भाइटालिटी स्टेडियम । इङलिश प्रिमियर लिग फुटबलमा लिभरपुल स्तव्ध भएको छ । आइतबार रातिको खेलमा केही कमजोर आँकिएको टिम बर्नमाउथसंग उसकै मैदानमा लिभरपुल ४–३ ले पराजित भयो । लिभरपुल २–० ले अग्रता लिएर पनि विजयी हुन चुकेको हो ।
सम्भवतः बर्नमाउथको यो सबैभन्दा उत्कृष्ट पुनरागमन हुन सक्छ । लिभरपुलजस्तो फर्ममा भएको टिमविरुद्ध २–० ले पछि परेको अवस्थामा पनि बर्नमाउथले पुनरागमन गरेको हो ।
लिभरपुललाई २० औं मिनेटमा सादिओ माने र २२ औं मिनेटमा डिभोक ओरिजीले गोल गरेका थिए ।
५६ औं मिनेटमा बर्नमाउथलाई गोलको खाता खोल्ने क्रममा कालुम विल्सनले पेनाल्टीमार्फत गोल गरे ।
६४ औं मिनेटमा एम्रे कानले गोल गर्दैै लिभरपुललाई ३–१ को स्थ्तििमा ल्याए । तर त्यसपछि बर्नमाउथले लगातार तीन गोल गर्दै चमत्कार देखायो । फ्रासर, कुकु र एकेले गोल गरे ।
यता, म्यानचेष्टरले फेरि अर्को बराबरी भोगेको छ । निरन्तर खराव लयबाट गुज्रिएको म्यानचेष्टर युनाइटेडलाई एभर्टनले आफ्नै मैदानमा गुडिसन पार्कमा १–१ को बराबरीमा रोकेको हो ।
४२ औं मिनेटमा ज्लाटान इब्राहिमोभिचको गोलबाट अग्रता लिएको म्यानचेष्टरलाई झड्का दिने क्रममा ८९ औं मिनेटमा बाइनेसले पेनाल्टीमार्फत गोल गर्दै एभर्टनलाई बराबरी गोल दिलाए ।
अंक तालिकामा १४ औं चरणको समाप्तिपछि ३४ अंकसहित चेल्सी शीर्ष स्थानमा यथावत छ । आर्सनल ३१ अंकसहित दोस्रो स्थानमा छ ।
लिभरपुल ३० अंकसहित तेस्रो तथा समान अंकबाट म्यानचेष्टर सिटी चौथो स्थानमा छ । टोटनह्याम पाँचौं तथा २१ अंकको म्यानचेष्टर युनाइटेड छैटौं स्थानमा छ ।
यो बराबरीले म्यानचेष्टर युनाइटेडको उपाधि होडसमेत गुम्दै गएको देखिएको छ ।