arrow

दुध किसानको पीडा

बुटवलमा आज चक्काजाम

logo
नारायण वली,
प्रकाशित २०८० फागुन १७ बिहिबार
banda.jpg

लुम्बिनी । किसानहरू दूध बेचेको रकम नपाउँदा यतिबेला समस्यामा परेका छन् । दूध बिक्री गरेबापत अरबौँ रुपैयाँ भुक्तानी नपाएको भन्दै किसानहरू आन्दोलित हुँदै आएका छन् । लामो समय बितिसक्दा समेत आफूहरूले बिक्री गरेको दूधको रकम नपाएपछि गाईभैंसीलाई दाना खुवाउन, बैङ्कको ब्याज तिर्न र घर खर्च चलाउन निकै कठिन भएको भन्दै आन्दोलित हुन परेको किसानहरूले बताएका छन् । 

दूध बेचेको पैसा बक्यौता नपाएपछि फागुन १७ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने कार्यक्रम अन्तर्गत किसानहरूले बिहीबार (आज) बुटवलमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत राजमार्ग चौराहमा एक घण्टा चक्काजाम गर्ने जिल्ला दूध उत्पादन सहकारी सङ्घ रुपन्देहीले जनाएको छ । बिहान ११ बजेदेखि १२ बजेसम्म चक्काजाम गरिने भएको हो ।

यसअघि जिल्लास्थित रहेको जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका किसानहरूले बक्यौता रकम दिलाउन कुनै पहलकदमी नगरेको जनाउँदै फागुन १७ गते आफूहरूले साङ्केतिक रूपमा चक्काजाम गरिने र चक्काजामलाई बेवास्ता गरेर मागलाई सम्बोधन नगरे थप सङ्घर्षका कार्यक्रम घोषणा गरिने जिल्ला दूध उत्पादन सहकारी सङ्घ रुपन्देहीका उपाध्यक्ष खिमलाल पाण्डेले जनाएका छन् । उपाध्यक्ष पाण्डेले भने, राज्यले तोकेको मूल्य पाउनु पर्‍यो, किसानहरूको मारलाई सम्बोधन, साङ्केतिक रूपमा गरिएको राजमार्ग चौराहमा बिहान ११ बजेपछि १२ बजेसम्म चक्काजाम गरिने भएको छ । 

दुग्ध विकास संस्थाको गत भदौदेखिको करिब ५८ करोड दूधको रकम भुक्तान गर्न बाँकी रहेको छ भने रुपन्देहीका सहकारी संस्थाहरूले दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजना र अन्य निजी डेरीहरूमा गरी दुई अरब भन्दा बढीको भुक्तानी लिन बाँकी रहेको बताइएको छ । विभिन्न कारण देखाई दुग्ध विकास संस्थान र निजी डेरी व्यवसायीहरूले सहकारी संस्थाहरू मार्फत सङ्कलन गरेको दूध खरिद गर्न आनाकानी गर्ने, अघोषित मिल्क होलिडे गर्ने, केही मात्रामा लगेको दूधको रकम समयमा भुक्तानी नगर्ने, नेपाल सरकारले तोकेको भन्दा कम दरमा खरिद गर्ने गरेकाले आफूहरू बाध्य भएर आन्दोलित हुन परेको पीडित किसानहरूको भनाई छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार २०८० असार १ गतेदेखि पुस मसान्तसम्म जम्मा दूध तथा दूधजन्य पदार्थको एक अरब ४३ करोड ८९ लाख २३ हजार रुपैयाँको आयात गरिएको छ भने ६ करोड ३४ लाख ६५ हजार निर्यात भएको देखिन आएकोले व्यापार घाटा १ अरब ३७ करोड ५४ लाख ५८ हजार रुपैयाँ भएको जनाएको छ । झन्डै डेढ अरबको आयात गरिएको दूध तथा दुग्धजन्य पदार्थको विवरण  सार्वजनिक गर्दै यसबाहेक अनौपचारिक तस्करीको माध्यमबाट भित्रिने दूधको लेखाजोखा हुन नसकेको उल्लेख छ । 

नेपाल किसान महासङ्घ तथा राष्ट्रिय किसान सञ्जाल, अखिल नेपाल किसान महासङ्घ, राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठन, केन्द्रीय दुग्ध सहकारी सङ्घ नेपाल, नेपाल दुग्ध व्यवसायी सङ्घ, दुग्ध उत्पादक किसान सङ्घ नेपाललगायत एक दर्जनभन्दा बढी संस्थाले दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्। यता दूध खरिद गर्ने निजी डेरी तथा सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले दूध तथा दुग्धजन्य वस्तु बिक्री नभएकै कारण भुक्तानीमा समस्या परेको बताएका छन्। विदेशबाट दुग्धजन्य वस्तु आयात भएका कारण पनि स्वदेशी उत्पादनले बजार नपाएको किसानहरूले खुल्ला सिमानाका कारण अवैध रूपमा तस्करी भइरहेको किसानहरूको ठम्याई छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ