arrow

सधै चुनावी भर्‍याङ बन्ने टरिगाउँ विमानस्थल

logo
नारायण वली,
प्रकाशित २०८० फागुन १ मंगलबार
tarigaun airport.jpg

लुम्बिनी । कुनै पनि समयमा होस् जब चुनावको माहोल तातिन थाल्छ अनि एयरपोर्टको चर्चा चुलिन्छ ।भाषण र घोषणापत्रमा आश्वासन हुन्छन्, जहाज ल्याउँछौँ, जिल्लाबासीलाई अब काठमाडौँ जान सहज बनाउँछौँ । चुनावअघि नारा बनेर घन्किने एयरपोर्टको नाम चुनावपछि हराउँछ । त्यो एयरपोर्ट हो, २०११ सालमा निर्माण भएको दाङको टरिगाउँ एयरपोर्ट । निर्माण भएपछि विमान उडेको उक्त विमानस्थल लामोसमय गौचरण र झाडीमा परिणत बन्यो । 

तुलसीपुर उपमहानगरपालिकास्थित रहेको टरिगाउँ विमानस्थल नेपालकै दोस्रो पुरानो मानिन्छ। चुनावताका दलहरुको अजेण्डा बन्ने विमानस्थल चुनाव जित्ने भर्‍याङको रुपमा प्रयोग हुँदै आएको छ । निर्वाचनमा नेताहरुको प्राथमिकतामा पर्ने विमानस्थल विजयी भएकाले बिर्सिन्छन् भने पराजय भएका उम्मेदवार नेताहरुले चासोसमेत नराखेको पाइएको छ । जुन चुनावी फण्डा विगतदेखि वर्तमानसम्म चल्दै आएको छ ।

सो विमानस्थलमा बेलाबेलामा जहाज आउने गरे पनि इन्धन डिपो नभएको कारण देखाउँदै लामो समय उडान नहुने र इन्धन बोकेरै जहाज उडाउँदा घाटा लाग्ने भनेर अनियमित भएको उडानलाई नियमित गर्न इन्धन डिपौ नै सञ्चालनमा ल्याउँदा पनि विमानस्थल बेकामे जस्तै बन्न पुगेको छ । 

उक्त विमानस्थलको स्तरोन्नति गर्नुपर्ने संघीय संसदमा दाङ क्षेत्र न ३ का संघीय सांसद दिपक गिरीले राखे पनि प्रभावकारी देखिएन । यता सोही क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित भएका डिल्लीबहादुर चौधरीको चुनावी नारामा नै परेको विषय ओझेलमा परेको छ ।

सांसद चौधरी हाल प्रदेशको मुख्यमन्त्री बनेका छन् । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरीले पनि टरिगाउँ विमानस्थललाई निर्वाचनमा मत बटुल्ने नारा नबनाएका भने होइनन् । यस विषयमा तुलसीपुर उपमहानगरका नगरप्रमख र उपप्रमुखले संघीय मन्त्रालयमा धाईरहेको जस्तो देखिए पनि मन्त्रालय धाउने भन्दा अरु प्रगति भएको देखिएको छैन । 

निर्वाचनका बेला जिल्लाको विकासका लागि जनाइएका घोषणा पत्रका बुँदाहरुलाई प्राथमिकतामा नपार्ने, जनता झुक्याउने खेलमा लाग्ने नेताहरुलाई नागरिकले खबरदारी मात्रै होइन अब कडा कदम चाल्नुपर्ने र जनताको आवश्यकताको विषयमा जहिलेसम्म जिम्मेवारी वहन गर्ने सवालमा जनप्रतिनिधिहरुले तदारुकता देखाउँदैनन् तबसम्म अब आफ्नै जनप्रतिनिधिहरुलाई बहिस्कारसम्म गर्ने आँट नागरिक समुदायले गर्नुपर्ने घोराही बनाउ अभियानका अभियन्ता सविन प्रियासनले बताए । 

'जिल्लाको आवश्यकताको विषयमा रत्तिभर काम नगर्नेलाई अब नागरिक समाजका निकायहरुले आफ्नो कार्यक्रममा बोलाउने, सम्मान दिने, प्रमुख अतिथि बनाउने काम बन्द गर्नुपर्छ । ज्यू, हजुरीको संस्कृतिले पनि नेताहरुलाई बिगारेको छ । अन्यथा ठूलाठूला विमानस्थलहरु अहिले पनि बनिरहेका छन्, के कारणले टरिगाउँ विमानस्थल बनेको छैन ?  यदि टरिगाउँ विमानस्थल बनाउने हो भने अब तुलसीपुरबासीहरुले पहिलो चरणमा त्यहाँका जनप्रतिनिधिहरुलाई विमानस्थल बनाउने कामको अगुवाई नगर्दासम्म बहिस्कार गर्नुको विकल्प छैन्', उनले भने ।  

परेन मुख्यमन्त्रीको नजरमा
लुम्बिनी प्रदेशका मुख्ममन्त्री चौधरीको घर नजिक रहेको विमानस्थलमा विमान उड्दैनन् । चुनावका बेला विमानस्थलको स्तरोन्नति र नियमित उडानका लागि पहिलो प्राथमिकता दिने भनेर प्रतिबद्धता गरेका सोही क्षेत्रबाट निर्वाचित भएका चौधरी हाल लुम्बिनीका मुख्यमन्त्री बनेका छन् । डल्लो बजेटका नाममा अर्बौँ रुपैयाँ हातमा राखेर बसेका मुख्यमन्त्री चौधरीले अहिले उक्त विषयमा कुनै चासो नदिएको तुलसीपुरका बसन्त केसी बताउँछन् । 

उनी भन्छन्, 'विमानस्थल कुनै पनि नेतालाई पदमा पुग्नका लागि भर्‍याङ बन्ने गरेको छ, जसको नियमित सञ्चालन गर्ने सवालमा निर्वाचित नेताहरु जिम्मेवार देखिएको पाइँदैन । यसको लेखाजोखा यहाँका जनताले पक्कै गर्नेछन् ।'

उनीहरुको निचोड छ कि इच्छा शक्ति हुने हो भने अहिले पनि उक्त विमानस्थलको स्तरबृद्धि हुन्छ । विमान चढ्न भैरहवा र नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ । घर नजिकैको एयरपोर्टमा जहाज आउँदैन ।  कस्तो दुर्भाग्य भोग्नु परेको छ दाङबासीले । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ