arrow

देशमा संविधान र विधिको शासन हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
ram-baran-yadhav.jpg

पोखरा । पूर्वराष्ट्रपति डा रामवरण यादवले देशमा संविधान र विधिको शासन हुनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीको १७औँ साधारण सभा तथा १२औँ अधिवेशन गर्दै डा. यादवले लोकतन्त्रमा मात्र सञ्चार क्षेत्रको विकास सम्भव हुने उल्लेख गरे ।

संविधानअनुसार स्वतन्त्र प्रेसको मर्मलाई सरकारमा रहेकाहरूले पालना गर्नुपर्नेमा उनले जोड दिए । देशमा संविधान र कानुनअनुसार काम हुनु पर्ने भन्दै डा. यादवले सञ्चार क्षेत्र आफ्नो धर्मअनुसार संविधानको पालनाका लागि अगुवा बन्नुपर्नेमा जोड दिए । 

देशको आर्थिक अवस्था कमजोर रहेकाले राजनीतिक दलका शीर्षस्थ नेताहरू बसेर छलफल गर्नुपर्ने पूर्वराष्ट्रपति यादवको भनाइ थियो । 

अहिलेको संविधान र शासन व्यवस्था विश्वमा नै उत्कृष्ट रहेको उनले उल्लेख गरे । “हामीले जुन व्यवस्था ल्याएका छौँ, यो शासन व्यवस्था सर्वोत्कृष्ट छ । हाम्रो विविधतालाई संविधानमा व्यवस्थित गरेर अघि बढ्नुपर्ने चुनौती छ”, उनले भने ।

साथै पूर्व राष्ट्रपति डा. यादवले संविधान र लोकतन्त्र बचाउने जिम्मा मिडियाको भएको उल्लेख गरे । उनले मिडिया राजनीति माथि उठेर काम गर्नुपर्ने बताए । 

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले राजनीति र सञ्चार क्षेत्र शंकारहित हुनुपर्नेमा जोड दिए । उनले दुवै क्षेत्र अझै खारिन बाँकी रहेको प्रष्ट पार्दै एकोहोरो रूपमा लाग्दा एक रथका दुई प्रांग्राको रूपमा रहेका दुवै क्षेत्र शंकाको घेरामा पर्ने उनको भनाइ थियो ।

उनले भने, “हामी कानुन र विधिका कुरामा एकताबद्ध भएर जान्छौँ, तर हामीलाई सचेत गराउनैपर्छ । सञ्चार क्षेत्र आवाजविहीनको आवाज माथि उठाउन, बिनापूर्वाग्रह, बिनापक्षधरता व्यावसायिक तरिकाले खरो उत्रनु पर्दछ ।”

गण्डकी प्रदेश सरकारका मन्त्री हरिबहादुर चुमान, पत्रकार महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, पत्रकार महासंघ लेखा समिति संयाजक लेखनाथ न्यौपाने, प्रेस काउन्सिल नेपाल सदस्य अधिवक्ता दुर्गा भण्डारी, सूर्यप्रेम कृति वृत्तिका पुरस्कार दाता युवा व्यवसायी किरण केसी, कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, राप्रपा कास्की अध्यक्ष नारायण गुरुङ लगायतले बोलेका थिए ।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले संघले ३ वर्षको कार्यकालमा श्रमजीवी पत्रकारिताका लागि थुप्रै काम गरेको उल्लेख गरिन् ।

पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिमदेखि इ-लाइब्रेरीको स्थापना गरिएको उनले बताइन् । कार्यक्रमको सञ्चालन सहसचिव रेम बिकले गरेका थिए । 

बन्दसत्रले सचिव माधव बरालको सचिवको प्रतिवेदन र कोषाध्यक्ष कृष्ण दवाडीको कोषाध्यक्षको प्रतिवेदन सुझावसहित पारित गरेको छ । 

साथै सभाले सात बुँदे प्रस्ताव पारित गरेको छ । श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिक ऐन कार्यान्वयन हुनुपर्ने, मिडिया हाउसमा समावेशी सिद्धान्त कार्यान्वयन हुनुपर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुनुपर्ने, पोखरा पर्यटकीय राजधानी नबने पनि निर्माणमा जोड, साना सञ्चारगृह बचाउनुपर्ने लगायत प्रस्ताव पारित गरेको हो । श्याम कुँवर संयोजक रहेको प्रस्ताव लेखन समिति सदस्यमा प्रकाश ढकाल, घनश्याम पाण्डे र लीना गुरुङ थिए । 

साधारणसभामा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीलाई ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०८०’ बाट पुरस्कृत गरिएको थियो । सो पुरस्कारको राशि रु एक लाख ११ हजार एक सय ११ रहेको छ ।

यसैगरी आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट पोखराका पत्रकार श्रीराम सिग्देल पुरस्कृत भए । सो पुरस्कारको राशि रु २० हजार रहेको छ ।

यस्तै पत्रकारहरू शिरोमणि बराल, सुरेन्द्र थापा मगर, बलराम उपाध्याय र विश्वप्रकाश लामिछानेलाई दीर्घ पत्रकारिता सम्मानबाट सम्मानित गरिएको थियो ।

पत्रकार महासङ्घको संस्थागत विकासका साथै समग्र पत्रकारिता क्षेत्रको उन्नयनमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ