arrow

कांग्रेस महासमिति बैठक

गगन–विश्वप्रकाश संयुक्त प्रस्ताव बनाउँदै, दबाब समयमै बैठक गर्न

महासमितिबारे छलफल गर्न शुक्रबार बस्दै कार्यसम्पादन समितिको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २८ बिहिबार
gagan-bishwaprakash-2080-08.jpg

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक आगामी पुस १६ देखि १९ गतेसम्म ललितपुरको गोदावरीमा बस्दैछ । यो बैठकमा विशेषगरी उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्ताव पेश गर्दैछन् । 

प्रस्ताव लेख्ने कार्यलाई महामन्त्रीद्वयले तीव्रता दिएको भए पनि उपसभापति खड्काले रक्षा मन्त्रालयकोसमेत जिम्मेवारी सम्हाल्नुपर्ने भएकाले अझै प्रतिवेदन लेखिनसकेको बताइएको छ । 

 प्रस्तावलाई अन्तिम रूप दिन गगन र विश्वप्रकाशबीच छलफलसमेत भएको छ । थापाले सांगठनिक र शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्दैछन् । 

तर दुवै प्रस्तावलाई संयुक्त बनाइ अन्तिम रूप दिन महामन्त्रीद्वयबीच छलफल भएको हो । यसले गर्दा दुवै नेताहरुले एक आपसमा प्रस्तावमा सुझाव दिएर अझ निखार ल्याउन सक्ने विश्वास गरिएको छ । 

संयुक्त प्रस्ताव पेश गर्दा यसले महामन्त्रीद्वयको टिम स्पिरिटलाईसमेत झल्काउने देखिन्छ । 

गत साउनमा बसेको पार्टीको केन्द्रीय समिति बैठकबाट छर्लङ्गै देखिएको गगन–विश्वप्रकाशको टिम स्पिरिटले जाजरकोटमा गएको भूकम्पले पारेको असर हेरेर सोही अनुसार सुझाव दिँदा पनि झल्किएको थियो । 

निरन्तरजसो महामन्त्रीद्वयले थप निखारता ल्याउने अभ्यासलाई जारी राखेका हुन् । र, महासमितिमा संयुक्त प्रस्ताव जाँदा त्यसले युवा कांग्रेसीहरुलाई थप उत्साह मिल्नेसमेत विश्वास गरिएको छ । 

महासमिति बैठक आउन अझै दुई साताभन्दा बढीको समय बाँकी छ । 

त्यसअघि शुक्रबार कार्यसम्पादन समितिको बैठक बस्दैछ । उक्त बैठकमा पुस १६ देखि बस्ने भनिएको महासमिति सार्नेसम्मको प्रस्ताव लगिने बताइन्छ । 

कार्यसम्पादन समितिको बैठकमा विशेषगरी सो दिन तीन ओटा अजेन्डा सार्वजनिक गरिएकामा महासमितिको तयारी भनेर एउटा विषय पारिएको छ । 

सर्छ कि समयमै हुन्छ महासमिति बैठक
विभिन्न चर्चा परिचर्चा हुँदा जाडोे मौसमलाई देखाएर यो समय पनि सारेर जाडो सकिएपछिमात्रै महासमिति गर्ने योजना बुनिरहेको बताइन्छ । 

तर आन्तरिक छलफलका क्रममा भने सभापति शेरबहादुर देउवाले आफूले महासमिति बैठक सार्न नखोजेको बताउने गरेका छन् ।

यो आधारमा उनले अरुलाई देखाएर समय सार्न खोजेको बुझिन्छ । तर संस्थापन पक्षकै एक नेताका अनुसार देउवा नै महासमिति सार्न खोजिरहेका छन् । 

उनले उल्टै प्रश्न गर्दै भने, ‘सभापतिज्यूले नभनी अरुले चाहेर सर्ने हो र ?’

हुन पनि सभापतिले नचाही संस्थापन पक्षले महासमिति सार्ने विषय नै उठाउन सक्दैन । फेरि पटक पटक विभिन्न बहानामा सरिसकेको छ । अब आएर फेरि पनि लामो समयका लागि बैठक सर्ने सम्भावना कम छ । 

महासमितिका अजेन्डाहरुका बारेमा अहिलेसम्म छलफल भएको छैन । शुक्रबारको बैठकमा सम्भवतः छलफल हुनेछ । तर यसबारे छलफल हुनुभन्दा सार्ने विषयमा छलफल हुने सम्भावना पनि देखिएको छ । 

संस्थापन इतर पक्षले भने समयमै हुनुपर्छ भनिरहेको छ । यसअघि पटक पटक सरेको भएकाले पनि अब जस्तोसुकै अवस्थामा पनि सर्न नहुनेमा एकजुट भएका छन् । 

तर जति नै दबाब दिए पनि देउवा जे चाहन्छन् त्यही हुन्छ । त्यसैले पनि सार्ने कि पुस १६ मै गर्ने भनेर देउवा दबाबमा छन् । 

 महासमिति बैठक गर्ने ठाउँको अभाव भनेर बैठक सार्ने कांग्रेसलाई महासमिति सार्न अनेक बहाना हुन सक्छन् । 

तर यसपटक भने अब समय सारेमा आफ्नै प्रतिष्ठामा आँच आउन सक्ने सम्भावना भएसँगै देउवाले समयमा गर्नुपर्छ भन्ने मनस्थिति त्यागेका छैनन् । 

यसअघि मंसिर १३ देखि १५ गतेसम्म गर्ने भनिएको बैठक दुई साता पर धकेलिएर मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । 

शुरुआती चरणमा हल नभएको कारण तथा त्यसपछि जाजरकोट भूकम्पका कारण बैठक सरेको थियो । त्यसपछिको बैठक कुनै बहाना नगरी सारिएको थियो । 

पुस १६ को बैठक सार्ने कुनै बहाना हुन नसक्ने गरी नै तोकिएको पनि भनिन्छ । तर यसमा सबै सभापतिमै भर पर्ने हुनाले पनि बैठकका विषयलाई लिएर देउवा चिन्तित भएको बुझिन्छ । 

बैठकका लागि उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले छुट्टाछुट्टै प्रतिवेदन पेश गर्दैछन् । 

महामन्त्रीद्धयको प्रतिवेदन सकिएको भए पनि सरकारका उपप्रधानमन्त्रीसमेत रहेका खड्काले अहिलेसम्म प्रतिवेदन नै नलेखेको बुझिन आएको छ । 

कस्तो छ महासमितिको तयारी ?
महासमितिको तयारी तीव्र रुपमा चलिरहेको निर्वाचन समिति सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले बताएका छन् । उनले १६५ मध्ये २४ क्षेत्रबाटमात्र महासमिति प्रतिनिधि चयन हुन बाँकी रहेको जनाएका छन् । 

उनले सबै क्षेत्रलाई मंसिर २० गतेभित्रै निर्वाचन गरेर महासमिति प्रतिनिधिको नामावली दिन भनेको भए पनि कुनै जवाफ नआएको प्रतिक्रिया दिएका छन् । 

त्यसैगरी केन्द्रको तयारी पनि तीव्र रुपमा भइरहेको पार्टी मुख्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए । 

उनले बैठक सर्ने भन्दा पनि समयमै गर्ने भनेर निरन्तर तयारी भइरहेको बताए । 

देशभरबाट महासमिति बैठकका लागि अढाई हजार महासमिति सदस्यहरु काठमाडौँ आउने छन् । महाधिवेशनपछिको शक्तिशाली बैठक हुने भएकाले पनि यसका लागि तँछाडमछाड हुनु स्वभाविकै हो । 

यो बैठकले केन्द्रीय कार्यसमितिको निर्वाचन बाहेक महाधिवेशनले गर्ने सबै कार्यहरू गर्न सक्ने वैधानिक व्यवस्था भएकाले पनि यसको महत्व निकै छ । 

यही बैठकले पार्टीको राजनीतिक कार्यदिशा तय गर्नेदेखि विधानसमेत फेरबदल गर्न सक्ने हैसियत राख्छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ