arrow

राष्ट्रिय सभाको उपाध्यक्ष एसलाई एमालेको अंश

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २२ बिहिबार
madhav-nepal-2080-06-06.jpg
तस्बिर : फाइल

काठमाडौँ। कुनै बेला एकै दलमा रहेका नेकपा एमाले र नेकपा एसबीच राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदमा रस्साकस्सी परेको छ। एमाले विभाजनपछि निर्माण भएको एसले एमालेकै एक अंश मागे जसरी अहिलेको गठबन्धनमा साझेदारी खोजिरहेको छ।

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने गरी मिति तय गरेका छन्। राष्ट्रिय सभाका अध्यक्ष दाहालले बुधवार राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचनको मिति तोकेपछि नेकपा एसले दाबी गरेको छ। ‘हाम्रो दाबी मात्र होइन हामीले नै उपाध्यक्ष पाउने हो’, एसमा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने।

नयाँ सत्ता समीरण बनेपछि वर्तमान उपाध्यक्ष रहेकी उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिएकी थिइन। उनको राजीनामापछि रिक्त रहेको  उक्त पदमा निर्वाचन हुन लागेको हो। उपाध्यक्षका लागि गठबन्धनबाट एमाले र एकीकृत समाजवादीको दाबी छ। एमालेले सहमतिका लागि भन्दै राष्ट्रिय सभा उपाध्यक्ष पनि अर्को दललाई दिने गरी सहमति पत्रमा खाली राखेको छ। प्रदेश भागबन्डा, सङ्घ र प्रदेशमा हुने निर्वाचनका लागि उम्मेदवार साझा उम्मेदवार छनोट लगायत विषयमा प्याकेजमै छलफल भइरहेको बेला एमालेले उपाध्यक्ष पदलाई प्राथमिकतामा राखेको छैन। यद्यपि अध्यक्ष माओवादीले पाएपछि एमालेले उपाध्यक्षको दाबी गर्नु स्वाभाविक रहेको एमालेका नेताहरूले बताइरहेका छन्। एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने यो विषयमा पार्टीले कुनै पनि प्रकारको निर्णय नगरेको बताएका छन्।

सत्ता समीकरण फेरिएपछि फागुन २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभाको उपाध्यक्ष एमालेले पाउने उल्लेख थियो। तर गठबन्धनमा एकीकृत समाजवादी पार्टीसमेत जोडिएपछि २९ गते बालुवाटारमा भएको ७ बुँदे सहमतिमा सो बुँदा हटाइएपछि एमालेले खास महत्त्व नदिएको हो कि भन्ने शङ्का पनि रहेको छ। सहमतिको उक्त बुँदा हटाइएपछि उपाध्यक्ष कुन दलले पाउने भन्नेमा गठबन्धन दलहरू निष्कर्षमा पुगेका छैनन्। अहिले गठबन्धनमै रहेका दलमध्ये प्रतिनिधि सभाका सभामुख एमालेबाट बनेका छन्। 

उपसभामुख रास्वपाले पाएको छ। राष्ट्रिय सभा अध्यक्ष माओवादीले पाएको छ। रास्वपाको राष्ट्रिय सभा सदस्य नरहेकाले उसले उपाध्यक्षमा दाबी गर्न सक्दैन। तीन सिट रहेको जसपाले पनि उपाध्यक्षमा दाबी गरेको छैन। विपक्षी काँग्रेसले पनि उम्मेदवार बनाउने विषयमा निर्णय गरेको छैन । राष्ट्रिय सभामा गठबन्धनबाट माओवादीको अध्यक्षसहित १८, एमालेको १०, एकीकृत समाजवादीको ८, जसपाको ३ र मनोनीत एक गरी जम्मा ४० सिट छ। विपक्षमा काँग्रेसको १६, लोसपा र राष्ट्रिय जनमोर्चाको एक-एक गरी जम्मा १८ सांसद छन्। ५९ सदस्यीय रहेको राष्ट्रिय सभामा एक जना राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ।

एमालेले प्रदेश भागबन्डामा पनि एसलाई बाग्मती र सुदूरपश्चिम प्रदेश टुङ्गो लगाएको छ। ‘हालको गठबन्धन जोगाई राख्न पनि नेकपा एसलाई मनाउनुपर्ने बाध्यता रहेको छ, त्यस कारण उपाध्यक्ष पनि दिइने सम्भावना रहेको छ’, नेकपा माओवादीका एक पदाधिकारीले भने। उनका अनुसार अहिलेको अवस्थामा सरकारी भागबन्डामा पनि नेकपा एसलाई दिनुपर्ने हुन्छ। पर्यटन बोर्डका सदस्यहरूको नियुक्तिमा नेकपा एसले असन्तुष्टि जनाएपछि सरकारका अन्य निकाय पनि नेकपा एसलाई भाग दिने तयारी गरिएको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ