arrow

यस्तो छ यमपञ्चकको महत्व

logo
नारायण वली,
प्रकाशित २०८० कार्तिक २६ आइतबार
यम पंचक १.jpg

हिन्दू धर्मावलम्बीहरुको महान् चाड (ठूलो पर्व) दशैँपछिको दोस्रो पर्व हो, तिहार (दीपावली)। यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइने गरिन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

यो पाँच दिवसीय पर्व विशेषगरी नेपालमा मनाइन्छ । हिन्दू धर्मावलम्वीहरुले दीपावलीको रुपमा यस पर्वलाई धुमधामका साथ मनाउने गर्दछन् । 

यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ । यसैदिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भइ आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।

त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता रहेको छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पूजा गरिन्छ । तिहारमा पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाइ रमाइलो गरी मनाउने गरिन्छ । 

हिन्दू धर्मशास्त्रका पौराणिक कथाअनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गइ रमाइलो मनाएको हुँदा पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख छ ।

यसरी बस्दा बहिनी यमुनाको व्यवहारले प्रसन्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ वर मान्नू” भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदीभाई दाजुबहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाईको आयू, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागेको र यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरुको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिइ आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीनकालदेखि अहिलेसम्म अविच्छिन्न रुपले यो पर्व मानिँदै आएको बुटवलका अंक ज्योतिष तथा महावास्तुविद् खिला अधिकारी (पश्यप) को भनाइ छ । 

काग तिहार
काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन काग पूजा गरिन्छ । काग अत्यन्त चतुर र चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी हो । कागले सबैलाई समान दृष्टिले हेर्ने गर्छ ।

कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रुपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि मानिन्छ । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ।

कुकुर तिहार
कुकुर तिहार यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन मनाईन्छ । यसका धार्मिक एवं सामाजिक मान्यता छन् । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रुपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो ।

कुकुरलाई आज्ञापालक एवं रक्षक मात्रै मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरु पत्ता लगाउने, अध्ययन अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्दछ । कुकुरले घरको रेखदेख तथा चोरडाँकाबाट बचाउने कार्यगरी मानिसलाई सहयोग गर्दै आएको हुन्छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । 

गाईतिहार/ लक्ष्मी पूजा
गाईतिहार र लक्ष्मी पूजा कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घरआँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घरकोठा (चोटा पवित्र तुल्याउने हिन्दूहरुको संस्कार छ । गाईलाई पशुधनका रुपमा लिइन्छ । हिन्दूहरु गाईलाई लक्ष्मी  गौमाता धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मान्छन् ।

कार्तिक कृष्ण औंसीको रात अत्यन्तै अँध्यारो हुन्छ । उक्त अन्धकार रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घरघरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । भगवान् धन्वन्तरी समुन्द्र मन्थन गर्दा अमृतको घडासहित प्रकट हुन्छ ।

धन्वन्तरीलाई आयुर्वेदको राजा मानिन्छ । धनतेरसको दिन पहिलो पुजा धन्वन्तरी दोस्रो पुजा कुवेर र तेस्रो पुजा माता लक्ष्मीको गरिन्छ । धनतरेसमा नयाँ सामान किन्ने प्रचलन छ । धनतेरस दिन यमराजलाई दियो दान गर्नु राम्रो मानिन्छ र कुचो, वेसारको गोटा दाना, धनियाँ गोटा दाना, सिदे नुन, गोमती चक्र, सातमुखि रुद्राक्ष जस्ता वस्तु र चाँदीका प्रतिमा तथा गहना किन्नु उत्तम मानिन्छ । 

सुखसम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रुपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोगगरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो । दीपावलीमा “तमसोमा ज्योतिर्गमय” अर्थात् अन्धकारबाट प्रकाशतर्फ आफूलाई आत्मिक रुपमा सुख सन्तोष प्रदान गर भन्ने यो दिन चेलीबेटीहरु भैलो खेलेर रमाइलो गर्छन् । वर्षका चार महत्वपूर्ण रातहरुमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्री भनिन्छ । 

गोरु तिहार
गोरु तिहार अर्थात् गोवर्धन पूजा चौथो दिन मनाइन्छ । पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । विश्वास अनुसार कृष्ण भगवान गोकुलमा गोपालहरुसँग बस्ने र गोपालहरु देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे । तर इन्द्रवाट उनीहरुले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरुलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घाँस, पानी, दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ ।

आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरुलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । भनिन्छ, त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो ।

संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन, गोकुल, गोपाल यी शव्दहरुले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । सोही सालभरी अन्न उब्जाउने हलो तानी मानिसहरुको पालनहारी गोरुको पनि पूजा गर्दछन् । यतिमात्रै होइन, गाईका शरिरमा तेत्तिसकोटी देबताको बास हुने भएकाले गाईको पूजा गर्दा तेत्तिसकोटी देबताको एकैपटक दर्शन गर्न सकिन्छ । 

भाइतिहार (भाई टीका)
भाइतिहार (भाई टीका) तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन विशेष उत्साहका साथ मनाइन्छ । दिदीले भाइलाई र बहिनीले दाजुलाई त्यसैगरी भाईले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । 

दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादी दश दिक्पालले राजा बलिका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ ।

भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्तर्निहित छ । लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रुपमा लिइन्छ । 

दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाईटीकाको निम्ता स्वरुप पान सुपारी, फूल आदि दिने चलन । भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरुको विश्वास छ । टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् ।

भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दुबो तथा सयपत्रीको माला, रोटी, मीठामीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजुभाईको मङ्गलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । 

फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रुपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दुबोको मालाको छुट्टै महत्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्गकहिल्यै उडेर जाँदैन भने दुबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ