arrow

कांग्रेस–एमालेबीचको काम गर्ने सहमतिमा धोकाधडी भए यो नै अन्तिम – गगन थापा [भिडियो]

अहिले हस्ताक्षर गर्ने मानिसहरुको एकले अर्कालाई ढाँटेको गन्ने हो भने १५, १६ पटक पुग्दो रहेछ, अनि झुक्किँदो रहेछ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ५ शनिबार
gagan-thapa-04-05.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस–एमालेबीचको काम गर्ने सहमतिमा धोकाधडी भए यो नै अन्तिम हुने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीबीच विगतमा पनि धेरै पटक धोकाधडीको राजनीति भएकाले सरकार आलोपालोमा चलाउने लगायतका दुई पार्टीबीच भएको लिखित ७ बुँदे सहमति कार्यान्वयन हुनेमा सबै मानिसमा संशय रहेको जिकिर गरे ।

महामन्त्री थापाले असार ६ गते (भोलि) प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिने क्रममा संसदमा सोबारे संशय नहुने गरी स्पष्ट धारणा राख्नुपर्ने समेत बताए ।  उनले कांग्रेसले सो समझदारी कार्यान्वयन गरेर अघि बढ्ने विश्वास दिलाउँदै एमाले पनि सो विश्वास दिलाउनुपर्ने धारणा राखे । 

उनले भने, ‘आजको रियालिटी के हो भने नेपाली कांग्रेस पार्टीले नेकपा एमालेसँग एउटा समझदारी गरेको छ । त्यो समझदारीको आधारमा हामी सत्तामा छौं । अब यसको पुष्टि हाम्रो एक्सनबाट हुनुपर्छ । हाम्रो कामबाट हुनुपर्छ । हामीले किन गर्‍यौँ ? भोलि प्रधानमन्त्रीले देशको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । त्यसकारण अहिले धेरै कुरा भन्न उपयुक्त नहोला । किनकि उहाँले नै भन्नुहोला । भोलि हाम्रो समर्थनमा बन्ने प्रधानमन्त्रीले भोली राष्ट्रको नाममा अथवा विश्वासको मत लिँदै गर्दा खेरी, संसदमा आफ्नो विचार राख्दै गर्दा खेरी यति वटा बुँदामा नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा समझदारी भयो । सात बुँदाको बीचमा भनिरहेको छ । अव यो सात बुँदा के हो भन्ने बारे भोली त्यहाँ पढेर सुनाउहाँु पर्छ भन्ने म ठान्दछु । किन ? हामीले त पढ्यौँ त्यसलाई । पढेकै आधारमा हामीले पार्टी भित्र निर्णय गर्‍यौँ । तर त्यो पढेकै आधारमा निर्णय गरेको हुनाले कम्तीमा त्यसको मर्यादा राखौँ भन्ने सोच्यौँ । र, स्वयं त्यसको एउटा हस्ताक्षरकर्ता आफै प्रधानमन्त्री बन्नु भएको हुनाले उहाँको जिम्मेवारी पनि हो । अवसर पनि हो । र मलाई त्यो विश्वास पनि छ । त्यसैको आधारमा हामीले २, ३ वटा कुरा गर्नुपर्ने छन् । पहिलो कुरा हामीले स्थिरता दिने भन्यौ । किनभने नेपालमा सरकारहरू एकदमै बदलिए । अब हामी दुई वटा मिलेपछि २०८४ सालसम्म हामी तलमाथि गर्दैनौँ भन्यौ । र त्यसमा हामीले स्पष्टसँग के भनेका छौ भने एउटा चरणसम्म नेकपा एमालेका अध्यक्षको नेतृत्वमा सरकार रहन्छ । त्यसपछि नेपाली कांग्रेसका सभापतिको नेतृत्वमा सरकार रहन्छ । अव यसो मनमा कुरा गर्ने हो भने सबैको मनमा संशय छ । अहिले हामीले भाषणमा एउटा कुरा भन्यौ भने पनि यसो बाहिर एउटा कोठामा निस्केपछि अनि छोड्छ त भोली भनेको बेलामा ? ठ्याक्क हुन्छ त ? सबैको मनमा छ । हुन्छ होला त भन्छ । संसदमा ताली ठोकी राख्ने मनमा पनि खै, हुने को कि नहुने हो ? भन्न त भनेका छन् । किनकि एकले अर्कोलाई यति पटक ढाँटिसकिएको छ । उसले उसलाई ढाँटेको छ । उसले उसलाई ढाँटेको छ । उसले उसलाई छक्क्याएको छ । म त त्यो पार्लियामेन्टको यसो खेर्दाखेर्दै मेरै आँखा अगाडि अहिले हस्ताक्षर गर्ने मानिसहरूको एकले अर्कालाई ढाँटेको गन्ने हो भने १५, १६ पटक पुग्दो रहेछ । अनि झुक्किँदो रहेछ, पहिले उसले मलाई ढाँटेको कि मैले उसलाई भनेर । यो स्थितिमा हामीहरू दुईटा पार्टी यहाँ आएको स्थिति छ । अब यो तहको अविश्वास, हस्ताक्षर गर्नेमा पनि अविश्वास छ । त्यो हस्ताक्षर गरेको निर्णय ठिक छ भन्नेबीच पनि अविश्वास छ । हप्ता, दुई हप्तामा आएर प्रचण्डजीले हामी ठिक छौं भन्ने जुन परिस्थिति बनेको थियो । पहिलो कुरा यो सरकार अथवा हाम्रो बीचको यो समझदारी सबै संशयहरूबाट मुक्त हुनुपर्छ । नेपाली कांग्रेसको तर्फबाट हामी यो कुरामा निर्धक्कताका साथ भन्न सकिन्छ । म पार्टीकै जिम्मा लिएर भन्न सक्छु कि अहिले नेकपा एमालेसँग हामीले हाम्रा कारणले गर्दा खेरी त्यो समझदारी कहीँ पनि तलमाथि हुँदैन । अहिले २ वर्ष नेकपा एमालेका अध्यक्षज्यूको नेतृत्वमा सरकार चलाउहाँे भनेर जुन भनिएको छ । हाम्रो कारणले, हामीले चकचक गरेर, हामीले लोभ गरेर, यता उता हात लम्काएर यो दुई वर्ष उहाँले सरकार चलाउहाँे कुराको सन्दर्भमा कहीँ पनि हाम्रो कारणले तलमाथि हुँदैन । यो कुरा कुरा हामीले फेरी पछिल्लो समय प्रमाणित गरेर आएका छौं । तपाईँहरूले सम्झनु भएको नै होला । ओलीजीले केही समय अघि प्रचण्डजीलाई विश्वासको मत दिने बेलामा संसद्को रोष्टममा उभिएर हाम्रो सभापतितर्फ देखाउँदै तपाई र मबीच कुरा पनि गर्न नहुने भनेर भन्नुभएको सन्दर्भ एउटा उहाँको भाषा हो । मेरो भाषा होइन । तपाईँहरूले त्यो पक्कै पनि सम्झनु भएको छ । त्यसको आशय के थियो भने उहाँले प्रचण्डसँग लिखित सहमति गरेकाले त्यसपछि पछि हट्न सक्दिन । यो पटक पनि त्यही हो । अहिले चाहिँ प्रचण्डजीले अलि बढी माया प्रेम हामीतिर देखाए । यस्तो चलिराख्छ त्यहाँ भित्र । त्यसकारण यसमा नेपाली कांग्रेस कुनै अलमलमा पर्दैन । नेपाली कांग्रेसले यो पटक जे लिखित समझदारी गरेको छ । त्यसमा तलमाथि केही पनि गर्दैन । यस्तै अपेक्षा हामी नेकपा एमालेबाट पनि गर्छौ । यो नेताहरूप्रति विश्वासीयताको ठूलो परीक्षा छ यस पटक । कांग्रेस एमाले बीच जुन हस्ताक्षर गरिएको छ–सरकार आलोपालो चलाउने, यो गर्ने उ गर्ने भनेर भन्ने कुरा छ । यो तलमाथि हुँदै गर्दा खेरी यो अन्तिम भने पनि हुन्छ । पार्टी भित्र अहिले हाम्रो सभापतिजी हुनुहुन्छ । ओलीजी अध्यक्ष रहनुभएको एमाले छ । उहाँहरूले हस्ताक्षर गर्नुभएको हो यो । उहाँहरू एक अर्काबिच यति धेरै धोकाधडी भइसकेको छ कि मानिसहरूको मनमा संशय छ । तर यो उहाँहरूले प्रमाणित गर्नु पर्छ । कांग्रेसको तर्फबाट हामी प्रमाणित गर्छौ । नेकपा एमालेका तर्फबाट गर्ने काम उहाँहरूको हो ।’

महामन्त्री थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अन्य दललाई सधैँ भरी झुक्क्याउन सक्छु भन्ने भ्रम र चकचकको कारणले कांग्रेस र एमालेले मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको पनि उल्लेख गरे । उनले आफू भने एमाले माओवादीसहितका दलहरू मिलेर बनेको सरकारलाई चलाउने पक्षमा नभए पनि दाहाल स्वयंले नयाँ सरकार बनाउने परिस्थिति निर्माण गरेको बताए । 

महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेसले एउटा निर्णय गरेको छ–यो यो कारणले गर्दा हामी नेपाल कम्युनिष्ट पार्टी (एमाले) जो हाम्रो संसद्को प्रतिस्पर्धी पनि हो । हाम्रो जत्तिकै साइज भएको अर्को दल पनि हो । जो सँग भोली हामीले प्रतिस्पर्धा पनि गर्नुपर्नेछ । आज विशिष्ट भएकाले हामी सत्ताको साझेदारी गर्छौंं भनेर निर्णय गरेका कुरा भन्ने मात्रै होइन, त्यो गरेको कुरालाई पुष्टि गर्ने काम पनि हाम्रो हो । म त माओवादी र एमाले मिलिसकेपछि माओवादी, एमाले, घण्टीमण्टी सबै मिलेर सरकार चलाउन अहिले । २०७४ सालसम्म हामी थपक्क प्रतिपक्षमा बस्नुपर्छ भन्ने नै मेरो सोच थियो । मेरो सोच पनि त्यही थियो । र त्यही सोच अनुसार हिँड्छ भन्ने पनि थियो । त्यो बाटो हिँडोस् भन्ने पनि थियो । मज्जाले २०८४ सम्म प्रतिपक्षमा नै बसौँ । उनहरुले नै सरकार चलाउनुस् हामी प्रतिपक्षमा बसेर पार्टीलाई सङ्गठित गरौँ, जनताको मुद्दासँग जोडिऔँ । यस्तो अवस्था बनाउकी हामी कोहीसँग पनि नटासिकन अरू सबै टाँसिएर, जोडिएर एउटै भएछन् भने पनि त्यसलाई परास्त गर्न सक्ने पार्टी सांगठानिक, वैचारिक तागत निर्माण गर्नु पर्छ भन्ने नै मेरो आफ्नो सोचाई थियो । तर एउटा यस्तो परिस्थिति बन्यो, यो परिस्थितिको बारेमा भोली अरू कुराहरू पनि पटाक्षेप हुँदै जालान् । तर मलाई अहिले म जिम्मेवारीमा भएको हुँदा नेपालको राजनीतिलाई नजिकबाट नियाल्ने, नेताहरूको विषयवस्तुलाई पनि नजिकबाट हेर्ने अवसर प्राप्त गरेँ, गरिराखेको छु । त्यसको आधारमा म के भन्न सक्छु भने अहिले पछिल्लो समयमा म सबैलाई सदैभरि झुकाउन सक्छु भन्ने भ्रम पुष्पकमल दाहाल प्रचण्डले नपाल्नुभएको भए अहिले यतिखेर सरकारहरू बदलेर नयाँ सरकार बन्दैन थियो । पुष्पकमल दाहाल नेकपा माओवादीको अध्यक्षको एकदमै धरै बढी चकचकको कारणले गर्दा खेरी नै एउटा यो परिस्थिति निर्माण भयो । यो परिस्थिति आयो । यो परिस्थितिमा कांग्रेस र एमालेको बीचमा एउटा साझेदारी निर्माण भयो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ