arrow

सरकारदेखि छनौट समितिसम्मै फेरियो संरचना, को बन्ला धितोपत्र बोर्डको अध्यक्ष ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
sebon.jpg.jpeg
तस्बिर : फाइल

काठमाडौँ। नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया सुरु भएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित समितिले बुधवार अध्यक्ष बन्न इच्छुक व्यक्तिबाट प्रस्ताव आह्वान गरेको हो।

बोर्ड अध्यक्ष नियुक्तिका लागि सरकारले करिब डेढ महिना अघि नै समिति बनाएको थियो। आयोगका अध्यक्षको नेतृत्वमा गठन हुने उक्त समितिमा अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र प्राध्यापक उदय निरौला सदस्य छन्। गठन भएको डेढ महिनापछि मात्रै समितिले आफ्नो काम थालेको हो।

सेबोनको अध्यक्षका लागि वाणिज्य शास्त्र, तथ्यांकशास्त्र, कानून लगायत विषयमा स्नातक उर्तीण गरी वित्तीय क्षेत्रमा कम्तीमा ७ वर्षको अनुभव हुनुपर्ने व्यवस्था छ। योग्य तथा इच्छुक व्यक्तिलाई १५ दिनभित्र आवेदन दिन भनिएको छ।

बोर्डमा अध्यक्षको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ। यद्यपि यसअघिका अध्यक्ष रमेश हमाल भने बोर्डमा दुई वर्ष मात्रै रहन पाए। बोर्डमा अध्यक्ष भीष्मराज ढुङ्गानामाथि सर्वोत्तम सिमेन्टको इन्साइडर ट्रेडिङ गरेको आधारमा मन्त्रिपरिषद्ले बर्खास्त गरेपछि उनी बाँकी समयका लागि भएकोले उनको कार्यकाल छोटिएको हो। यद्यपि छोटो अवधिमै पनि उनले बोर्डमा डाइनामिक काम गरेको शेयर लगानीकर्ता सङ्घका उपाध्यक्ष ताराप्रसाद फुल्लेल बताउँछन्।

राजनीतिक नेतृत्वबाटै आएको व्यक्तिले पनि साहसिक र डाइनामिक काम गर्न सक्छन् भन्ने उदाहरण हमालले देखाएको भन्दै फुल्लेल अब आउने अध्यक्ष पनि यस्तै डाइनामिक प्रकारको हुनुपर्ने बताउँछन्।

अहिले बजारमा दोस्रो स्टक एक्सचेन्ज तथा कमोडिटिज बजारको लाइसेन्स प्रक्रिया अघि बढ्न नसकेकोले नयाँ अध्यक्ष आएपछि त्यो अघि बढ्ने अनुमान गरिएको छ। विभिन्न राजनीतिक स्वार्थ जोडिएको यो लाइसेन्सकै कारण बोर्ड अध्यक्ष को बन्छ भन्ने चासो सर्वत्र छ।

अहिलेको अवस्था हेर्दा बोर्डको अध्यक्षमा माओवादी वा काँग्रेससँग निकट रहेका व्यक्ति बाहेक अरू आउने सम्भावना छैन। तर दुई दलबीचको राजनीतिक घर्षण बीच कसको जित हुन्छ भन्ने अहिलेको मुख्य चासोको विषय हो।

सिफारिस समितिमा फेरियो संरचना
करिब २६ महिनापछि सुरु भएको अर्को नियुक्ति प्रक्रियामा सरकारदेखि समितिसम्मको राजनीतिक धार ठ्याक्कै उल्टोपाल्टो छ। त्यति बेला काँग्रेसका सभापति शेयरबहादुर देउवा प्रधानमन्त्री र माओवादीका जनार्दन शर्मा अर्थमन्त्री थिए। अहिले माओवादीका पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा काँग्रेसका डा. प्रकाश शरण महत अर्थमन्त्री छन्।

त्यस्तै, त्यस बेलाको सिफारिस समितिका तीन सदस्यमध्ये काँग्रेस निकटको बहुमत थियो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल आफैँमा तत्कालीन प्रधानमन्त्री देउवाका विश्वासपात्र थिए। समितिका विज्ञ सदस्य जीवनाथ धिताल उनकै सिफारिसमा नियुक्त भएका थिए। अर्का पदेन सदस्यको रूपमा रहने अर्थ सचिव भने मधुकुमार मरासिनी भने तत्कालीन अर्थमन्त्रीका विश्वासपात्र थिए। यद्यपि अनधिकृत व्यक्तिलाई प्रवेश दिएर कर हेरफेर गरेको आरोपपछि पछि ऊनीहरूबिचको सम्बन्ध बिग्रिएको थियो।

अहिले गठित समितिमा संयोजक मीनबहादुर श्रेष्ठ प्रधानमन्त्री पुष्पकमल दाहालका विश्वासपात्र हुन्। उदय निरौला उनकै रोजाइमा छनौट भएका व्यक्ति हुन् भने अर्थ सचिव कृष्णहरि पुष्कर अर्थमन्त्री प्रकाश शरण महतका विश्वासपात्र हुन्। अघिल्लो पटकको संरचनामा काँग्रेसनिकट व्यक्तिले नियुक्ति पाएको नजिरका आधारमा यस पटक बोर्डमा माओवादीनिकट व्यक्ति आउन सक्ने आङ्कलन गरिएको छ। 

त्यति बेला प्रधानमन्त्री पत्नी आरजु देउवा र तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको ट्युनिङ मिलेको कारणले शर्माकै सहमतिमा हमालको नियुक्ति भएको तथा संसदीय अङ्कगणितको रूपमा काँग्रेस बलियो भएकोले काँग्रेसनिकट व्यक्ति अध्यक्ष बन्ने सम्भावना समेत औँल्याइएको छ।

अहिले काँग्रेस माओवादी गठबन्धन सरकार भएका कारणले अघिल्लो पटकका अधिकांश आकाङ्क्षीहरू यस पटक पनि दोहोरिन सक्ने आकलन गरिएको छ। अघिल्लो पटक गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरञ्जीवी चापागाईँ, डा. नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा .जीवन अंगाई, रमेश कुमार हमाल, सीताराम थपलिया, डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, नीरज गिरि र हेमन्त बस्यालले आवेदन दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ