- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सडक यातायात जोखिम घटाउनका लागि हालसम्म प्रयोगमा आएका विधिहरुमध्ये सुरक्षित विधि अथवा ‘सेफ सिस्टम अप्रोच’ सबैभन्दा प्रभावकारी देखिएको छ । सन् १९९० को दशकमा स्वीडेन र नेदरल्याण्ड्सबाट शुरू गरिएको यस विधिको प्रयोग गरिएका मुलुकमा सडक यातायात जोखिम ६७ प्रतिशतले कमी आएको छ ।
सन् १९९० देखि २०१७ को बीचमा भएका सडक सवारी जोखिममा परी मृत्यु तथा घाइते भएका वा सवारी साधन ठक्कर खाएका तथ्यांकको मूल्यांकन गर्दा यस्तो जानकारी प्राप्त भएको हो । जसअनुसार ‘सेफ सिस्टम अप्रोच’ लागू गरिएका मुलुकमध्ये उक्त अवधिमा अस्ट्रेलियामा ४७ प्रतिशत, न्यूजिल्यान्डमा ४८ प्रतिशत, स्वीडेनमा ६७ प्रतिशत र स्पेनमा त अझ बढी ८० प्रतिशत सडक सवारी जोखिम कमी आएको थियो ।
विश्वमा सडक सवारी जोखिममा पर्नेमध्ये दुई पाङ्ग्रे सवारी साधनका प्रयोगकर्ता बढी छन् । दक्षिण एसियामा सबैभन्दा बढी भारतमा दुई पाङ्ग्रे चलाइन्छ । करिब २१ करोड दुई पाङ्ग्रे चल्ने भारतको तथ्यांक छ ।
स्वभावतः सवारी जोखिम पनि दुई पाङ्ग्रेकै बढी हुन्छ । सन् २०२१ को तथ्यांकअनुसार भारतमा दुई पाङ्ग्रे सवारी साधनबाट ७० हजार मानिसको ज्यान गएको थियो ।
नेपालमा प्रयोग गरिने सडक सवारीमध्ये मोटरसाइकल र स्कुटरको हिस्सा ७८ प्रतिशत रहेको छ । भारतले मोटरसाइकल तथा स्कुटर अझ भनौँ मोटर जडित दुई पाङ्ग्रे सवारी साधनमा सवार बालबालिकालाई पनि हेलमेट अनिवार्य गरेको छ ।
नौ महिना उमेर पुगेका बालबालिकाका लागि हेलमेट अनिवार्य छ । नेपालमा पनि केही समयका लागि दुई पाङ्ग्रेमा सवार दुवैले हेलमेट अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको थियो तर द्वन्द्वको नाममा उक्त नियम बन्द गरियो ।
शान्ति सम्झौता भएको १७ वर्ष पूरा हुँदासमेत उक्त नियम पूर्ण रूपले फर्काइएको छैन । नेपाल प्रहरीले भने यो नियम शुरू गरिसकेको छ । राष्ट्रिय सडक सुरक्षा परिषद्को पहलमा सशस्त्र प्रहरीले पनि दुई पाङ्ग्रेका प्रयोगकर्तालाई हेलमेट अनिवार्यको व्यवस्था शुरू गरेको छ । यसैगरी नेपाली सेनाले पनि यो परिपाटी शुरू गर्नेबारे प्रक्रिया अघि बढाएको जानकारीमा आएको छ ।
सवारी जोखिम कम पार्न दुई पाङ्ग्रेका लागि छुट्टै लेनको व्यवस्था एउटा विकल्पका रुपमा लिइन्छ । विश्वका एक सय २१ ओटा ठूला शहरको १३ वर्षको तथ्यांकलाई विश्लेषण गर्दा दुई पाङ्ग्रेलाई छुट्टै लेन दिँदा सवारी जोखिममा ४४ प्रतिशतले कमी आएको छ । त्यस्तै सवारी जोखिममा परी घाइते हुनेको संख्या पनि ५० प्रतिशले कमी आएको छ ।
सडक सुरक्षित नभएका कारण नेपालले आफ्नो वार्षिक कूल गार्हस्थ उत्पादनको ५.६ प्रतिशत हिस्सा खर्च गर्नुपरेको विश्व बैंकको तथ्यांक २०१६ मा उल्लेख छ ।
आज नेपालको कूल गार्हस्थ उत्पादन करिब ४० अर्ब अमेरिकी डलर मानिन्छ । यही रकमलाई नै आधार मान्ने हो भने पनि नेपालले सडक सवारी जोखिमका कारण वर्षमा करिब दुई अर्ब ४६ करोड डलर बराबरको नेपाली मुद्रा खर्च गर्दछ ।
यो रकम हाम्रा लागि निकै ठूलो हो । वर्षमा करिब अढाई खर्ब रुपैयाँ खर्चनु भनेको देशको जनसंख्यालाई पाल्न पुग्ने पैसा हो ।
गत आर्थिक वर्षमा नेपालले कृषिजन्य उत्पादन आयातमा करिब तीन खर्ब २५ अर्ब खर्च गरेको तथ्यांक छ । यदि सडकलाई मात्र सुरक्षित गर्न सके पनि दुई खर्बभन्दा बढी बचत गरी अन्य क्षेत्रमा लगाउन सकिन्छ । यसबाट देशको अर्थतन्त्रमा पक्कै पनि ठूलै फड्को मार्न सकिन्छ ।