arrow

वर्षासँगै बाढीको चिन्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
duban-kanchanpur-punarbas.jpg

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरवासीले खाद्यान्न सहित लत्ता कपडाजोगबूढा नदीवारी आफन्तकहाँ राखेका छन् । लत्ताकपडा, हलुका खानेकुरालगायत आवश्यक कागजपत्र राखेर झटपट झोला तयार छन् । ती सामान घरभित्र विगतमा बाढी पुगेकोभन्दा माथितिर सुरक्षित राखिएको छ । बाढीको बेला फसेकाको उद्धारका लागि स्थानीयले निर्माण गरेका दुई ढुङ्गा छन् । “बर्सात सुरु भइसक्यो । कुन बेला बाढी गाउँ पस्छ केही पत्तो हुँदैन । त्यसैले सक्दो पूर्वतयारी गरेका छौँ”, स्थानीय दानबहादुर मगर भन्छन्, “बर्सेनि बाढीले सताउँछ ।”

कुतियाकबरमा ४२ परिवारको बसोबास छ । महाकाली नदी र जोगबूढा नदीले घेरिएका यहाँका स्थानीलाई बर्सात लागेसँगै बाढीको चिन्ताले पिरोल्न थालेको छ । महाकाली नदीमा पक्की तटबन्धन नहुँदा बाढी सिधै बस्ती पस्ने गरेको स्थानीय वसन्ती सुनारले बताए । “जमिन कटान भएर बगरमा परिणत भइसक्यो । बाढीले अन्नपात सबै बगाएर लैजान्छ”, उनले भन्नभयो, “यो बाढीको समस्याबाट हामीले कहिले मुक्ति पाउँला ? बर्सातमा कुन बेला के हुन्छ भनेर राम्रोसँग खान र सुत्न पाइँदैन ।”

कुतियाकबर भारतसँग सीमा जोडिएको नेपाली बस्ती हो । बाढीको समस्या झेल्दै ज्यानको बाजी थापेर सीमामा नेपाली भूमिको जोगाएर बसेका कुतियाकबरवासीको पीडा सरकारले नसुनेको गुनासो छ । बाढीले ज्यान जोगाउनै मुस्किल पर्ने गरेको स्थानीय टेकबहादुर सुनार बताउँछन् । “महाकालीमा पक्की तटबन्धन हुँदा केही हदसम्म कटान र बाढीको समस्या कम हुन्थ्यो । तर तटबन्धनको लागि बारम्बार माग गर्दा पनि हाम्रो पीडा कसैले सुनेको छैन”, उनले भने ।

लामो समयदेखि सुरक्षित घरको माग गर्दै आएका यहाँका स्थानीयका लागि यसपटक दुई सुरक्षित घर निर्माण भएपछि स्थानीयलाई राहत भएको छ । कुतियाकबरका स्थानीय बासिन्दा बाढी आएका बेला घर छोडेर दोधारा चाँदनी नगरपालिका–७ स्थित अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएर बस्दै आएका थिए । 

“बर्सात लाग्ने बित्तिकै डर त्रास हुन्छ । सेफ हाउस भएपछि बाढी आएका बस्न अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । ज्यान जोगिने आशा जागेको छ”, स्थानीय मायादेवी सुनार भन्छन्, “खाद्यान्न, लुगाफाटो त बचाउन सकिँदैन । सुरक्षित घरले ज्यान जोगिनेमा ढुक्क छौँ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ