arrow

यी हुन् एमालेका सम्भावित मन्त्रीहरू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
uml-cpn.jpg

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिएसँगै सानो आकारको मन्त्रिपपरिषद् गठन गर्ने भएका छन् । 

राष्ट्रपति निवास शीतल निवासमा बिहान ११ बजे आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले शपथ लिएसँगै मन्त्रिपरिषद् गठन गर्ने भएका हुन् ।

राष्ट्रपति कार्यालयले शपथ समारोहमा उपस्थित हुन सबै सांसदहरूलाई निमन्त्रणासमेत गरेको छ । सांसदहरूलाई बिहान १०ः३० भित्र राष्ट्रपतिको कार्यालय, शीतल निवास प्रवेश गरिसक्ने गरी संघीय संसदका महासचिवलाई पत्र पठाइएको छ । 

कांग्रेससहित साना दलहरूको दुई तिहाइको समर्थनमा एमालेका अध्यक्ष केपी ओली आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । असार २८ गते पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । 

सोही दिन साँझ ओलीले कांग्रेसलगायत दलको समर्थनमा दाबी पेश गरेका थिए ।

योसँगै ओलीले तेस्रो कार्यकाल प्रधानमन्त्री खाँदैछन् । सरकारी तथ्याङ्कअनुसार भने उनी चौथोपटक प्रधानमन्त्री भएका हुन् । उनी प्रधानमन्त्री भएकै बेलामा २०७८ बैशाख ३० गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेको समयलाई तेस्रो बनाएर अहिले चौथो भएको बनाइए पनि निरन्तर उनले कार्यकाल सम्हाल्ने भने यो तेस्रो पटक हो । 

कांग्रेस एमालेको सहमति अनुसार एमालेले अर्थ, सञ्चार, भौतिक तथा पूर्वाधार मन्त्रालय पाउने निश्चित जस्तै छ । ती मन्त्रालयको लागि अध्यक्ष तथा प्रधानमन्त्री ओलीको निजी निवासमा भएको छलफलमा मन्त्री बन्नेहरूको नामबारे सामान्य छलफल भएको थियो । 

छलफलमा सहभागी एक नेताका अनुसार उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवद्धय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्ने लगभग निश्चित भएको बताइए पनि यसलाई सार्वजनिक गरिएको छैन ।

त्यसैगरी नेताहरू कृष्णगोपाल श्रेष्ठ, विद्या भट्टराई, जुलीकुमारी महतो राष्ट्रिय सभाबाट भगवती न्यौपाने, दामोदर भण्डारी, पदम गिरी, ऋषिकेश पोखरेललाई पनि मन्त्री बनाउने बारेमा छलफल गरेको भए पनि ओलीले यो समाचार तयार पार्दासम्म कोही कसैलाई मन्त्रीका लागि तयार हुन निर्देशन दिइसकेका छैनन् । 

छलफलमा आएका नामबारे ओलीले ११ बजेसम्म फेरबदल गर्ने अनुमान गरिएको छ । 

यसअघि कांग्रेस एमालेबीच मन्त्रालयको भागबन्डा आइतबार टुंगिएको थियो । एमालेको भागमा अर्थ, सञ्चार तथा सूचना प्रविधि, भौतिक पूर्वाधार तथा यातायात, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय  मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय परेका छन् ।

त्यसैगरी गृह, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय कांग्रेसको भागमा परेको छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ