arrow

लुम्बिनी एक्स्पो स्टल व्यापारीको दुखेसो: कमाई भन्दा गुमाइ हुने भयो

logo
नारायण वली,
प्रकाशित २०८० पुष १३ शुक्रबार
mela1.jpg

लुम्बिनी । बुटवलमा पुस ५ गतेदेखि लुम्बिनी एक्स्पो २०८० जारी छ । रुपन्देही व्यापार सङ्घले आयोजना गरेको मेला प्रदर्शनी केन्द्रमा चल्दै आएको छ । स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार भन्ने नारा राखेर आयोजना गरिएको महोत्सवमा १० लाख दर्शकहरूले अवलोकन गर्ने र ५० करोड बरावरको कारोबार गरिने आयोजकको लक्ष्य छ । बुटवलमा हरेक वर्षको पुसमा लाग्ने महोत्सवलाई विशेषरुपमा लिने गरिन्छ । तर पछिल्लो समय मेला महोत्सवमा मानिसहरूको उपस्थिति पातलो हुँदै गएको देखिन्छ । महोत्सवको आयोजना विस्तार हुँदै जानु र नौलो केही नभएका कारण औचित्य गुम्दै गएको टिप्पणी सुनिन्छ । 

बिहीबार यस्तै टिप्पणीका सुस्केरा सुनिन्थे । लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेलामा राखिएका विभिन्न प्रकारका स्टलधनिहरुको एउटै गुनासो थियो, व्यापार छैन, किन साँझसम्म बसेर चिसो खानु बन्द गरेर घर जाऊँ । यस्तै दुखेसोका आवाज सुनिएको थियो, चौथो लाइनमा । व्यापारीहरूका मुहारमा खुसीको कुनै चमक देखिन्थ्यो । कतिपय व्यापारीहरू स्टलमा बसेर ग्राहकको पर्खाइमा थिए, त कोही बोलाउँदै थिए । उक्त दृश्य देख्दा यस्तो लाग्थ्यो कि, उनीहरू व्यापार नभएर नैराश्यतामा थिए ।

मेलामा किनमेल गरेर फर्किँदै गरेकी चन्दा बस्नेतले भनिन् सामानहरू सस्तोमा पाइन्छ कि भनेर आएको थिए, हाटबजारमा भन्दा पनि महँगो रहेछ । मैले मेरो श्रीमानको लागि पाइन्ट किन्न तीन वटा स्टलमा गए हाटबजारमा १ हजार २ सयमा पाइने त्यही पाइन्टलाई १ हजार ८ सय भने । सबै स्टलहरूमा घुमे फाइबर सिरक र महिलाहरूले प्रयोग गर्ने प्याडभन्दा अन्य सामानहरूको मूल्य आकासिँदो छ । 

अर्का अवलोकनकर्ता नवसुजित भण्डारीले भन्छन्, जाडो चढेको छैन, अधिकांश जाडो सामानका स्टल छन्, बुटवलको हाटबजारमा यहाँ भन्दा सस्तो हुन्छ सामान, पिङ खेल्न पहिले जस्तो मेला नै कुर्न पर्दैन बन बाटिका र फूलबारीमा मन लाग्दा खेल्न पाइन्छ, त्यसैले अबको मेलाको औचित्य के रहने पुष्टि गर्नुपर्ने अवस्था छ । सांस्कृतिक कार्यक्रममा एउटा कलाकारले देश भरी दिने प्रस्तुति एउटै हुन्छ र एउटा मेला लाग्ने बित्तिकै त्यो युट्युबमा आइहाल्छ जुन गीत सुन्ने हो पहिले जस्तो क्यासेट किन्नै पर्दैन । मेला भन्दा रमाइलो विना पैसामा शनिबार नगरपालिकाको गेट अघिबाट बजारमा छिरेर टेलिकमतिर निस्कने अनि फूलबारी गएर पिङ खेल्दा हुन्छ भन्ने भैरेको अनुभव रहेको बताउँदै अब मेलाहरू नवीन सोच, नयाँ विजेनस आइडियाको ईन्कुबेसन, नवीन उत्पादन र बजारीकरण तर्फ लाग्नु पर्ने सुझाव दिए । उनले भने नाईन्टिन फाउन्टिनको कन्सेप्टले बुटवलमा पुस महिनामा लाग्ने मेला भन्ने प्रचारले मात्रै टिक्दैन, चल्दैन भन्ने भैरेको ठम्याई हो । 

स्थानीय समाजसेवी तथा जानकार गिरीप्रसाद पुनले सरकस पिङवालालाई भन्दा अरूलाई फाइदा नभएको भन्दै पुरानै शैलीले अब लाग्ने मेलाहरू चल्न चुनौती रहेको उल्लेख गरे । बुटवलका एक व्यवसायी इन्द्र श्रेष्ठले मेलामा न सस्तो, नयाँ, स्वदेशी उत्पादन, उहीँ चाइना र ईन्डियाका उत्पादित वस्तुको दबदबा छ।जहिले बाहिर देखेका किनेका खाएका मात्रै छन् अनि व्यापार कसरी होस ? भनेर गुनासो गरे । 

यता रुपन्देही व्यापार सङ्घका अध्यक्ष तथा मेला आयोजक मूल समितिका संयोजक कृष्ण घिमिरेले समय अनुसार व्यापार ठिकै भएको बताए । मेला प्रचारप्रसार समितिका संयोजक फर्सुराम पन्तले पनि अवलोकनका लागि दैनिक दर्शकहरूको भिड बढ्दै गएको दाबी गर्दै मेलामा ६ सय स्टलहरू राखिएको जनाए । ८ दिनमा २ लाख भन्दामाथि दर्शकहरूले मेलाको अवलोकन गरेको आयोजक संस्था रुपन्देही व्यापार सङ्घले जनायो भने आर्थिक कारोबार बारे एकमुस्ट जानकारी गराउने बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ