकलांग हुने क्रम शहरका तुलनामा दुई गुणा बढी हुन्छ ।
परिवारको सदस्य सडक यातायात जोखिममा पर्दा परिवारमा खानै गाह्रो पर्ने क्रम पनि धनीका तुलनामा गरिब मुलुकका मानिसलाई बढी पर्दछ । गरिब गाउँले परिवारका सदस्य जोखिममा गुम्दा त्यस परिवारमा हातमुख जोड्ने समस्या ५६ प्रतिशतले बढ्दछ ।
त्यस्तै आय भएका शहरको परिवारको समस्या २९ प्रतिशतले बढ्छ । तर गाउँको कुनै धनी परिवारमा यस्तो घटना घटे आयमा कमी आउने क्रम ३९ प्रतिशतले घट्ने अध्ययनहरुले देखाएका छन् ।
अझ परिवारको सदस्य सडक जोखिममा पर्नासाथ त्यस परिवारका महिला सदस्य स्याहार सुसारमा लाग्नुपर्ने भएकाले उनीहरुको कमाइ गर्ने अवस्थामा आधा कमी आउँछ । शारीरिक र मानसिक अवस्थाको हिसाबै हुँदैन ।
मध्य तथा कम आय भएका मुलुकमा सडक जोखिममा ज्यान गुमाउनेमध्ये मोटरसाइकलका प्रयोगकर्ता सबैभन्दा धेरै छन् । विश्वमा हुने सडक यातायात मृत्युमध्ये ३० प्रतिशत दुई वा तीन पांग्रे सवारी साधनका प्रयोगकर्ता छन् ।
दक्षिण पूर्व तथा दक्षिण एसियामा त यो क्रम ४३ प्रतिशत छ । अझ थाइल्याण्डमा मृत्युदर ७३ र कम्बोडियामा ७४ प्रतिशत छ ।
मोटरसाइकल प्रकृतिका सवारी साधनका सबै प्रयोगकर्ताले तोकिएको मापदण्डमा हेलमेट मात्र लगाए पनि मृत्युदरमा ४० प्रतिशतले कमी ल्याउन सकिन्छ भने गम्भीर घाइते हुने क्रममा ७० प्रतिशतले कमी आउँछ ।
विश्वमा प्रति एक लाख मानिसमा सडक यातायात जोखिमबाट ज्यान जाने दर १८.२ छ । सो दर सबैभन्दा बढी अफ्रिकामा २६.६ जहाँ हरेक एक लाख सवारी साधनको प्रयोगबाट वर्षमा पाँच सय ७४ जनाको ज्यान जान्छ ।
त्यस्तै सबैभन्दा कम युरोपमा प्रतिलाख जनसंख्यामा ९.३ जनाको ज्यान जान्छ ।
सार्क राष्ट्रमध्ये हरेक एक लाख जनसंख्यामा अफगानिस्तानमा १५.५, बंगलादेशमा १३.६, भुटानमा १५.१, भारतमा १६.६, माल्दिभ्समा ३.५, नेपालमा १५.९ र पाकिस्तानमा १४.२ जनाको ज्यान सडक जोखिममा जान्छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा हुने सडक यातायातजन्य मृत्युमध्ये सबैभन्दा बढी ५३ प्रतिशत पैदल यात्रुको छ ।
त्यस्तै चार पांग्रेका प्रयोगकर्ता २० प्रतिशत, दुई वा तीन पांग्रेका प्रयोगकर्ता १९ र साइकल प्रयोगकर्ता सात प्रतिशत छन् ।
अन्य सवारी साधनका प्रयोगकर्ता एक प्रतिशत छन् । १५ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई कमाइ गर्न सक्ने उमेर मानिन्छ ।
विश्व स्वास्थ्य संगठनले सन् २०१६ मा गरेको अध्ययनअनुसार नेपालमा हुने सडक यातायात जोखिममा परी मृत्यु हुनेमध्ये यस उमेर समूहका ७२ प्रतिशत मानिस पर्दछन् ।
त्यतिबेलाको हिसाब अनुसार नेपालले सडक जोखिमको मूल्य १२ करोड अमेरिकी डलरको हाराहारीमा चुकाउनुपरेको थियो ।
उक्त मुल्यमा घाइतेको उपचार र मृत्युपछि गर्नुपर्ने खर्च समेटिएको थियो ।
उक्त रकम त्यतिबेलाको नेपालको कूल गार्हस्थ उत्पादनको ५.६ प्रतिशत थियो ।