- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
यो साताका शुरुआती तीन दिनमै देशमा भएका सडक सवारी जोखिममा परी २० जनाको ज्यान गयो । तीमध्ये चन्द्रागिरीको उकालोमा निजी गाडी चिप्लिँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा सडक जोखिममा परी वर्षमा १३ लाख ५० हजार मानिसको ज्यान जान्छ । सडक सवारी जोखिम विश्वमा मानिसको ज्यान जाने १० मध्ये आठौँ कारण मानिन्छ ।
करिब ५० लाख घाइते हुन्छन् । यसका लागि हाल विश्वले वार्षिक एक हजार आठ सय अर्ब अमेरिकी डलर क्षति बेहोर्दै आएको छ ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार नेपालमा गत वर्ष भएका सडक सवारी जोखिममा परी दुई हजार ८८३ जनाको ज्यान गएको र १२ हजार घाइते भएका थिए ।
संयुक्त राष्ट्र संघका अनुसार नेपालमा सडक जोखिममा परी घाइते हुनेको उपचार, धनजनको क्षति र ज्यान गुमाउनेका घरपरिवारका सदस्यहरुले भोग्नुपर्ने समस्याको मूल्य करिब दुई अर्ब ४६ करोड अमेरिकी डलर अर्थात् झण्डै साढे दुई खर्ब रुपैयाँ पर्दछ ।
नेपाल सरकारले आगामी सन् २०३० भित्र सडक जोखिममा परी ज्यान गुमाउने र घाइते हुनेको संख्या आधा घटाउने अन्तर्राष्ट्रिय समुदायबीच प्रतिबद्धता जनाए पनि हालसम्म यस सम्बन्धी कानून नै बन्न सकेको छैन । यस विषयलाई सहश्राब्दी विकास लक्ष्यमा पनि समावेश गरिएको छ ।
सडक यातायात सुरक्षा एक गम्भीर विषय हो । सरकारका निकायहरुको संयोजनको कमीका कारण यस क्षेत्रमा खास काम हुन सकेको छैन ।
सडक जोखिम मानवीय त्रुटिका कारण हुने समस्या हो र यसलाई घटाएर शून्यमा झार्न सकिन्छ भन्ने अवधारणा छ । यस अवधारणालाई ‘सेफ सिस्टम अप्रोच’ का नामले चिनिन्छ ।
यस अप्रोचको प्रयोगबाट नेदरल्यान्ड्स, नर्वे जस्ता विकसित मुलुकले सडक जोखिममा ज्यान गुमाउने तथा घाइते हुनेको संख्यामा ७५ प्रतिशतले कमी ल्याएका छन् ।
यसको मूख्य आधार भनेको मानिसको व्यवहारमा सुधार हो । यसबाट उनीहरुको आर्थिक क्षतिमा पनि ३० प्रतिशतले सुधार आएको तथ्यांक छ । त्यस्तै न्यूजिल्यान्डको राजधानी अकल्यान्डको एउटा चोकमा मानिसहरुले बाटो काट्न ढिलाइ हुँदा देशलाई ३१ लाख अमेरिकी डलर क्षति भएको अर्को तथ्यांक छ ।
सडक प्रयोगकर्ताको व्यवहारमा सुधार गर्नु पहिलो खुड्किलो हो, त्यस्तै बस्ती विकास तथा शहरी विकास योजना, सुरक्षित सडक, सुरक्षित सवारी साधन, सुरक्षित सडक प्रयोगकर्ता र दुर्घटनापछि अत्यन्त छोटो समयमा गरिनुपर्ने उद्दार तथा स्वास्थोपचार यसका मूख्य विषय हुन् । यस्ता विषयमा हाम्रो देशमा खास ध्यान दिइएको छैन ।
अध्ययनहरुले देखाएअनुसार एउटा वयष्क मानिस ३० किलोमिटर प्रतिघन्टा वा सोभन्दा कम गतिमा दौडिएको सवारी साधनले ठक्कर दिएमा उसको बाँच्ने सम्भावना निकै नै बढी हुन्छ ।
यदि २८ किमी प्रतिघन्टाको गतिमा रहेको सवारीले ठक्कर दिएमा सो मानिस बाँच्ने सम्भावना ९९ प्रतिशत रहने अध्ययनहरुले देखाएका छन् ।
त्यस्तै सवारी गति जति बढ्दै जान्छ त्यसमा ठोक्किने मानिसहरुको बाँच्ने संभावना कम हुँदै जान्छ । विश्व स्वास्थ्य संगठनको अगुवाइमा अन्य संघसंस्थाहरुले गरेको अध्ययन अनुसार यदि सवारीको गति ५० किलोमिटर प्रतिघन्टाको आसपास भए ठक्कर पाउनेको ज्यान जाने संभावना ५० देखि ८० प्रतिशतसम्म रहन्छ ।
सडक सुरक्षासम्बन्धी अध्ययनका २० ओटा प्रतिवेदनमाथि गरिएको विश्लेषण अनुसार सवारी साधनको गति ३० किलोमिटर प्रतिघन्टाभन्दा माथि बढ्दै जाँदा हरेक एक किलोमिटर गति वृद्धिका अनुपातमा ठक्कर खाने मानिसको मृत्यु हुने सम्भावना ११ प्रतिशतले वृद्धि हुन्छ ।
यही तथ्यलाई मध्यनजर गरी पैदलयात्रीको भीडभाड हुने ठाउँमा सवारी गति ३० किलोमिटरमात्र तोकिएको छ ।
हाम्रो जस्तो देशमा दुई पाङ्ग्रे साधन नै मानिसको पहिलो रोजाइ बन्दछ । विश्वमा सबैभन्दा बढी मानिसको ज्यान लिने सवारी साधन पनि दुई पाङ्ग्रे नै हुन् ।
काठमाडौँका अस्पतालहरुमा गरिएको एक अध्ययनअनुसार दुई पाङ्ग्रेका सवारी प्रयोगकर्ताले हेलमेट प्रयोग गर्न बेवास्ता गर्दा अधिकांशको टाउकोमा चोट लागेको पाइएको थियो ।