arrow

नेपालबाट निष्काशित हुने विदेशीमा चिनियाँ बढी, भिसा बिना बस्ने र आपराधिक गतिविधिमा संलग्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २४ बुधबार
tribhuvan-international-airport-2079-08-04.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालबाट निष्काशनमा पर्ने विदेशीहरूमा सबैभन्दा बढी चिनियाँ रहेका छन् । अध्यागमन विभागको विवरणअनुसार सन् २०२३ मा नेपालबाट निष्काशित हुने सबैभन्दा बढी चिनियाँ हुन् । 

सन् २०२३ मा ४५८ जना विदेशी नागरिक निष्काशनमा परेकामा चिनियाँको संख्यामात्रै २०९ रहेको छ । उनीहरू सबैले अध्यागमन कानून मिचेका हुन् । नेपालमा आएर बिना भिसा नेपालमा बस्ने र अपराधमा संलग्न विदेशीहरू निष्काशनमा पर्दै आएकामा सबैभन्दा बढी चिनियाँ रहेका हुन् । 

जसमा एक सय ९० जना ओभर स्टेमा परेका हुन् । आठ जना वैदेशिक मुद्रा तस्करी, चार जना लागुऔषध, तीन जना संगठित अपराध, दुई जना राजस्व छली तथा ठगी र अपहरणमा संलग्न एक–एक जना हुन् । 

चिनियाँको आपराधिक जालो विस्तारै बढ्दै गएको छ । नेपालमा पहिलो कुरा त अनुसन्धान कम हुने गरेको छ । यदि भैहाल्यो भने चिनियाँको संख्या बढी नै हुने अनुसन्धानकर्ताहरू बताउँछन् । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को एक स्रोतका अनुसार चिनियाँका हरेक गतिविधि शंकास्पद हुने भएकाले गहिरो निगरानी भइरहेको छ । उनीहरू विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहने गरेको पाइएको हो । 

पछिल्लो समय ६० किलो अवैध सुन तस्करी प्रकरणमा पनि चिनियाँ नागरिकहरू मुछिएका छन् । यो अनुसन्धान सबैको दबाबमा भएको हो । 

यस्तै दबाबपूर्ण अनुसन्धान गर्दै जाने हो भने आपराधिक जालोमा अझ बढी चिनियाँहरूको संलग्नता खुल्दै जानेसमेत सीआईबी स्रोत बताउँछ । स्रोत भन्छ, ‘विदेशमा भएका कुनै पनि लिंकमा चिनियाँको संलग्नता प्रत्यक्ष–परोक्ष बढेकै छ । यसले नेपालमा थप थ्रेट दिएको छ ।’

नेपाल प्रहरी र सशस्त्र प्रहरीले गहिरिएर यसको अध्ययन गरिरहेको छ । त्यसो त नेपाल प्रहरीका नवनियुक्त प्रवक्ता डीआईजी भीम ढकाल भने चिनियाँ नागरिकहरूको अवैध गतिविधि बढेको नेपाल प्रहरीलाई जानकारी नभएको बताउँछन् । यद्यपि उनले भने, ‘अवैध गतिविधि गर्ने छुट कुनै पनि मुलुकका नागरिकलाई छैन । शंकास्पद गतिविधि देखिए कानून बमोजिम प्रकृया शुरु हुन्छ ।’ 

त्यस्तै सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापा अवैध गतिविधिमा संलग्न कसैलाई पनि छुट नहुने बताउँछन् । 

उनले भने, ‘अनुमति लिई नेपालको जुनसुकै भागमा कुनै पनि विदेशी नागरिकलाई घुमफिरमा रोक छैन तर अवैध गतिविधिमा संलग्न हुने छुट छैन । सशस्त्र प्रहरीको कार्य सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्ने हो, त्यसमा हाम्रो फौज सधै सजग छ, यसमा कमजोरी छैन ।’

डीएसपी थापा अगाडि भन्छन्, ‘कानूनी रूपमा नेपाल आएकाहरूलाई कोही कसैले अवरोध गर्न मिल्दैन, साथै नेपालभित्र बसेर जुनसुकै मुलुकका नागरिकले पनि शंकास्पद गतिविधि गर्ने छुट नेपालको कानूनले दिएको छैन ।’ 

प्रहरी स्रोतका अनुसार चिनियाँहरू काठमाडौँ उपत्यका भन्दा बाहिर गएरसमेत विभिन्न सञ्जाल स्थापित गरिरहेको पाइएको छ । 

को कहिले कति निष्काशित ? 
नेपालले २०२३ मा ४५८ जना विदेशी नागरिकलाई निष्काशन गरेको छ । जसमा ५६ देशका नागरिक हुन् । अध्यागमन कानून मिचेर बिना भिसा बस्ने वा  तथा नेपालमा आएर अपराधमा संलग्न विदेशी नै निष्काशनमा पर्ने हुन् । 

त्यो वर्ष ४५८ मध्ये २०९ जना चिनियाँ निष्काशनमा परेका हुन् । दोस्रो स्थानमा अमेरिकी नागरिक परेका छन् । ३७ जना अमेरिकी हुन् । तर तिनीहरू अधिकांश नेपाली मूलका हुन् । उनीहरू नेपालमा बढी समय बसेरै कारबाहीमा परेका हुन् । 

तेस्रोमा बंगलादेश, चौथोमा उज्वेकिस्तान र पाँचौँमा बेलायती नागरिक कारबाहीमा परेका छन् । 

सन् २०२२ को आँकडा–
सन् २०२२ मा पनि सबैभन्दा धेरै चिनियाँ नै निष्काशनमा परेका थिए । नेपालबाट साढे पाँच सय भन्दा बढी विदेशी नागरिकलाई निष्काशन गरिएको थियो । 

त्यसरी निष्कासनमा परेका विदेशीहरू तीन दर्जनभन्दा बढी देशका हुन् । सन् २०२२ मा नेपालबाट कुल ५६४ जना विदेशी नागरिकहरू निष्काशनमा परेकामा ५०४ जना भिसा अवधि सकिएर पनि नेपालमा बिना भिसा बसोबास गरिरहेकाहरू हुन् । 

६० जना विभिन्न कसूरमा सजाय पाएका व्यक्तिहरू रहेका थिए । विभागको विवरण अनुसार ५६४ मध्ये १९० जना चिनियाँ नागरिकहरूलाई नेपालबाट निष्काशन गरिएको थियो । 

चिनियाँपछि ४४ जना अमेरिकी हुन् । त्यस्तै बेलायतका ३०, फ्रान्सका १९ र क्यानडाका १७ जना हुन् । 

दुई वर्षको आँकडा हेर्दा पनि अवैध रूपले नेपालमा बसेर चिनियाँहरूले अवैध काम गरेको पछिल्ला घटनाक्रमहरूबाट पनि स्पष्ट हुन सकिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ