arrow

विश्वकै उच्च स्थानमा पाईने कर्णालीको डल्फीन हेर्न रहरै हुने

logo
प्रकाशित २०७२ मंसिर २८ सोमबार
dolphin-karnali.jpg.jpeg
यादव आचार्य, चिसापानी/कैलाली। बर्दिया र कैलाली जिल्लाको सीमानामा पर्ने कर्णाली नदी अतिक्रमणको चपेटामा पर्दा विश्वकै एकमात्र उच्च स्थानमा पाईने कर्णालीको डल्फीन संकटको अवस्थामा पुगेको छ। कर्णाली नदी तटीय क्षेत्र अतिक्रमणका कारण उत्सर्जित फोहरले कर्णालीका जलचर गंगेटिभ डल्फीन मात्र होईन बर्दिया राष्ट्रिय निकुञ्जका थलचर वन्यजन्तुलाई समेत असर पुगेको छ।
 
पश्चिम नेपालकै पर्यटकिय गन्तव्यको रुपमा परिचित कर्णाली चिसापानीको नदी तटीय क्षेत्र पछिल्लो समय अतिक्रमण हुन थालेपछि कर्णाली नदी तटीय क्षेत्रको जैविक विविधतामा चुनौती थपिएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका संयोजक हेमन्त आचार्यले वताए। 
 
बर्दिया र कैलालीको सीमानाका रुपमा अवस्थित कर्णाली क्षेत्र बर्दियाको नदी किनार तर्फ बर्दिया राष्ट्रिय निकुञ्जको संरक्षित क्षेत्र र कैलाली तर्फको नदी तटिय क्षेत्र धमाधम शहरीकरण हुन थालेपछि कर्णाली क्षेत्रको जैविक विविधता संरक्षणमा कठिनाई देखिन थालेको उनले प्रष्ट पारे। 
 
बजार क्षेत्रको बढ्दो विस्तार, घर तथा होटलहरुको अव्यवस्थित निर्माण र मानवबाट उत्सर्जित फोहर, ध्वनी प्रदुषण हुँदा विश्वकै उच्च स्थानमा रहेको डल्फीन संकटको अवस्थामा पुगेको उनी वताउँछन्। डल्फीनको आहारा प्रजाती कमी भै वासस्थानमा समेत अवरोध आएपछि हिजोआज डल्फीन हराउने क्रम बढेकोमा उनले चिन्ता व्यक्त गरे। 
 
कैलालीतर्फको नदी तटीय क्षेत्रको अतिक्रमणले वन्यजन्तुहरुको आवागमनमा समेत अवरोध पुग्ने गरेको उनले वताए। पहिले पहिले प्रशस्त माछा, चराहरु देखिने कर्णाली क्षेत्रमा हिजोआज ती प्रजाती देखिन छाडेको वताउँदै उनले थपे नदी प्रदुषण, माछाको चोरी शिकार तथा कोलाहलका कारण त्यस क्षेत्रका चरा प्रजातीमा समेत असर पुगेको छ। 
 
नदीमा फ्याकिएका प्लाष्टिकजन्य फोहरका कारण बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुलाई समेत असर पर्ने गरेको उनले वताए। जलचर प्रजातीको समेत विनास हुने सम्भावना वढेर गएको छ भने त्यस क्षेत्रको अतिक्रमणबाट निर्माण गरिएका संरचना लगायत नदी प्रदुषण कार्य तत्काल रोक्नु पर्ने आचार्यले वताए। 
 
कर्णाली चिसापानी क्षेत्र पश्चिम नेपालकै प्राकृतिक मनोरम बोकेको पर्यटकिय क्षेत्र हुनाले पनि जैविक विविधताको प्रशस्त मिश्रण रहेकाले विश्वमै पहिचान वनाएको कर्णाली चिसापानी क्षेत्रको जैविक विविधता संरक्षण र बढ्दो अतिक्रमण रोक्न सरकारले समयमै कदम चाल्नु पर्ने स्थानियहरु वताउँछन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ