arrow

भारतीय मिश्रले कसरी पाए नेपाली नागरिकता ? आँखा गौतमबुद्ध विमानस्थलमा

logo
नारायण वली,
प्रकाशित २०८० असोज १८ बिहिबार
gautam-buddha-international-airport1.jpg
तस्बिर – फाइल ।

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको धावनमार्ग र पर्खालको जग्गालाई गत बैशाख ८ गते आफ्नोमा बनाएर मुआब्जा पाउनुपर्ने निवेदन दिने भारतीय मूलका पर्वतराजकान्त मिश्रले नेपाली नागरिकता कसरी पाए भन्ने विषय सामान्य छैन । भारतको नौतुनहवाका स्थायीवासी मिश्रको नागरिकता हेर्दा २०६३ फागुन १६ गते  घुम्ती टोलीसँग लिएको पाइएको छ ।

भारतीय नागरिक पर्वतराजकान्तले १७ वर्षअघि नेपाली नागरिकता लिएको पाइएको हो। २०६३ मा सिद्धार्थनगर नगरपालिका-५ मा खटिएको टोलीबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्राप्त कागजात अनुसार स्पष्ट देखिन्छ ।

उनको नागरिकताको प्रमाणपत्रमा २०६३ फागुन ६ मा नागरिकता प्रदान गरिएको उल्लेख छ। उनी नागरिकता लिने बेलामा ३१ वर्षका भएको जन्ममिति र नागरिकता जारी मितिले स्पष्ट देखिन्छ । 

त्यसबेला भारतीय मूलका नागरिक मिश्रलाई नागरिकता नदिन भन्दै स्थानीयहरुले विरोधसमेत गरे पनि नागरिकता घुम्ती टोलीले कुनै वास्ता गरेन । फलत: दिएरै छाड्यो । तर कसरी दियो भन्ने विषय गुमनाम रह्यो । नेपाली नागरिकले पाउने नागरिक प्रमाणपत्र भारतीय मूलका व्यक्तिले एकाएक नेपाली नागरिकता पाउनु सामान्य विषय नभएको नागरिक समाजको भनाइ छ ।

समाज भन्छ, देशकै गौरवको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग आफ्नो नाममा दर्ता गर्ने कुरा सामान्य व्यक्ति नभइ यसमा अन्य भूमाफिया लगायत कर्मचारीको उल्लेख्य भूमिका नभएर योजना सफल भएको छैन् । गम्भीर रुपमा छानबिन हुन जरुरी छ ।

२०२५ सालभन्दा अगाडिदेखि भारतको गोरखपुरकी सुर्जा मिश्राइन भैरहवामा बस्दै आएको र यतै जग्गासमेत जोड्न पुगेकी उनको निधन हुन पुग्यो । नि: सन्तान रहेकी मिश्राइनको जग्गामा हकदाबी गर्न गोरखपुरबाट रमाकान्त मिश्र नामका व्यक्ति आएको बताइन्छ । उनी  पनि भारतीय नागरिक नै हुन् । गोरखपुर निवासी थिए । 

उनै रमाकान्तका नाति हुन् पर्वतराजकान्त मिश्र । पछि सोही जग्गामाथि हक दाबी गर्न आएका भारतको गोरखपुरबासी उनले  नेपाली नागरिकता कसरी प्राप्त गरे भन्ने विषयलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूक्ष्म अध्ययन गर्नुपर्ने जिल्लाका सरोकारवालाहरुले बताएका छन् । 

नागरिकता टोलीले वास्ता नगरेपछि स्थानीय वशिष्ठनारायण त्रिपाठीले पर्वतराजकान्त भारतीय नागरिक भएकाले नागरिकता बदर गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए पनि तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले भारतमा जग्गाजमीन नभएको, मतदाता नामावलीमा नपरेको र नगरपालिकामा स्थायी बसोबास गरेको भन्दै २०६५ माघ १५ मा पर्वराजकान्तको नागरिकता सदर गरिदिएको स्थानीयहरुको भनाइ छ ।

मिश्रको गिद्धे दृष्टि धावनमार्गमा ?
भारतको गोरखपुरकी सुर्जा मिश्राइनको रुपन्देहीको भैरहवामा जग्गा थियो। उनको निधनपश्चात् जग्गा दाबी गर्नेको होड नै चल्यो । त्यसमध्येका पर्वतराजकान्त मिश्रको प्रवेश भयो । हकदाबीका लागि  हरिशंकर मिश्र, हरिप्रसाद वर्नवाल र पर्वतराजकान्त मिश्रबीचको विवाद उत्कर्षमा पुग्यो। अन्तत: जिल्ला अदालत रुपन्देहीसम्म पुग्यो ।

यसभन्दा अगाडि उनिहरु सर्वोच्च अदालत काठमाडौँ पुगेका थिए । सर्वोच्चका न्यायाधीशद्वय बब्बरप्रसाद सिंह र हेरम्बराजको संयुक्त इजलासले २०३६ जेठ १८ गते रमाकान्तको पक्षमा फैसला गर्‍यो। यसअर्थमा गरेको छ कि, अञ्चलाधीश कार्यालय र क्षेत्रीय अदालतको फैसला उल्ट्याउँदै सर्वोच्चले सुर्जा मिश्राइनको हकदार रमाकान्त नै ठहर्ने फैसला सुनाएको बताइन्छ ।

उनै रमाकान्तका नाति पर्वतराजकान्त मिश्रले विमानस्थलभित्र पर्ने सुर्जाको हकदारका रुपमा अपुताली पाएको धेरै जग्गा बेचिसकेको पाइएको छ। बिक्री गरेर बाँकी रहेको १ विघा एक कठ्ठा जग्गा विमानस्थलले अधिग्रहण गरेको थियो। त्यसको पनि उनले मुआब्जा  लिइसकेको उल्लेख छ ।

चालबाजी खेल्न छाडेनन् मिश्र
सुर्जाले हकवन्दि लाग्ने भएपछि विमानस्थलभित्र पर्ने कालीमाई मन्दिरलाई दान गरेको उक्त जग्गामा कसको हक लाग्ने भन्ने विषयमा         अदालत पुगेका उनीहरुबीच २०७८ पुस ८ गते अचानक पर्वतराजकान्त मिश्रको नाममा जग्गा दर्ता हुने गरी मिलापत्र भयो तर मालपोत कार्यालय रुपन्देहीले जग्गा दर्ता गर्न भने मानेन ।

त्यसपछि पर्वतराजकान्तले पुस २५ मा मिलापत्रको कार्यान्वयन गराइँ पाउँ भन्दै उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा रिट हालेको देखिन्छ ।

उच्च अदालतका न्यायाधीशद्वय किरण पौडेल र चन्द्रबहादुर सारुको संयुक्त इजलासले ‘निवेदनउपर कुनै निर्णय गरेको नदेखिँदा जे-जो बुझ्नुपर्ने हो, बुझी आवश्यक निर्णय गर्नु गराउनू’ भनी विपक्षी भूमिसुधार तथा मालपोत कार्यालय रुपन्देहीको नाममा परमादेश जारी गरिएको छ ।

यसो भन्छन् स्थानीय 
जग्गा प्लटिङ गर्न कम्पनी आएपछि मात्रै आफूहरुलाई थाहा भएको स्थानीयहरु बताउँछन् । आफूहरुले भोगचलन गर्दै आएको जमीन बेचिएको पत्तो पाएको स्थानीयहरु बताउँछन् ।

२०२२ सालदेखि स्थानीयहरुले भोगचलन गर्दै आएको जग्गा पर्वतराजकान्तले मालपोत कार्यालयका कर्मचारीलाई अपनाएर २०६५ भदौ ३१ मा आफ्नो नाममा दर्ता गरेको र २०६५ माघ २२ मा पर्वराजकान्तबाट शिलु हाउजिङले किनेको स्रोतले जनाएको छ।

घटनाक्रम हेर्ने हो भने पर्वतराजकान्तले जितलाम लोहार, इसु मुसलवान, जगदम्बा पाण्डे, कलिम मुसलवान, सुदामा हरिजन र कालीमाई मन्दिरले भोगचलन गर्दै आएको सोही स्थानको ४ विघा जग्गा पनि आफ्नो नाममा दर्ता गराएको भेटिएको थियो।

गत वर्ष गौतमबुद्ध विमानस्थल कार्यालयले जग्गा अधिग्रहणको सूचना निकालेपछि मात्रै पर्वतराजकान्तको नाममा जग्गा नामसारी गरेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ