- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । साढे चार वर्ष नेपाल प्रहरी अस्पताल प्रमुख अर्थात् मेडिकल डाइरेक्टर (एआईजीपी) नियुक्त भएकी डा. आशा सिंह बुधबारबाट सेवा निवृत्त हुँदैछिन् । अबको अस्पताल प्रमुख हुनका लागि तीन जनाबीच प्रतिस्पर्धा छ ।
जसमा डीआईजी डा सुन्दरप्रसाद हैजू, डीआईजी डा सञ्जयविक्रम श्रेष्ठ र डीआईजी डा गोपेशकुमार ठाकुर रहेका छन् ।
यी तीन जनामध्ये हैजू अन्य भन्दा डेढ वर्षले सिनियर भएकाले उनको सम्भावना प्रवल छ । उनको डीआईजी हुँदा श्रेष्ठ र ठाकुर भन्दा डेढ वर्ष अगाडि बढुवा भएको थियो ।
उनी अहिलेसम्म कुनै विवादमा नतानिएका चिकित्सकमा पर्छन् । प्रहरी अस्पतालमा अब डीआईजीका लागि तीन पद खाली हुनेछ ।
जसमा एसएसपी डा दामोदर पौडेल, एसएसपी डा सञ्जिता घिमिरे दाहाल, एसएसपी डा मनोजकुमार यादव, एसएसपी डा अभियन्यू श्रेष्ठ लगायतको सम्भावना छ । जसमा डा दामोदर सबैभन्दा सिनियर हुन् ।
आशाबाट पूरा हुन नसकेको आशा
डीआईजी हुँदासम्म डा आशा सिंह निकै नै आशा गरिएकी चिकित्सकमध्येकी एक हुन् । तर प्रमुख भएपछि भने उनीबाट अपेक्षा गरिए जति अस्पतालले प्रतिफल पाउन नसकेको जानकारहरु बताउँछन् ।
उनी स्वयं पनि आफ्नो कार्यकाल सन्तोषजनक हुन नसकेको आफू निकटकालाई बताउने गरेकी छिन् । उनी स्त्रीरोग विशेषज्ञकी ज्ञाता भए पनि प्रशासनिक नेतृत्वमा भने चुकेको उनी निकटकाहरु नै बताउने गर्छन् ।
हुन पनि उनको स्कुलिङ राम्रो थियो । पारिवारिक वातावरण पनि सबल थियो । उनका पिता सरकारका पूर्व सचिव हुन् । जसका कारण उनको कमाण्डमा अस्पतालले अपेक्षाकृत नजिता हासिल गर्न सक्छ भन्ने अपेक्षा गरिएको थियो ।
तर उनी प्रमुख भए पनि कतिपय महत्वपूर्ण निर्णय भने उनका पतिले गर्दै आएको अस्पताल स्रोत बताउँछ ।
उनका पति रमेशप्रसाद सिंह अर्थोपेडिक सर्जन हुन् । उनी प्रहरी अस्पतालसँग सम्बन्धित नभए पनि एआईजी सिंहको कार्यमा भने हालीमुहाली गर्दै आएको स्रोतको भनाइ छ ।
सोही कारण नै डा सिंहको कार्यकाल विवादरहित बन्न सकेन । जसका कारण प्रहरी संगठन र अस्पतालका कर्मचारीहरुले पालेको आशामा अपेक्षाकृत बन्न सकेन ।
सिंह आउनु भन्दा अगाडि सोही पद सम्हाल्ने डा दुर्गा थापाको छोटो अवधिमै अस्पताल अस्तव्यस्त भइसकेको थियो । एक वर्षभन्दा केही बढी समयमा नै उनले कमिशनबाट मोटै रकम हात पारेको अस्पताल स्रोत बताउँछ ।
त्यस्तो अवस्थामा अस्पताललाई एक सबल नेतृत्वको आवश्यकता थियो । जसका लागि बाहिरबाट हेर्दा आशा सिंहप्रति आशा गर्ने ठाउँ थियो । उनले चाहेको भए अस्पताल सुध्रिने प्रचुर सम्भावना पनि थियो ।
तर उनको अवधिमा अस्पताल प्रशासन अराजक भएको, ठूलो आर्थिक घोटाला भएको, डाक्टर लगायतका कर्मचारीहरुमा निराशा छाएको, उपचारको स्तर खस्केको, अधिकांश कर्मचारीको कामप्रतिको लगनशीलता नभएको भन्ने धेरै गुनासाहरु अस्पतालमा डाक्टरहरु नै गर्छन् ।
हाम्राकुरा डट कमसँग अस्पतालका विभिन्न स्वास्थ्यकर्मीहरुले बताएअनुसार डा. सिंहले चाहेको भए अस्पतालमा सुधारका लागि कायापलट गर्न सक्ने थिइन् । तर उनी स्वार्थी समूहको चंगुलमा पर्दा अस्पतालले ठोस गति लिन नसकेको हो ।
आफूले निर्णय लिन नसकेका कारण उनका श्रीमान् हावी भएकैले गर्दा डा सिंह बदनाम भएको पाइन्छ ।
प्रशासनिक काममा दक्ष नभएकै कारणले उनीमाथि समस्या आएको हो । यद्यपि उनको पारिवारिक पृष्ठभूमिले उनी भ्रष्ट हुन् भन्ने आधार दिँदैन । यद्यपि डा. सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय अनुसन्धान केन्द्र, प्रहरी मुख्यालय लगायतमा उजुरी परेको छ ।
यद्यपि उनी विरुद्धका उजुरीहरु तामेलीमा रहेका छन् । आफूहरु पेलिएपछि अर्को स्वार्थी समूहले उनीमाथि उजुरी हाल्दै हिँडेको उनी निकटका एक चिकित्सकले बताए ।
के के लागे सिंहमाथि आरोप ?
डा. सिंहले आर्थिक अनियमितता गरेको आरोप छ । आफ्ना केही चाकडीबाजलाई मात्रै साथ लिइ उनले काम गर्ने गरेको पाइएको छ ।
अस्पतालमा विभिन्न प्रयोजनको लागि बनाइने समितिमा जायज सुझाव, खर्च र गुणस्तरका बारेमा प्रश्न उठाउनेलाई समितिबाट हटाउने गरेकोसमेत एक पीडितले बताए ।
केन्द्रीय प्रहरी कल्याणले प्रतिवर्ष अस्पतालको वार्षिक समारोहमा केही करोड रुपैयाँ हस्तान्तरण गर्ने चलन छ । यो आम्दानीको कोष बनाइ बैंकको ब्याजबाट प्रहरी परिवार, भुपू र उनका परिवारको उपचारमा खर्च गरिन्छ । अन्य विभिन्न शीर्षक जस्तै नयाँ कर्मचारी भर्ना हुँदा गरिने स्वास्थ्य परीक्षण शुल्कको केही प्रतिशत, सर्वसाधारणको उपचार शुल्क बापतको रकम लगायत पनि यही कोषमा जम्मा हुने गर्छ ।
यो रकम खर्च गर्दा प्रहरी प्रधान कार्यालयबाट स्वीकृति लिनुपर्छ । यस कोषमा २५ करोड रहेको अनुमान छ । यसको आधा भन्दा बढी रकम प्रधान कार्यालयको स्वीकृति बिना आफू खुशी समिति बनाइ खर्च गरेकोसमेत आरोप छ । मोटो कमिशनका लागि यसो गरेको बताइन्छ ।
कोरोना कालका बेलामा सहयोग स्वरुप प्राप्त औषधि तथा अन्य सामग्रीको बिल बनाइ फर्जी गरेकोसमेत उनीमाथि आरोप छ ।
उनीमाथि मातहतका कर्मचारीलाई उत्तेजित भई पटक पटक दुर्व्यवहार गर्ने, अपशब्द बोल्ने र गाली गलौज गर्ने गरेकोसमेत पीडित चिकित्सकहरुको भनाइबाट स्पष्ट हुन्छ । उनी उचित सुझाव दिने कर्मचारीमाथि जाइलाग्ने गरेको आरोप छ ।
उनीमाथि अस्पताललाई प्राप्त हुने इन्धनको समेत फर्जी बिल बनाइ पैसा खाएर खर्च देखाउने गरेको आरोपसमेत छ ।
भुपू र परिवारको लागि औषधि किन्ने भनी करोडौँको बिल बनाइ अपचलन गरेको आरोप छ ।
उनको प्रशासनिक ज्ञान तथा सीप न्यून भएकाले नै व्यवस्थापनमा समस्या भएको प्रहरी प्रधान कार्यालयका एक सम्बद्ध अधिकारीले बताए ।
अस्पतालका कर्मचारीको वृत्ति विकास र प्रशासनिक सुधारमा उनले ख्याल नै नदिएको आरोप छ । उनीमाथि एमडी र एमएस गरेको आठ वर्ष पुगिसकेका डाक्टरहरुको पदोन्नतिका लागिसमेत ध्यान नदिएको आरोप छ ।
उनले मेडिकल अफिसरको उच्च शिक्षामासमेत अवरोध गरेको आरोप छ । उनले डाक्टरलाई पढ्न पठाएमा अस्पताल चल्न नसक्ने भन्दै आफूले राजीनामा दिने भन्दै गृह मन्त्रालयमा गएकोसमेत आरोप छ ।
अधिकांश कर्मचारीहरु उनकै कारण कामचोर भएकाले अस्पतालको सेवा प्रभावित भएकाले विश्वसनियता पनि कम हुँदै गएको आरोप छ ।
उनीमाथि रेडियोलोजी विभागमा एमडी रेडियोलोजीको डिग्री नै नभएकी चिकित्सकलाई करोडौँका सामान खरिदको जिम्मा दिएकोसमेत आरोप छ ।
एक्सरे मेशिन खरिद बारेको आथिृक अनियमितता त प्रहरी प्रधान कार्यालय र अदालतसम्म नै पुगेको थियो । गत वर्ष एमआरआई मेशिन खरिद गर्दा कमिशनको विवादका कारण १६ करोड रुपैयाँको सो खरिद प्रक्रिया प्रधान कार्यालयबाटै रद्द भएको स्रोत बताउँछ ।
उनीमाथि अस्पतालबाट प्रतिवर्ष खरिद गरिने करोडौँका सरसामान, औजार, केमिकल, औषधिहरु खरिद गर्दा स्पेसिफिकेसन फेरबदल गरी कमसल र कम संख्यामा किनेर बिल मिलाएकोसमेत आरोप छ ।
चालु अवस्थामा रहेको करोडौँ रुपैयाँ पर्ने सीटी स्क्यानको ट्युब कानूनी प्रक्रिया बिना नै फेरेकोसमेत उनीमाथि आरोप छ ।
उनीविरुद्ध तीन दर्जन जति उजुरी परेको स्रोत बताउँछ । तर ती सबैमा प्रमाण नपुग्नु भनेको पक्कै कसैको ठूलो ढाडस रहेको हुन सक्ने शंकाको लाभ भने छँदैछ ।