arrow

मदिराले मातेपछि होटलमा लिम्बूको हत्या, संलग्न पक्राउ 

logo
युवराज रेग्मी,
प्रकाशित २०८० असोज १६ मंगलबार
jhapa-case-madira.JPG

झापा । झापाको दमक नगरपालिका वडा न.१ कुमाल चोकस्थित एक होटलमा केही दिन अघि एक युवकलाई छुरा प्रहार गरी हत्या गरेको घटनाका मुख्य अभियुक्त सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाम चुलाचुली ३ का ३८ वर्षीय गोविन्द लिम्बुको हत्यापछि प्रहरीले यसअघि अनुसन्धानका लागि ८ जनालाई नियन्त्रणमा लिए पनि मुख्य आरोपी दमक ७ सयपत्री टोलका २२ वर्षीय सनम राईसहित अन्य आरोपित फरार रहेका थिए ।

सोमबार दिउँसो प्रहरीले मोरङको उर्लाबारी १ टपुस्थित एक घरमा मोटरसाइकल सहित लुकेर बसेका मुख्य आरोपीसहित घटनामा संलग्न अन्य दुई जनालाई पक्राउ गर्न सफल भएको हो ।

इलाका प्रहरी कार्यालय दमकमा सोमबार पत्रकार सम्मेलन गरी झापाका जिल्ला प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले घटनामा संलग्न मुख्य आरोपी सनम सहित दमक १ स्थित नवदुर्गा टोलका २२ वर्षीय आनन्द भनिने २२ वर्षीय राजकुमार भुजेल र दमक ७ राधाकृष्ण टोलका १८ वर्षीय रोहन भनिने सुवास आलमलाई पक्राउ गरिएको जानकारी दिए । 

मुख्य आरोपी राई, भुजेल र आलमलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो ।

उनीहरूले प्रारम्भिक चरणमा दिएको बयान अनुसार राईसहितको तीन जनाको समूहले मदिराले लठठ भएको अवस्थामा आपसी विवादका कारण लिम्बुको हत्या गरेको स्वीकार गरिसकेको प्रहरीको जनाएको छ ।

दमकमा असोज १२ गते बिहान ४ बजे सो घटना गराएर फरार भएका मुख्य अभियुक्तहरूलाई इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक डम्बर विश्वकर्माको कमाण्ड, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव निरीक्षक रुद्र खडकाको कमाण्ड र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले खोजी तथा अनुसन्धान गरी फेला पार्न सफल भएको जनाइएको छ ।

यसअघि प्रहरीले सो घटनापछि अनुसन्धानका लागि घटनास्थल रुवेल माछाफ्राइका सञ्चालक विशाल कुमालसहित ८ जनालाई पक्राउ गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ