arrow

राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा तीन सिटमा चुनाव हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
upper-house2.jpg

कास्की । राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८० अन्तर्गत गण्डकी प्रदेशमा तीन सिटमा निर्वाचन हुने भएको छ । आगामी माघ ११ गते हुने निर्वाचनमा गण्डकी प्रदेशमा दुई सय ३० जना मतदाता रहेका छन् । निर्वाचनको तयारीका लागि प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

यसैगरी अन्तिम मतदाता नामावली प्रकाशनलगायत तयारी काम अघि बढाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गण्डकीमा कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश ऋषिराम आचार्य निर्वाचन अधिकृत तोकिएका  छन्  ।

राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिना, राष्ट्रिय सभा सदस्यद्वय दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिन लागेकाले तीन सिटमा चुनाव हुन लागेको हो ।

 तिमिल्सिना अन्य, गुरुङ महिला र पन्थ अपाङ्गता/अल्पसङ्ख्यक समूहबाट निर्वाचित भएका थिए । अध्यक्ष तिमिल्सिना र गुरुङ नेकपा (एमाले) र पन्थ कांग्रेसबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए ।

निर्वाचनको उम्मेदवार मनोनयन नजिकिँदै गरेकाले दलहरू उम्मेदवार छनोटमा लागेका छन् । नेपाली कांगेस, नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)ले जिल्ला तथा प्रदेशबाट आकाङ्क्षीहरूको नामावाली पार्टी केन्द्रमा सिफारिस गरिसकेका छन् । यही पुस २३ गते उम्मेदवार मनोनयनको कार्यतालिका रहेको छ ।

गण्डकी प्रदेशमा प्रदेशसभाका ६० र स्थानीय तहका एक सय ७० गरी दुई सय ३० जना मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको छ । प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कुल छ हजार चार सय १० मतभार छ ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका प्रदेशसभाका २७ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७ जना मतदाता रहेका छन् । कांग्रेसको कुल मतभार दुई हजार सात सय चार रहेको छ । 

नेकपा (एमाले)का २२ प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ६८ जना रहेका छन् । एमालेको जम्मा मत भार दुई हजार चार सय ५८ हुन आउँछ । 

माओवादी केन्द्रका प्रदेशसभा सदस्य आठ र स्थानीय तहका प्रमुख–उपप्रमुख ३० गरी कुल नौ सय ९४ मतभार छ । प्रदेशमा नेकपा (एकीकृत समाजवादी)का एक प्रदेशसभा सदस्य र एक नगरप्रमुख गरी समाजवादीसँग ७२ मत भार छ ।
 
गण्डकी प्रदेशसभामा दुई सदस्य रहेको राप्रपाको एक सय छ मत भार छ । राष्ट्रिय जनमोर्चाको स्थानीय तहका प्रमुख–उपप्रमुख गरी तीन जना रहेकाले ५७ मतभार छ । 

मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्रबाट जितेका हुन् । उनको मतभार १९ छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ