arrow

‘पत्रकारले सूचना र समाचार प्रवाह गर्दा लैङ्गिक सम्वेदनशीलतालाई ध्यान दिनुपर्छ’

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २५ शुक्रबार
nari-diwas-fnj-ksaki.jpg

पोखरा । पोखरामा ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लैङ्गिकताको सवालमा मिडियाको भूमिका विषयक संवाद भएको छ ।

नेपाल पत्रकार महासंघ कास्की, सञ्चारिका समूह गण्डकी प्रदेश र इन्सेक गण्डकी तथा महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

गण्डकी प्रदेश सभाका उपसभामुख विनाकुमारी थापामगरले समाज परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइन् । उनले पत्रकारले सूचना र समाचार प्रवाह गर्दा लैङ्गिक सम्वेदनशीलतालाई ध्यान दिनुपर्नेमा जोड दिइन् ।

उनले दिवस र अभियानमा मात्र नभई पत्रकारले ३ सय ६५ दिन नै सजकताका साथ महिलाका विषयका समाचारलाई प्राथमिकता दिन आग्रह गरिन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विमला भण्डारीले महिलाका सवालमा विभिन्न नीतिहरु निर्माण भएपनि कार्यान्वयन गर्ने स्थानमा महिलाको उपस्थिति नहँुदा यी नीति नियम कागजमै सीमित रहेको गुनासो गरिन् ।

उनले जबसम्म निर्णायक तहमा महिलाको प्रतिनिधित्व रहँदैन तवसम्म यस्ता नीतिनियमले सार्थकता नपाउने जिकिर गरिन् ।

सञ्चारिका समूह गण्डकीका अध्यक्ष कविता श्रेष्ठले महिलाका मुद्दा राष्ट्रिय मुद्दा भएकोले यसप्रति हरेक निकायले सजकता अपनाउनुपर्ने खाँचो औंल्याइन् ।

प्रेस काउन्सिलका केन्द्रीय सदस्य दुर्गा भण्डारीले समाचारमा लैङ्गिक संवेदनशीलताका विषयलाई कसरी सम्प्रेषण गर्ने र यसले कस्तो प्रभाव पार्छ भन्ने विषयमा सहजीकरण गरेकी थिइन् । साथै इन्सेक गण्डकीका कार्यक्रम अधिकृत सवनम शर्माले गण्डकी प्रदेशमा मानव अधिकारको चुनौती र सवालका बारेमा सहजीकरण गरेकी थिइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना, पत्रकार महासंघका उपाध्यक्षद्वय रामप्रसाद तिमिल्सिना, जमुना वर्षा शर्मा, महासंघका सहसचिव श्रीराम सिग्देल, फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीषमगर, प्रेस युनियन कास्कीका उपाध्यक्ष ज्योती हमाल, सञ्चारिका समूह गण्डकीका सचिव कविता घर्तीमगर लगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ