arrow

चालकको ध्यान अन्तै हुँदाका परिणाम 

logo
डा बद्रीप्रकाश ओझा,
प्रकाशित २०८० असोज २० शनिबार
badriprakash-ojha-2080-06-20.jpg

तपाई हामी गाडी चलाउँदा स्वभावत अरुसँग बोल्दछौँ नै । अझ मोटरसाइकल, स्कुटर आदिमा पनि कुराकानी गर्दै सवार गरिन्छ । सवारी साधनमा जीवन जोखिममा पर्ने एउटा कारण यो पनि हो । 

यसलाई सकेसम्म आजैबाट बन्द गरौँ । हाम्रो सवारी साधन जोखिममा पर्दा हामी मात्र होइन सडकमा हिँड्दै गरेका बालबालिका, ज्येष्ठ नागरिक, अशक्त, गर्भवती, अर्को सवारी साधनमा सवार यात्री, सडकमा हिँड्दै गरेका जनावर आदिको ज्यान पनि जोखिममा पर्दछ । 

यदि तपाई अरुको सवारी साधनमा चढ्नु भएको छ भने पनि यति याद गर्नुहोला कि तपाईका कारण तपाई आफ्नै वा अरुकोसमेत ज्यान जोखिममा नपरोस् । 

हरेक वर्ष विश्वमा हुने २५ लाख सवारी जोखिममा चालकको ध्यान अन्यत्र केन्द्रित हुने कार्यले स्थान लिन्छ । सन् २०१९ मा गरिएको एक अध्ययनअनुसार २५ लाखमध्ये नौ प्रतिशत सडक यातायात जोखिम ज्यान जाने किसिमका हुन्छन् । चालकको ध्यान अन्यत्र केन्द्रित गर्नेमध्ये मोबाइल फोनको प्रयोग मुख्य विषय हो ।
 
चालकले एक पटक मोबाइल फोन प्रयोग गरेपछि उसको ध्यान पुनः काममा केन्द्रित हुन १३ सेकेन्ड लाग्दछ । तर सडक सवारी साधन जोखिममा पर्न मात्र तीन सेकेन्ड लाग्दछ । 

८० प्रतिशत आमाबाबुले गाडी चलाएका बेला गाडीमा सवार आफ्ना बालबालिकालाई पेय पदार्थ खान दिने गरेको पाइएको छ । 

यसका साथै सवारी चलाउने ४२ प्रतिशत आमाबाबुले सवारी चलाएका बेला एसएमएस पनि गर्ने गरेको अध्ययनले देखाएको छ । सवारी साधनमा हुने खानपिनका कारण दुई प्रतिशत सवारी जोखिममा पर्दछन् । 

चालकको ध्यान अन्यत्र केन्द्रित भएकै कारण सडक यातायात जोखिममा परी दैनिक एक हजार मानिस घाइते बन्दछन् । चालकको ध्यान अन्यत्र केन्द्रित हुने क्रम सिकारु तथा युवा चालकमा बढी देखिएको छ । 

२० वर्षभन्दा माथि उमेर समूहका तुलनामा १६ देखि १९ वर्ष उमेर समूहका सिकारु युवा चालकहरु सडक यातायात जोखिममा पर्ने संभावना तीन गुणा बढी रहन्छ । 

यसमा पनि सिकारु चालकले मोबाइल फोन प्रयोग गरे जोखिममा पर्ने संभावना आठ गुणाले बढी हुन्छ । 

यी कनिष्ठ चालकले फोन वा यस्तै अन्य वस्तु खोज्ने, रेडियो वा म्युजिक सिस्टम मिलाउने जस्ता कार्यले पनि सातदेखि आठ प्रतिशत जोखिम बढ्दछ । 

एसएमएस पठाउँदा चार प्रतिशतसम्म र खानेकुरा खाँदा तीन प्रतिशतसम्म जोखिमको संभावना बढ्दछ । टेक्सटिङ गर्दा चालकको ध्यान पाँच सेकेन्डसम्म सडकबाट मोबाइलमा केन्द्रित हुन्छ ।  

यदि सो सडक सवारी साधन ५५ माइल प्रतिघन्टाको गतिमा दौडेको भए यसले १२ सय मिटर दूरी पार गर्दछ । यसबीचमा सवारीले सडक छोडिहाल्छ वा अरुमा ठक्कर लाग्दछ । 

त्यस्तै टेक्सिटिङ गर्दै सडक सवारी साधन चलाउनु १.३ लिटर बियर वा ४० ग्राम रक्सी खाएभन्दा खतराजनक हुने पनि अध्ययनले देखाएको छ । 

मादक पदार्थ सेवन गरेर सवारी चलाउने समस्या विश्वमै छ । युरोपमा अलि कम छ तर अमेरिका र अन्य तेस्रो विश्वमा त विकराल नै छ । 

अमेरिकामा गरिएका एक अध्ययन अनुसार ५६ प्रतिशत पुरुष र २९ प्रतिशत महिलाले मापसे गरेर सवारी चलाएको पाइएको छ । 

गत वर्षको अध्ययन अनुसार अमेरिकामा मात्र वार्षिक १० हजार मानिसको ज्यान मापसे गरेर चलाइएको सवारी साधनका कारण जान्छ । 

यसबाट वार्षिक एक सय ३२ अर्ब अमेरिकी डलर खर्च हुन्छ । वर्षमा १५ लाख अमेरिकीहरु मापसे गरेर सवारी चलाएको आरोपमा पक्राउ पर्दछन् । 

सबै सवारी जोखिममध्ये १७ प्रतिशत सिकारुले चलाएका सवारी साधनका कारण हुने गरेका छन् । यी सबै सडक सवारी जोखिममध्ये ५० प्रतिशत जोखिम जुलाइ ४ मा मात्र हुन्छन् । जुलाई ४ अमेरिकाको स्वतन्त्रता दिवश हो । 

मापसे गरेर सवारी चलाएका कारण सवारी सधानमा सवार तथा अन्य गरी हजारजनाभन्दा बढी बालबालिकाको समेत ज्यान गएको तथ्यांक छ । 

अधिकांश किशोर किशोरी चालकहरुले राति ९ देखि बिहान ६ बजेको बीचमा सवारी साधनले अरुलाई ठक्कर दिएको पाइएको छ । यस्ता चालकहरु सिटबेल्ट पनि प्रयोग गर्न चाहँदैनन् । 

सिटबेल्ट सम्बन्धी तथ्यांक अनुसार २५ वर्षमाथिका ९० प्रतिशत चालक तथा यात्रु सिटबेल्ट प्रयोग गर्दछन् तर २५ मुनिकाहरुले यसलाई बेवास्ता गर्दछन् । 

दक्षिण एसियाली मुलुकमा विश्वमा चलाइनेमध्ये ६० प्रतिशत सडक सवारी साधन चलाइन्छन् । तर सवारी जोखिममा परी विश्वमा मर्नेमध्ये ९३ प्रतिशत यहीँका जनता छन् । 

सन् २०१९मा गरिएको अध्ययन अनुसार भारतमा ४७, पाकिस्तानमा ७४ र नेपालमा ३६ प्रतिशत सवारी चालकहरु गाडी चलाउँदा मोबाइल फोनको प्रयोग गर्दछन् । मोबाइलका कारण यस क्षेत्रमा सवारी जोखिमको मात्रा तीन गुणाले बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ