arrow

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान

होडिङ बोर्डमा रेष्टुरेण्ट बार, धन्दा यौन व्यापार

प्रहरीकै हप्ता असुलीको संरक्षणमा होटलवालाले निर्वाधरुपमा यौनधन्दा चलेको शंका

logo
हाम्राकुरा,
प्रकाशित २०८० मंसिर २१ बिहिबार
377322764_718081046940183_1480271086423922181_n.jpg

लुम्बिनी । बाहिरबाट हेर्दा होडिङ बोर्डमा रेष्टुरेण्ट बार लेखिएको छ । तर भित्र खुलेआम यौनधन्दा क्रियाकलापको अखडा छ । बुटवलको त्यो रेष्टुरेण्ट हो, हिमालयन रेष्टुरेण्ट एण्ड बार । बुटवल उपमहानगरपालिका- ५ स्थित ‘बुटवल कृषि उपज थोक बजार केन्द्र’ (पुरानो बसपार्क) को उत्तरतर्फ रहेको छ ।

कानूनविपरीत मानिने यौनधन्दालाई उक्त हिमालयन रेष्टुरेण्टलगायत बुटवलका केही होटलहरुले गाउँका किशोरी र महिलाहरुलाई यौनधन्दामा लगाएको पाइएको हो । गरिबीका कारण पढ्न नपाएका र आर्थिक स्थिति कमजोर भएका महिलाहरुको समस्यालाई फाइदा उठाउँदै होटलमा वेटरदेखि कुकसम्बन्धी काम गर्न भनी ल्याएर यौन क्रियाकलापमा लगाउने गरेको पाइएको छ । 

इलाका प्रहरी कार्यालय बुटवलको झण्डै ५ मिटर दूरीमा रहेको होटलमा यसरी चल्दै आएको अवैधधन्दा प्रशासनको निगरानीबाट अछुतो हुन नसक्ने स्थानीयहरुको भनाइ छ ।

स्थानीयहरुका अनुसार समाजलाई असर गर्ने खालमा गतिविधि गर्नेलाई कारबाही हुनुपर्छ । 'घर नजिकै हुने यौनधन्दा क्रियाकलापले भोलिका दिनमा हाम्रा छोराछोरीहरु समेत बिग्रिन्छन्', नाम नखुलाउने सर्तमा एक स्थानीय भन्छन्, 'अन्य होटलहरुमा लुकिछिपी यस्तो धन्दा हुन्छ तर यसमा खुलेआम यौन कार्य हुन्छ । केही प्रहरीहरु सिभिलमा आउने जाने गर्छन् । प्रहरीकै हप्ता असुलीको संरक्षणमा होटलवालाले निर्वाधरुपमा यौनधन्दा चलेको शंका छ । होइन भने प्रहरीले किन पक्राउ गर्दैन ? यसैबाट पुष्टि हुन्छ । म जागिर गर्छु, बिहान गएर बेलुका आउँछु राति अबेरसम्म पुरुषहरु आउने जानेको लर्काे हुन्छ ।' 

पैसा कमाउनका लागि बाहिरबाट आएर होटल गरेकाहरुले स्थानीयलाई असर पार्ने गरी अनैतिक कार्य गर्न नपाइने स्थानीय जानकारहरु बताउँछन् । (मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाही गर्नलाई टोल विकास संस्था, वडा कार्यालय र सम्बन्धित निकायको ध्यान जान जरुरी छ । २० वर्ष मुनिका युवती र महिलाहरु दाङलगायत पश्चिमका जिल्लाहरुबाट ल्याउने गरेको स्रोतले बताएको छ । 

महिला मुक्तिको नयाँ वैचारिकी अपराजिता पारिजात त्रैमासिक म्यागजिनकी सम्पादक तथा महिला अधिकारकर्मी अध्येता सुमिना केसीले एकाथरी नारीवादीहरुको तर्क 'मेरो शरीर मेरो अधिकार' भन्दै आइरहेका छन् । जसले गर्दा निजी सम्पत्ति, यौन दासी जस्तो र बिकाउको बस्तु जस्तै आज यौनका खरिदकर्ताले पैसा फ्याँकेर महिलाको शरीरसँग खेल्ने परम्परा छ । 

कानूनले यौन धन्दालाई निषेध गरेको भए पनि सो धन्दा व्याप्त चल्दै आएको छ । हाम्रा कुरासँगको कुराकानीमा अधिकारकर्मी केसीले भनिन्, 'मलगायत एकाध अधिकारकर्मीहरुले मेरो शरीर मेरो अधिकारको नाराले शरीरमाथि आफ्नो हक दाबी गर्नु जायज भए पनि त्यही नाराको आधारमा देहव्यापारलाई वैधानिकता दिन माग गर्नु गलत भएको टिप्पणी गर्दै आएका छौैँ ।'

उनी भन्छिन्, 'देहव्यापारले एकातर्फ महिलाको शरीर शोषण हुँदैछ भने अर्कोतर्फ बिक्री गर्न सकिने बिकाउ बनाएर शरीरको बस्तुकरण बजारीकरण गरिदैछ । कमजोर आर्थिक स्थितिका कारण अन्य रोजगारको बाहनामा होटलसम्म पुर्याउने र यौन शोषण गराउने कार्य प्रशस्त भेटिने बिडम्वना पोख्दै राज्यलगायत सम्बन्धित निकायको ध्यान पुग्नुपर्नेमा अझ केही निकायहरु व्यवसायीहरु सिस्टम मिलाएर मिलेमतोमा औपचारिकता पूरा गर्ने र त्यस्ता गतिविधिलाई हुन दिने चलन व्याप्त छ ।'

यौन शोषण र मानव ओसारपसार बेचबिखन सम्बन्धी पर्याप्त कानून लिखितम बने पनि व्यवहारिक रुपमा कार्यान्वयन भएको छैन । फलतः यसको नियन्त्रण र निर्मूलीकरणमा आंशिक बाहेक खासै सुधार देखिदैन् । जहाँ सिस्टम मिलाएर यौन धन्दा चलाइन्छ त्यहाँ प्रहरी प्रशासन कहिल्यै जाँदैन । जसको फाईदा यौन व्यवसाय गर्नेहरुले लिदै आएको बताउँछिन् ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका पूर्वअध्यक्ष समुन्द्र जिसीले आफू दुई कार्यकालसम्म अध्यक्ष हुँदा सो विषयलाई निरुत्साहित गर्न आफैँ अनुगमन गरेको बताउँदै कतिपयलाई कारबाहीसमेत गरेको जनाए । उनले संघले नियमित अनुगमनलाई निरन्तरता दिनुपर्ने सुझाए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका वर्तमान अध्यक्ष लेखनाथ भण्डारीले बुटवलको हकमा होटललाई पर्यटनको हब बनाएर गुणस्तरीय बनाउन लागिपरेकाे बताए ।

उनले भने, 'हामीले पाँच जनाको एक समूह बनाएर अनुगमन समिति पनि बनाएका छौँ । हालसम्म गलत क्रियाकलापको गुनासा आएका छैनन् । यदि कहिँकतै भएको पाइएमा होटल सञ्चालकलाई पहिलोपटक तत्काल पत्र काटेर ध्यानाकर्षण गराउने र दोस्रो चरणमा पनि गुनासो आएमा कानून अनुसार कारबाही गर्नेछौँ ।' 

नेपालको संविधानमा बालयौन दुराचारलाई मुलुकी अपराध संहिताको महिलाविरुद्ध हुने यौन दुर्व्यवहार विरुद्धको दफा २२४ को कसूर वा बालबालिकाविरुद्ध हुने दफा २२५ को बालयौन दुरुपयोगको कसूरसम्म मान्न सकिने उल्लेख छ । 

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गरिने ‘लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान’ बाट पनि पीडित महिलाका पीडा भने सम्बोधन हुने कुनै लक्षण नै देखिएको छैन । 

पीडितहरुको गुनासो छ, ‘हाम्रो सुरक्षाको दिवस रे । तर हामीसँग आइपुग्दैन । कसले पैसा जम्मा गर्छ । कहाँ कार्यक्रम गर्छ ? कसलाई कारबाही गर्छ केही थाहा छैन ।’  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ