arrow

संसदमा बर्बराउनुअघि देउवाको शरणमा किन पुगेका थिए रवि ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार
ravi-lamichhane-03-07.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको शरणमा गएको खुलासा भएको छ । 

गोप्य तरिकाले गत साता शुक्रबार उनले होटल मेरियटमा सभापति देउवालाई भेटेर वातावरण बनाउने प्रयास गरेका थिए । 

उक्त भेटमा लामिछानेले देउवासँग सँगै रहने वातावरण बनाउन र संसदीय छानबिन समिति बनाउँदा त्यसको कार्यादेश (टीओआर) खुकुलो बनाउन आग्रह गरेका थिए ।  

सँगै रहने वातावरण भनेको उनले आफ्नो पार्टी डेमोक्रेटिक अलायन्समा रहन चाहेको र डेमोक्रेटिक अलायन्समा साथमा रहेर काम गर्न चाहेको भनी देउवासँग आग्रह गरेका थिए । 

त्यस्तै सहकारी प्रकरणमा आफूमाथि छानबिन हुने डर बढेसँगै उनले त्यसको कार्यादेश बनाउँदा खुकुलो बनाउन आग्रह गरेका हुन् । खुकुलो भन्नाले उनले कुनै पनि व्यक्तिलाई तोकेर नभइ समग्रमा सबै सहकारीको छानबिन गर्ने भनेर समिति बनाउन आग्रह गरेका थिए । 

तर देउवाले भने यो विषय लाखौँ नेपाली जोडिएको विषय भएकाले यसमा जनताको मूल समस्याबाट कांग्रेस पछाडि हट्न नसक्ने बताएका थिए । 

देउवाको यो जवाफले लामिछाने निराश भएका थिए । कांग्रेसका नेताहरुसँग आफ्ना दूतहरु पठाएर सम्पर्क स्थापित गर्दै आएका रवि लामिछानेले संसदीय छानबिन समिति बन्ने नै भएपछि अताल्लिएर डेमोक्रेटिक अलायन्सका नाममा देउवालाई फकाउन गएका थिए । 

देउवाको शरणमा पुगेर कुरा नमिलेपछि लामिछाने हान्निँदै बालकोट पुगेका थिए । उनी त्यहाँ गएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई देउवासँगको कुराकानीको रिपोर्टिङ गरेका थिए । सम्भवतः त्यही रिपोर्टिङपछि ओली कांग्रेससँग झन् आक्रामक भएको हुनुपर्छ । 

हुन पनि हरेक साँठगाँठ कम्युनिष्टहरुसँग गर्ने रवि डेमोक्रेटिक अलायन्सका हुन् भनेर भन्ने आधार पनि केही छैन । न त उनको पार्टीको कुनै पृष्ठभूमि नै छ । हिजोका दिनसम्म केपी ओली र प्रचण्डलाई गाली गर्ने रवि आजका दिनमा उनीहरुलाई नै राजनीतिका आदर्श मानेर बसिरहेका छन् । 

रविले यसअघि राहदानीको विवादको विषय आउँदा पनि यसैगरी नेताहरुलाई भेटेर कुरा मिलाएका थिए । तर यसपालि भने उनलाई नराम्रो धक्का लागेको छ । 

कांग्रेसले लामो समयदेखि छानबिन समिति बनाउन आग्रह गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अटेर गरेका थिए । प्रचण्डले आफूले पनि अनुसन्धान गर्न लगाएको र रविको कहिँ कतै पनि संलग्नता नभएको तथा कांग्रेसले रीस साँध्न रविमाथि लान्छना लगाएको बताएका थिए । 

आफैँ न्यायाधीश बनेका प्रचण्डले रविलाई काखी च्याँप्नुको पहिलो कारण नै सत्ता गठबन्धन ढल्ने खतरा नै थियो । रविलाई च्याँपेपछि उनले चौथो पटक संसदबाट विश्वासको मत पाउन सफल भए । 

योसँगै रविबारेको छानबिनको कुरा भने छायाँमा परेको छ । संसदीय छानबिन समिति नै बन्न नपाउँदै रविले कांग्रेससँगको सम्बन्ध सुमधुर हुने सम्भावना नदेखेपछि संसदमा गृहमन्त्रीको गरिमासमेत बिर्सेर कांग्रेस नेताहरुमाथि विष वमन गरे । 

उनले बर्बराउँदै कांग्रेसका नेताहरुलाई गाली गरे । नभएका आरोप लगाए । अदालतको अवहेलना गर्ने गरी नै लान्छना लगाए ।

तर यसबाट एउटा के प्रमाणित भयो भने रवि निकै नै छट्पटाइरहेका छन् यो सहकारी प्रकरणलाई लिएर । सहकारी प्रकरणमा संलग्न रहेका प्रमाणहरु दिनानुदिन सार्वजनिक हुँदै गर्दा उनलाई थप छटपटी भएको स्पष्ट हुन्छ । 

त्यसैले उनले संसदमा बोल्दा पनि निकै लर्बराएर र आत्तिएर बोलिरहेका थिए । गृहमन्त्रीजस्तो गरिमामय पदमा रहेर उनले सहकारी प्रकरणमा समिति बनाएर सघाउनुको सट्टा आफूले गल्ती नै गरेको छैन भन्दै समिति नै बनाउन नदिने र समिति बने पनि आफ्नो नाम नसमेट्न आग्रह गरेपछि उनी आफूलाई बचाउन कुन हदसम्म गइरहेका छन् भन्ने स्पष्ट स्पष्ट हुन्छ । 

केपी ओलीसँग निकै नै निकट भएका रवि र उनीबीच सहकारी प्रकरणमा आफूले साथ दिने र कथंकदाचित गिरीबन्धु टि–स्टेट प्रकरणले गम्भीर रुप लियो भने आफूलाई सघाउनु पर्ने भद्र सहमतिसहित अगाडि बढेको बुझ्न सकिन्छ । 

त्यसकै प्रभावस्वरुप केपाी ओलीले पनि संसदमा कांग्रेस सांसदहरुमाथि अभद्र व्यवहार गरेको थिए । 

यता रविले संसदमा आइतबार कांग्रेस नेताहरुमाथि अनर्गल कुराहरु गरेपछि त्यसको खण्डन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मेलन गरेका थिए । 

सो क्रममा थापाले लामिछाने सहमति जुटाउन कांग्रेस नेताहरुसँग भेटिरहेको र दूतहरुसमेत पठाइरहेको भन्ने संकेत गरेका थिए । 

थापाको त्यो संकेतपछि सोमबार कांग्रेस नेताहरुसँगको जमघटमा देउवाले रवि र आफूबीच भेटघाट भएको कुरा खोलेका थिए । 

यसअघि रविले नयाँ गठबन्धन बन्दै गर्दा कांग्रेस सभापति देउवाले आफूलाई प्रधानमन्त्रीको अफर गरेको भन्दै हल्ला फैलाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ