arrow

एमालेबाट छुट्टिएको तीन वर्षपछि महाधिवेशन

नेकपा एसको नेतृत्वमा सहमति खोज्दै माधव, नेताहरू प्यानलै बनाएर भिड्न तयार

भीम रावललाई पार्टीमा ल्याएर नेतृत्व दिनुपर्नेुसम्मको चर्चा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २३ बुधबार
ncp-united-socialist-party-office.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एमालेबाट विभाजित भएको तीन वर्षपछि नेकपा एकीकृत समाजवादीको महाधिवेशन हुने भएको छ । आसन्न १० औँ राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरी तयारी पूरा गरेको छ । 

असार १६ देखि २० गतेसम्म काठमाडौँमा १० औँ राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन आन्तरिक तयारी अपुग भएकाले सारिएपछि महाधिवेशनको तयारी तीव्र रुपमा थालिएको छ । 

महाधिवेशन नजिकिएसँगै नेताहरूले नेतृत्व हात पार्ने कसरतमा लागेका छन् । अहिलेसम्म अध्यक्ष पदका प्रमुख दाबेदारमा माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल देखिएका छन् । माधव नेपालले सहमतिमै नेतृत्व चयन गर्ने बताइसकेका छन् भने खनालले यो विषयमा मुख खोलेका छैनन् ।

तल्लो तहका कतिपय नेताहरुले नयाँ पुस्ताबाट नेतृत्व चयन हुनुपर्ने आवाज उठाइरहेका छन् । उनीहरुले राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाललाई अध्यक्षको तयारी गर्न सुझाव दिएका छन् ।

यद्यपि भुसालले यसबारे मुख खोलेका छैनन् । कतिपयले भीम रावललाई पार्टीमा ल्याएर नेतृत्व दिनुपर्ने सुझाव पनि दिइरहेका छन् । यद्यपि रावलले अहिले एमाले छाडिसकेका छैनन् । 

भुसालले अध्यक्षमा दाबी गर्ने संभावना निकै कम छ । महासचिवका लागि उपमहासचिव जगन्नाथ खतिवडा र प्रकाश ज्वाला लागिरहेका छन् । 

प्रचार विभाग प्रमुख भएकाले देशव्यापी नेटवर्क हुँदा उनले महासचिव दावी गरिरहेका छन् । 

नेपाल र खनालमध्ये जो अध्यक्ष भए पनि खतिवडालाई महासचिवका लागि साथ दिने बताइएको छ । 

भुसाल, खतिवडा र ज्वाला नै दाबेदार भएपछि चुनावबाटै महासचिव चयन हुने सम्भावना छ ।  

महासचिवमा चुनाव भएमा खतिवडाले जित्न सक्ने आँकलन गरिएको छ । स्रोतका अनुसार एकीकृत समाजवादीको अध्यक्ष सहमतिबाटै चयन गर्ने प्रयास भइरहेको छ । तर खनालले अध्यक्षमा दावी गरेकाले नेपाललाई पेचिलो अवस्था सिर्जना भएको छ ।

अध्यक्षका लागि एकसाथ अघि बढेका नेपाल र खनालबीच सहमति गराउन नेताहरू खटिएका छन् । अहिले एकीकृत समाजवादीमा राजनीतिक प्रतिवेदन लेखनको कार्य भइरहेको छ ।

सकेसम्म एउटै राजनीतिक प्रतिवेदन बनाएर अघि बढ्ने तयारी रहेको छ । नेकपा एमालेबाट २०७८ भदौ ९ गते विभाजन भएर बनेको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो । 

त्यसो त एकीकृत समाजवादीभित्र सचिव रहेकी रामकुमारी झाँक्री लगायतले पनि उच्च तहको पदाधिकारीमा रुचि देखाएका छन् । भुसालले अध्यक्षमा उम्मेदवारी दिएमा त्यही अनुसार प्यानल बन्न सक्छ । 

यस्तै सम्मानित नेता खनालले अध्यक्षमा उम्मेदवारी दिएमा उनको पनि प्यानलै बन्ने नेताहरू बताउँछन् । वर्तमान परिस्थितिमा पार्टीले ध्यान दिनुपर्ने समसामयीक विषयहरू भन्दै  खनालले सैद्धान्तिक र नीतिगत सवालमा एमाले भन्दा भिन्न पार्टी देखाउनुपर्ने र पार्टी तथा सङ्गठन विस्तार गर्नुपर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराउँदै आफूले पार्टीको नेतृत्व लिनुपर्ने आशय व्यक्त गरिरहेका छन् ।

ठूलो संख्यामा विद्रोह गरेर अघि आएका नेता–कार्यकर्ताहरू वैचारिक–सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिएकाले गम्भीर समीक्षा हुनुपर्ने खनालको भनाइ छ । 

उनले वैचारिक तथा संगठनात्मक दुवै क्षेत्रबाट देखिएका कमजोरीलाई हटाएर पार्टीलाई एउटा सबल, सशक्त र धारिलो क्रान्तिकारी जगमा उभ्याउनुपर्नेसमेत उल्लेख गर्दै आएका छन् ।

एमालेका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले महाधिवेशन हुने निश्चित भैसकेको र पार्टी नेतृत्वका लागि आफ्नै किसिमका चाहनाहरु भएकाले खुला छलफल हुने बताएका छन् । 

उनले पार्टीको नेतृत्व सकेसम्म सहमतिबाटै चयन हुने बताएका छन् । ‘आंकाक्षा हुन सक्छन् तर पार्टीलाई सबल बनाउर लैजाने पक्षमा सबै नेतहरु एकमत भएकाले नेतृत्वको चयन सर्वसम्मतिमै हुने अपेक्षा गरिएको छ’, प्रचार विभाग प्रमुख खतिवडाले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ