arrow

जनावर देखिनसहने चालक

logo
डा बद्रीप्रकाश ओझा, 
प्रकाशित २०८० फागुन १९ शनिबार
badriprakash-ojha-80-11-19.jpg

‘मान्छे भोकभोकै छन्, कुकुरलाई छुर्पी ?, यस्ता ढोंगीहरुलाई त म आधा आँखाले पनि देख्न सक्दिन’, किसान भ्रमणका क्रममा ती महिलाले भनिन् । कुरो थियो, मेरो मुखबाट निस्केको आवाजप्रति उनको जवाफ । जब उनले मलाई दुई चार टुक्रा चुर्पी थमाइन् । 

म पनि के कम प्याट्ट भन्दिएँ, ‘म त खान्न तर मेरो कान्छाले  खुब मन पराउँछ ।’ उनले सम्झिन्, कान्छो मान्छे होला, शायद मेरो कान्छो छोरो होला । तर जब मैले कान्छो छोरो त हो तर मान्छे होइन, कुकुर । उसलाई म छोरै मान्छु भनेपछि उनको पारो चढ्यो । 

ती महिलाले मलाई करिब १० मिनेट उपदेश दिइन् । मानौँ संसार मात्र मान्छेका लागि बनेको जिनिस हो । उनको भनाइको सार थियो, मानिसहरु भोकभोकै छन्, कसैलाई मतलब छैन तर कुकुर डोहोर्याएर हिँड्छन् । बरु भैँसी डोहोर्याउनु नि । म पनि चुप लागेर बस्न सकिन । 

जब उनले ‘कुकुरले दुध दिन्छ ? भन्ने प्रश्न उठाइन् । मलाई पनि पारो चढ्यो । उनको प्रेसर बढाउने विचारले मोबाइलमा डेटा खोलेर कुकुर र मान्छे एउटै ओछ्यानमा सुतेको र आधाआधा रोटी खाएको श्रव्यदृश्य देखाइ दिएँ । अनि उनलाई भनेँ लु यो संसारमा मान्छे र भैंसी एउटै ओछ्यानमा सुतेको फोटो खोज्नुहोस् । विचरा रीसले चुर भइन् ।

ती महिला यस दुनियाँकी एक प्रतिनिधि पात्र हुन् । उनीजस्ता धेरै मानिसहरु संसार मानिसको लागि मात्र बनाइएको हो भन्ने सोच्दछन् । अझ सवारी साधनका चालकहरु त झन् बाटोमा कुकुर देखे अझ झन्किन्छन् । 

कतिपयले जानाजान वा कतिपयले अन्जानमा ठक्कर दिन्छन् र भाग्छन् । हिट एन्ड रन भनिने यस्तो सडक व्यवहार हाम्रोतिर निकै नै देखिन्छ । यस्तो व्यवहारमा सुधार ल्याउन राष्ट्रिय सडक सुरक्षा परिषद्ले प्रयास गर्दै आएको छ । 

दूध दिन छोडेका गाईहरु र गोरुहरु, यत्रतत्र सडकमा छोडिन्छन् । यिनीहरु सडक जोखिमका सिकार बन्छन् । यिनीहरुकै कारण सडकमा सवारी साधनहरु जोखिममा पर्दछन् र मानिसको ज्यानै जान्छ । ज्यानै त गएन तर बाइकबाट म पनि लडेको छु । तीन चार पटक लडेमध्ये एउटा लडाइ टेलिफोनको तारमा मोटरसाइकलको ह्यान्डल अड्किएर दुवै जना भुइँमा बजारियौं । 

दोस्रो पटक स्कुटरमा सवार रहेका बेला फलामवाला बुलेटले ठक्कर दिएर टाप दियो । कसैले नम्बर टिप्न भ्याएन । हामी लडिहाल्यौँ । वरिपरि कतै सीसीक्यामेरा थियो कि भनेर याद गरियो तर रहेनछ । हामी अन्यायमै पर्यौँ । अझ आफैँ सडक सुरक्षाका क्षेत्रमा काम गर्ने आफैँ हिट एन्ड रनको सिकार बन्दा कति नरमाइलो लाग्दो हो । 

सडक प्रयोगसम्बन्धी व्यवहारमा सुधार अत्यन्तै आवश्यक विषय हो । यसको कमीका कारण देशले वर्षमा करिब साढे दुई खर्ब रुपैयाँ क्षति ब्यहोर्नु पर्छ ।  यसैमा मात्र सुधार आए पनि देशमा त्यत्रो धेरै पैसा जोगिन्थ्यो । यति पैसा खर्च गर्ने हो भने देशको सबै जनसंख्यालाई लगभग वर्षैभरि खान पुग्छ । 

सडक सुरक्षाको विषयमा देशका कुनै पनि कार्यालयले गम्भीर रुपमा लिँदैन । सो कार्यालयमा कति मानिसले गाडी चलाउलान् । कतिले गाडी चढ्लान् । गाडी नचढी काममा जाने विषय भएन । कार्यक्षेत्र सुरक्षालाई हाम्रोतिर अझै पनि गम्भीर रुपमा लिइँदैन । सडक सुरक्षालाई त अझ मतलब नै राखिँदैन । (दुर्घटनाको तस्बिर एआईको प्रयोग गरी बनाइएको हो) 

 



नयाँ