arrow

सुदूरपश्चिममा डेंगीको संक्रमण बढ्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
dengue--ji-ha.jpeg

सुदूरपश्चिम । सुदूरपश्चिममा एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेंगीको संक्रमण बढ्न थालेको छ । 
 
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले पाँच महिनायता प्रदेशमा एक सय ६१ व्यक्ति डेंगी रोगबाट संक्रमित भएको जनाएको छ । तीमध्ये डोटीमा ४९, कञ्चनपुरमा २७, अछाममा ३४ र कैलालीमा १२, बाजुरामा १५, बैतडीमा तीन, बझाङमा चार, दार्चुलमा १३ र डडेल्धुरामा पाँच व्यक्ति संक्रमित भएका छन् ।
 
निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले असारदेखि कात्तिक महिनासम्म यस रोगको जोखिम बढी हुने गरेको बताए । उनले भने, “आसारदेखि कात्तिक महिनामा पानी पर्ने र रोकिनेक्रम निरन्तर भइरहँदा लामखुट्टेको वृद्धिविकास भई संक्रमणको जोखिम बढी रहन्छ । त्यसैले रोकथामका लागि लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान चलाउनुपर्ने हुन्छ । पालिकाले अवस्था हेरेर यस्तो अभियान सञ्चालन गर्नेगरेको छ ।” लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजीगरी यसको लार्भा नष्ट गर्दा लामखुट्टेको वृद्धि विकास हुन नपाई रोगको रोकथाममा सहयोग पुग्ने जोशीले बताए । 

गत वर्ष प्रदेशमा डेंगीबाट पीडित तीन व्यक्तिको मृत्यु भएको थियो । लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगको रोकथामको प्रभावकारी उपाय भए पनि नागरिकमा चेतनाको अभाव देखिँदा रोकथाममा समस्या भइरहेको स्वास्थ्यकर्मीको भनाइ छ । सरकारी अस्पतालमा यस रोगका बिरामीको निःशुल्क उपचार हुने गरे पनि समयमा उचारका लागि नआउँदा ज्यानै जानेसम्मको समस्या हुने गरेको छ ।
 
यो रोग लागेपछि मानिसलाई ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांशपेशी दुख्ने, खान मन नलाग्नेजस्ता लक्षण देखिन्छन् । नाक, गिँजा र पेटबाट रगत बग्नेजस्तो कडा खालको लक्षण देखिँदा भने बिरामी बेहोस भई मृत्यु हुनसक्ने चिकित्सकले बताउने गरेका छन् ।
 
खुला भाँडा, गमला, साइकल वा गाडीका टायर र खाली ड्रममा भरिएको पानीमा लामखुट्टेले सजिलैसँग फुल पारेर लार्भाको वृद्धिविकास हुने भएकाले यस्ता भाँडामा पानी जम्मा हुन नदिन र पानी भरिएको भए खाली गरेर सरसफाइ गर्न ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । 
 
यो रोग सार्ने लामखुट्टेले दिउँसोको समयमा मात्र टोक्ने गरेको बताइएको छ । डेंगीको भाइरसबाट संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने गर्छ । त्यसैले आवश्यक सतर्कता अपनाउन चिकित्सकको सुझाव छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ