arrow

कृषिक्रान्तिमा सन्तोषीः ऋण लिएर बाह्रैमास तरकारी खेती

logo
नारायण वली,
प्रकाशित २०८० पुष १० मंगलबार
tharu2.jpg

लुम्बिनी । बर्दियाको बढैयाताल गाउँपालिका-५ कि सन्तोषी थारुलाई कोही कसैसँग भेट्न र कुरा गर्न फुर्सद छैन । बिहानदेखि बेलुकासम्म खेतबारीमा भेटिने उनी तरकारीको हेरचाहमा तल्लिन हुन्छिन् । तीन बिगाह क्षेत्रफल जग्गा लिजमा लिएर कृषिक्रान्तिको नमूना देखाएकी उनी सफल कृषकको रुपमा आफूलाई स्थापित गर्न पुगेकी छिन् । नेपाल कृषि प्रधान देश भनेर चिनिएपनि दैनिक भारतबाट तरकारी आयात हुन्छ । यता नेपाली मुद्रा बाहिरिने मात्रै होइन, खेतीयोग्य जमीन बाँझो हुँदै गएका छन् । 

बेरोजगारको विकल्प खोज्न यतिबेला नेपाली जनशक्तिहरु दिनहुँ विदेशिँदै गएका बेला सन्तोषीले नेपालमा गरे के सम्भव छैन ? भन्ने जिज्ञासालाई चिर्दै आएकी छिन् ।

पाँच बिगाह जग्गा लिजमा लिएर आलु, प्याज, खुर्सानी र काउलीलगायत मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने लक्ष्यका साथ अगाडि बढेकी थारुको बारीमा अहिले टमाटर, खुर्सानी, बन्दागोभी लटरम्मै छन् । उनलाई यो कर्मले सफल कृषिक्रान्ति लेडीको रुपमा रुपमा चिनाएको छ । 

साना किसान सहकारी संस्था मैनापोखरबाट ११ लाख ५० हजार ऋण लिएर बाह्रैमास तरकारी उत्पादनमा लागेकी सन्तोषीले आफुमात्रै तरकारी बारीमा भेटिँदैनिन्, अन्य १५ जना स्थानीय महिलाहरुलाई समेत रोजगारमा जोडेकी छिन् । समाजमा महिलाहरुले केही गर्न सक्दैनन् भन्ने सोचलाई कृषिक्रान्तिमा उदाएर स्वदैमै उत्पादन र उत्पादित कृषिजन्य वस्तुको उपभोग गर्न लाग्नुपर्छ भन्ने उद्देश्यले तरकारी खेतीमा लागेको बताउँदै कृषक थारुले आर्थिक रुपमा पनि अब्बल बन्न सकिने बताइन् । कृषिमा लागेकी थारुलाई घरका सदस्य सासू, ससुरा र श्रीमानको पनि राम्रो सहयोग मिलेको छ। 

कृषि क्षेत्रमा राज्यको भूमिका गैरजिम्मेवार भएको अवस्थामा उत्पादित वस्तुको बजारीकरण, उन्नत बीउ, प्राङ्गारिक एवं रासायनिक मल र सिँचाइको समस्याका बाबजुद आफ्नै लगानीमा लागेकी थारुले अझै डेढ बिगाह जग्गा थपेर कुल ५ बिगाहमा तरकारी खेती गर्ने योजना रहेको सुनाउँछिन् ।

उनले उत्पादन गरेको तरकारी बाँकेको नेपालगन्ज, कोहलपुर र स्थानीय बजारमा खपत हुँदै आएको कृषक थारुको भनाइ छ । भारतीय बजारबाट आयातित तरकारीको मुल्यले प्रभाव पारे पनि नेपालमै आफूले उत्पादन गरेको तरकारी खपत गर्ने ग्राहकहरु भइसकेकाले वार्षिक १५ लाख बढीको तरकारी बेच्दै आएको बताइन् । सोही पेशाबाट घरपरिवार चलाउँदै आएको उनले सुनाइन् ।

२०७२ सालदेखि एकल रुपमा तरकारी खेतीमा लागेकी उनको संघर्षको कथा कम्ती पीडादायी छैन । उमेरले ३० वर्ष पुगेकी थारु भन्छिन्,  'श्रीमानको ल्याब थियो, मेडिकल चलेन, खर्च चलाउन गाह्रो भयो । ससुरा बुवाले पहिलेदेखि ९ कठ्ठा क्षेत्रफलमा गरेको तरकारी खेती पनि छ भन्ने मात्रै भयो । सोही बेला गाउँमा यूएसआईडी मार्फत् किसान परियोजना वान आयो, त्यसको प्रमुखमा सुशीला चौधरी हुनुहुन्थ्यो, उहाँको प्रोत्साहन र प्राविधिक सहयोग अनुकरणीय रह्यो ।' सोही कारण आफूलाई व्यावसायिक खेतीमा लाग्न प्रेरणा मिलेको कृषक थारुले बताइन् । 

तरकारी खेतीबाट ७ जना परिवार धानेकी थारु पछिल्लोसमय गाउँमा एउटा समूह नै तयार गरेर हाल बढैयाताल हरियाली कृषक समूहकी अध्यक्षसमेत बनेकी छिन् ।

उनी भन्छिन्, टनेल निर्माण गर्न नसक्दा बर्सात् जाडोयाम र असिना पानीले क्षति पुर्याउने गरेको दुखेसो पोख्दै कुनैपनि सरकारी स्तरबाट सहयोग नपाएको बताउँदै खेर जाने तरकारीलाई व्यवस्थापन गर्न सकेमा दुःख गरेको लगानीलाई सुरक्षित गर्न सकिन्थ्यो । सहयोग पाएमा टमाटरबाट सस बनाउने उद्योग खोलेर टमाटरलाई थप व्यवसायीकरण गर्ने जाँगर चल्ने थियो । 

वार्षिक १ लाख ३० हजार रुपैयाँ जग्गा भाडा तिरेर तरकारी खेतीमा कम्मर कसेकी उनलाई सरकारी स्तरबाट कुनै सहयोग एवं सहुलियत नमिलेको गुनासो सुनाइन् ।

साना किसान सहकारीमा आएक एक जना कृषि विज्ञको सहयोगले अहिले आफैले बिँउ उत्पादन गरेर खेती गर्दै आएको बताइन् । उनले भनिन्, 'आज बीउमा लगानी हुने पैसा जोगिएको छ । केही थोरै मात्रामा बीउ किन्छौँ, अरु सबै घरमा तयार गर्दै आएका छौँ ।'

वडा कार्यालयबाट वितरण भएको बीउ एकपटक मात्रै निःशुल्क रुपमा पाएको उनले जनाइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ