arrow

राष्ट्रिय सभा निर्वाचनपछि एमालेको शक्ति कमजोर हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
Parliament_building.png

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनपछि संसदमा एमालेको शक्ति कमजोर हुँदैछ । लोकतान्त्रिक वाम गठबन्धन सहितको प्यानलले एकलौटी रुपमा २० सांसद जित्ने अवस्था आएपछि संसदमा एमालेको उपस्थिति कमजोर देखिने भएको हो । 

आगामी फागुनमा राष्ट्रिय सभाका २० सांसदको पद रिक्त हुँदैछ । जसमध्ये सबैभन्दा धेरै एमालेबाट नौ पद रिक्त हुँदैछ । निर्वाचित आठ र राष्ट्रपतिबाट मनोनयनमा परेका एकसहित नौ पद रिक्त हुन लागेको हो । 

राजनीतिक समीकरण मिलेमात्र अब एमालेबाट सांसद निर्वाचित भएर आउने छन्, नत्र आगामी माघ ११ गते हुने निर्वाचनमा यस पार्टीबाट एक जना पनि निर्वाचित हुने अंक गणित छैन । 

आगामी फागुन २० गते पदमुक्त हुने सांसदमा १९ निर्वाचितमध्ये एक स्वतन्त्र छन् भने एक सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने रहेका छन् । 

फागुन २० मा पदावधि सकिने सांसदमा एमालेबाट सुदूरपश्चिम प्रदेशबाट इन्दु कडरिया र लुम्बिनी प्रदेशबाट कुमार दसौदी छन् । लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि भएको उपनिर्वाचनबाट दसौदी निर्वाचित भएका थिए । 

भट्टराई प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि राजीनामा दिएर बिदा भएका थिए तर उनको उम्मेदवारी कायम भएन । 

त्यस्तै एमाले सांसदमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिना, दिपा गुरुङ, बागमती प्रदेशबाट दिलकुमारी रावल थापा (पार्वती), कर्णाली प्रदेशबाट नरपति लुवार, कर्णाली प्रदेशबाट भैरवसुन्दर श्रेष्ठ, बागमती प्रदेशबाट रामचन्द्र राई छन् । 

त्यस्तै नेपाली कांग्रेसका चार जनाको पद रिक्त हुँदैछ । जसमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा, मधेस प्रदेशबाट जितेन्द्रनारायण देव, गण्डकी प्रदेशबाट प्रकाश पन्थ र कोशी प्रदेशबाट रमेशजंग रायमाझी छन् । 

फागुनमा पदावधि सकिने माओवादी केन्द्रका सांसद तीन जना छन् । सुदूरपश्चिम प्रदेशबाट महेशकुमार महरा, कोशी प्रदेशबाट विना पोखरेल र सुदूरपश्चिमबाट हरिराम चौधरी छन् ।

यसैगरी नेकपा एकीकृत समाजवादीका नन्दा चपाई र सिंहबहादुर विश्वकर्मा छन् । चपाई कर्णाली प्रदेशबाट र विश्वकर्मा बागमती प्रदेशबाट निर्वाचित हुन् । 

मधेस प्रदेशबाट पद रिक्त हुनेमा जनता समाजवादी पार्टीकी प्रमिला कुमारी, बागमती प्रदेशबाट स्वतन्त्र सांसद खिमलाल देवकोटा छन् । 

माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादललाई पार्टीले कारबाही गरेपछि रिक्त पदमा भएको निर्वाचनबाट देवकोटा निर्वाचित भएका थिए । 

संविधानको व्यवस्था बमोजिम राष्ट्रपतिबाट मनोनित विमला पौड्याल राईको पनि पदावधि सकिँदै छ । 

राष्ट्रिय सभाका सदस्यको पदावधि ६ वर्षको हुने र एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था संविधानमा छ । 

जसअनुसार संविधान प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष सकिएर नयाँ सदस्य आइसकेका छन् । 

बाँकी एक तिहाइ सदस्यको छ वर्षको पदावधि पनि फागुनमा सकिन लागेको हो । सत्ता साझेदार दलहरुबीच भएको आन्तरिक गठबन्धनले निर्वाचनपछि माओवादी केन्द्र पहिलो दल बन्नेछ । 

त्यसपछि कांग्रेस दोस्रो र समाजवादी र एमाले बराबरीमा पुग्नेछन् । अहिले गठबन्धन दलका नेताहरुसहित उम्मेदवारहरु कार्यक्षेत्रमा मत माग्न व्यस्त रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ