arrow

प्राकृतिक विपद्

प्राकृतिक प्रकोपपछिको उद्धार र राहतबारे गृहमन्त्रीले संसदमा गराए जानकारी [भिडियो]

विपद्‌मा पीडितहरूका लागि सबै जिल्लामा आवश्यक राहतको प्रबन्ध गरिएको छ- गृहमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
ramesh-lekhak-04-08.jpg

काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले मनसुन लगायतका विपद्‌ पीडितहरूलाई सबै जिल्लामा आवश्यक राहतको व्यवस्था मिलाइएको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिने क्रममा  गृहमन्त्री लेखकले मृतकका परिबार र बेपत्ता भएकाका परिवारलाई राहत दिने कामलाई निरन्तर रूपमा अघि बढाइएको बताए । 

विपद्‌पछिको खोज, उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ जना र सशस्त्र प्रहरी बल, नेपालबाट ३ हजार ९५६ जना खटिई ९८९ जनालाई सकुशल उद्धार गरिएको पनि गृहमन्त्री लेखकले बताए । उनले विपद्‌मा परी १३० जनाको मृत्यु भएको र घाइते भएका १४४ जना मध्ये ५ जना बाहेक सबै उपचार गरी घर फर्किएको पनि जानकारी दिए । 

उनले भने, ‘यस वर्षको मनसुन शुरु भएको दिन अर्थात् २०८१ जेठ २८ गतेदेखि हालसम्म देशभर विभिन्न प्राकृतिक प्रकोपका १ हजार ५९२ घटनाहरू भएका छन् । जसमध्ये हालसम्म १३० जनाको मृत्यु भएको छ भने १४४ जना घाइते भएका छन् । र, ४८ जना बेपत्ता भएका छन् । त्यसैगरी ५९४ पशु चौपायाको नोक्सानी भएको छ । २३१ घर र ८४ गोठमा क्षति पुगेको छ । हालसम्म ४३ वटा सानाठूला पुलहरू बगेका छन्, भत्केका छन् । र २ वटा सरकारी भवनहरू भत्किएका छन् । यसै क्रममा ४ हजार ४ परिवारहरू विस्थापित हुने अवस्था सृजना भयो । जसमध्ये १ हजार ५९ परिवारलाई सुरक्षित आश्रय स्थलमा सारिएको छ भने बाँकी आफ्नै घरमा फर्किएका छन् । मनसुनजन्य विपद्‌का कारणले देशका सबै ७७ वटै जिल्ला प्रभावित भएका छन् । विपद्पछिको खोज, उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ जना र सशस्त्र प्रहरी बल, नेपालबाट ३ हजार ९५६ जना खटिई ९८९ जनालाई सकुशल उद्धार गर्न सकिएको छ । अधिकांश विपद्का घटनामा नेपाली सेना समेत खोज र उद्धारमा खटिएको छ । विपद्‌पछिको राहतका लागि सबै जिल्लामा आवश्यक राहत सामग्रीको प्रबन्ध गरिएको छ । मृत्यु भएका १३० जना मध्ये ४७ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । र बाँकी परिबार राहत रकम पाउने प्रक्रियामा रहेका छन् । त्यसैगरी ४८ जना बेपत्ता भएको स्थिति छ । र नेपाल सरकारले पछिल्लो समयमा बेपत्ता भएका मानिसलाई पनि पत्ता लागेन, खोजी भएन भने त्यस्ता बेपत्ताका परिवारजनलाई मृतक सरह नै राहत उपलब्ध गराउने निर्णय गरेको छ । सो निर्णय अनुसार बेपत्ता भएका परिवारहरू पनि राहत रकम पाउने प्रक्रियामा रहेका छन् । घाइते १४४ जनामध्ये ५ जना उपचाररत छन् । बाँकी सबै उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर गइसकेका छन् । ५ जनाको उपचार भइराखेको छ । घाइतेको उपचार प्रबन्धमा तीन वटै तहको सरकार खटेको अवस्था छ । यसैबीच नौ जना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ । विभिन्न ठाउँमा प्राकृतिक प्रकोपका कारणले घाइते भएका र समयमा अस्पताल ल्याउन जटिलता भएको स्थितिमा नौ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । यही असार २८ गते चितवन जिल्लाको सिमलताल बस दुर्घटनामा परी बेपत्ता भएका ६२ जनामध्ये हालसम्म २४ जनाको शव फेला परेको छ । जसमध्ये १९ जना पहिचान भई आफन्तले शव बुझि लगेका छन् भने ५ जनाको पहिचान हुन सकेको छैन । बाँकी ४३ जनाको खोजी कार्य नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल समेतले खोजी कार्य गरिराखेको स्थिति छ । यसैबीचमा पछिल्लो समयमा सरकारले मित्र राष्ट्र भारतलाई पनि खोजी कार्यमा मद्दत गर्नका लागि हामीले आग्रह गरेका थियौँ । त्यस अनुसार भारतीय राष्ट्रिय विपद् मोचन बलका मानिसहरू आवश्यक सामग्रीसहित आएका छन् । र हाम्रो र भारतबाट आएको एमडीआएफको टोलीले संयुक्त रूपमा खोजी कार्य गरिराखेको छ । आज बिहान साँढे ८ बजेबाट सिमलतालदेखि घुमाउने केराबारीसम्म खोज तथा उद्धारको कार्य पुनः शुरु गरिएको छ । उक्त खोजी कार्यका लागि दैनिक ३६८ सुरक्षाकर्मी अहोरात्र खटिएको अवस्था छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ