arrow

एमाले सुदूरपश्चिममा जैशीको नेतृत्वमा सर्वसम्मत कमिटी चयनको खाका

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २४ बुधबार
krishnaprasad-jaisi-uml-sudur-president.jpg

अपडेट

धनगढी । नेकपा एमालेले अन्ततः सर्वसम्मत रुपमा सुदूरपश्चिम प्रदेश कमिटी चयन गर्ने खाका तयार गरेको छ । एमालेका स्थायी कमिटी सदस्य, केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताको उपस्थितिमा मंगलबार रातिसम्म भएको छलफलपछि कृष्णप्रसाद जैशीको नेतृत्वमा सवै पदाधिकारी सर्वसम्मत चयन गर्ने खाका तयार गरेको हो । 

तर यो खाकामा सहमति हुने सम्भावना नरहेको पनि बताइन्छ  

एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाका अनुसार सहमति मै नेतृत्व चयन हुँदा पार्टी पंक्तिमा मतभेद नरहने र आगामी दिनमा सुदूरपश्चिम प्रदेशलाई बलियो बनाउन सहयोग पुग्ने छ । 

 ‘सर्वसम्मत नेतृत्व चयनले देशभर राम्रो सन्देश जाने छ,’ थापाले भने, ‘कार्यकर्तामा मनमुटाव पनि हुँदैन, त्यसैले हाम्रो जोडबल सहमतिमै नेतृत्व चयन हुनु पर्छ भन्नेमा हो ।’

नेकपा एमालेका प्रदेश सचिव धर्मराज पाठकका अनुसार उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द र उप सचिव खुला पुरुषतर्फ नेपालु चौधरी, महिला उप सचिवमा कलशा महरालाई सर्वसम्मतको प्रयास भएको छ । दुवै जनाले मंगलबार बिहान भने उम्मेदवारी दिएका थिएनन् । 

 एमालेले प्रदेश कमिटि सदस्यहरु पनि सर्वसम्मत चयन गर्ने बताइएको छ । 

सोमबार सहमतिको प्रयास असफल भएको भन्दै प्रदेश कमिटी चयनका लागि मंगलबार अध्यक्षसहित सबै पदाधिकारीमा उम्मेदवारी परेको थियो । जसअनुसार अध्यक्षमा कृष्णप्रसाद जैसीससहित वचनबहादुर सिंह, कमल तिमिल्सेना र भरत साउँदले उम्मेदवारी दिएका थिए ।

त्यसैगरी उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको थियो । एमाले प्रदेश कमिटीको उपाध्यक्षका लागि  हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद तथा गजेन्द्रबहादुर शाहीले उम्मेदवारी दिएका थिए ।

 यस्तै सचिवमा ४ जनाको उम्मेदवारी परेको थियो उम्मेदवारी दिनेमा रणबहादुर चन्द, राजेश कुमार खाति, रतन रतनराज रेग्मी र जीवन कुमार बम रहेका थिए ।

यस्तै उप सचिवमा ९ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिनेमा महिला तर्फ भागरथी विष्ट, कन्दकला कुमारी राना र अर्चना गहतराज रहेका थिए भने, उपसचिव खुल्ला (पुरुष)तर्फ रामदत्त जोशी, अशोक कुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्टले उम्मेदवारी दर्ता गराएका थिए । 

आइतबारदेखि सुरू भएको प्रथम अधिवेशनमा नेताहरूले नेतृत्व चयनका लागि सहमतिको प्रयास गरेका थिए । तर, सहमति जुट्ने अवस्था नदेखिए पछि स्वस्थ प्रतिस्पर्धा गर्न भन्दै धनगढीमा रहेका महासचिव शंकर पोखरेल सोमबार दाङ गएका थिए । 

अध्यक्ष केपी शर्मा ओली पोखरेललाई सुदूरपश्चिम प्रदेश अधिवेशनको जिम्मा दिएर आइतबार नै काठमाडौं फर्किएका थिए । 

महासचिव पोखरेलले बन्द सत्रलाई थाति राखेर सोमबार दिउँसोसम्म सहमतिको प्रयास गरेका थिए तर सफल नभएपछि केन्द्रीय सचिव एवम् सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मालाई जिम्मा दिएर उनी दाङ फर्किएका हुन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ