arrow

भारतीय राष्ट्रपतिको रहस्यमय भ्रमण ?

logo
अमरदीप मोक्तान,
प्रकाशित २०७३ कार्तिक २० शनिबार
amardeep-moktan.jpg.jpeg
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने नेपाल भ्रमण सम्पन्न भएको छ । नेपालका सत्तासिन नेताहरुले भारतीय राष्ट्रपतिको भ्रमण सम्पन्न भएकोमा सन्तोषको सास फेरेका होलान । भारतीय राष्ट्रपतिको भ्रमणप्रति नेपाली जनतामा त न कुनै हर्ष थियो न उमंग । भारतीय राष्ट्रपतिको भ्रमणमा नेपाल सरकारले सुरक्षा व्यवस्थाको नाममा लगाएको अघोसित कर्फ्युले गर्दा नेपाली जनता भारतले लगाएको नाकाबन्दी स्मरण गर्दै त्रसित हुन् पुगे । राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण राजनीतिका साथै धार्मिक भ्रमण जस्तो पनि देखियो तर विचारणीय प्रश्न के छ भने उहाँले पशुपतिनाथ, जानकी मन्दिरमा पूजा दर्शन गर्नलाई प्राथमिकता दिए तर बौद्धनाथ, स्वयम्भुनाथ, लुम्बिनीलाई किन प्राथमिकतामा राखेनन् ? भारतीय राष्ट्रपतिले भ्रमणको क्रममा मोदी सरकारको जस्तै संबिधानको विषयमा गम्भीर चासो व्यक्त गरे । छिमेकी मित्र राष्ट्र भारतले नेपालको विषयमा चिन्तन गर्नु बिल्कुलै नराम्रो  होइन तर जहाँ "अति" त्यहाँ "खति" अर्थात् भारतले नेपालको आन्तरिक मामिलामा अति चासो खतिको संकेत हो भनि बुझ्न जरुरि छ । यदि नेपालका राष्ट्रपतिले भारत भ्रमणको क्रममा गोर्खालैंड राज्य निर्माणको सम्बन्धमा जानकारी लिन खोजिए भारत सरकारको के प्रतिक्रिया हुने थियो ? पाकिस्तानको राष्ट्रपतिले भारत भ्रमणको क्रममा कश्मिरका आन्दोलनकारी संग भेटघाट तथा भारत सरकारसंग कश्मिर विषयमा कुरा उठाएको भए भारतको के प्रतिक्रिया हुने थियो ? गत वर्ष पाकिस्तानको स्वतन्त्रता दिवस मा पाकिस्तानी दुतावासले कश्मिरी आन्दोलनकारीहरुलाई निम्तो दिएकोमा भारत रुस्ट भएको थियो, कश्मिरी आन्दोलकारी नेताहरुलाई पाकिस्तानी दुतावासमा आउन नै दिईएन । कटु सत्य के हो भने भारतले नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा अहिले सम्म स्वीकार्न गरेको स्पस्ट रुपमा देखिन्छ ।
 
भारतीय राष्ट्रपतिको भ्रमणसंगै अन्य भ्रमण पनि कम रहस्यमय छैन । जस्तो कुनै न कुनै बहानामा परराष्ट्रमन्त्री प्रकाशशरण महतको निरन्तर रुपमा भारत भ्रमण, गृहमन्त्री बिमलेन्द्र निधीको निरन्तर रुपमा भारत भ्रमण । त्यसतै गरि नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको भारत भ्रमण गरेको देख्दा अनेक अड्कल काट्न सकिन्छ । नेपालमा समस्या थाती छ संबिधान कार्यानवयन मा अवरोध कायम छ । तीन तीनवटा चुनाव गर्नु पर्ने छ । तर त्यस्ता महत्वपूर्ण कामप्रति बेवास्ता गर्दै जहिले पनि जस्तो सुकै कार्यक्रममा भारतले बोलाएको बेला नेताहरु दौडी हाल्ने कारण बुझ्न सकिएन ? याद राख्ने पर्ने कुरा के हो भने यस्तो प्रकारको बाक्लो रुपमा भारतको बोलाहट र नेताहरु दिल्ली दौडाहा गर्ने कार्य नेपालको लागि सुखद संकेत होइन ।
 
भारतीय राष्ट्रपतिसंग भेट गर्न लाम लगाएर नेताहरुको अनिवार्य उपस्थिति र राष्ट्रपति प्रणव मुखर्जीले सबैसंग छुट्टा छुटै भेटघाट तथा जानकारी लिएको देख्दा नेपाली जनताले अपमानित महसूस गरेका छन् । राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई सफल बनाउन प्रचण्ड सरकारले नेपाली जनतालाई बहिस्कार गरेको बन्धक बनाएको र हेप्ने कार्य गरेको छ । नेपाल भारत सम्बन्धमा आएको चिसोपनलाई मथ्थर पार्न भारतीय राष्ट्रपतिको भ्रमण बिल्कुलै होइन । उपलब्धिविहीन प्रचण्डको भारत भ्रमण नेपाललाई चक्रब्युहमा फसाउन प्रायोजित थियो त्यस्तै प्रकारले भारतीय राष्ट्रपतिको भ्रमण कुनै न कुनै उद्देस्यका लागि बनाइएको प्रायोजित भ्रमण मात्र हो । नेपाली जनता भारतीय राष्ट्रपति प्रणव मुखर्जी को रहस्यमय भ्रमणप्रति ससंकित छन् ।
 
भारत जस्तो शक्तिशाली विशाल राष्ट्रको राष्ट्रपति नेपाल भ्रमणको विषयमा लगभग प्रायः जसो भारतीय संचार माध्यम मौन देखिनुले पनि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण रहस्यमय बनेको छ । सानो विषयलाई ठुलो बनाएर प्रस्तूत गर्न महारथ हासिल भएको भारतीय भारतीय संचार माध्यमले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको समाचारलाई प्राथमिकता किन दिएनन् ? जबकी भारतीय राष्ट्रपतिको नेपाल बाहेकका देशमा भ्रमण गर्दा भारतीय संचार माध्यमद्वारा जोर शोरले प्रसारित गर्ने गरिन्छ । नेपालमा भारतद्वारा अघोषित नाकाबन्दी लगाउँदा नेपालका "मधेश जल रहा है" शिर्षकका साथ मधेशवादीले गरेको आन्दोलनलाई ठुलो बनाएर प्रस्तूत गर्ने त्यस्तै गरि नेपाल चीन बीच भएको सन्धिले गर्दा भारत घेरिएको भारतको सुरक्षा खतरामा परेको भनि ठुलो बनाएर प्रस्तूत गर्ने भारतीय संचार माध्यम भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणप्रति मौनताले पनि भ्रमण रहस्यमय बनेको छ । नेपाल माथि अमानवीय तरिकाले अघोसित नाकाबन्दी गरेको भुलको पश्चाताप गर्न भारत नेपाल बीच सम्बन्धमा चिसोपनलाई सुमधुर बनाउन राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण भएको हो भनौ भने त्यो पनि देखिएन । बरु नेपालको संविधानमा भारतले चाहेको जस्तो संसोधन होस् भनि सरल तथा मिठो भाषामा संकेत दिएको जस्तो प्रतित भयो । भारत र चीन नेपालका छिमेकी मित्र राष्ट्र हुन् । नेपालको लागि दुवै मित्र राष्ट्र समान हुन् । नेपालका नेताहरुद्वारा चीन तर्फ ढल्केर भारत गुमाउनु हुँदैन भने त्यस्तै गरि भारत तर्फ ढल्केर चीन गुमाउनु हुदैन भन्ने विषयमा गम्भीर हुन् अत्यन्त जरुरी छ ।
 
डाडा खर्क, दोलखा ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ