- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले कमलबहादुर शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
सो अनुसार कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता शाहले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । शाहले आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।
यो दाबी पेससँगै यसअघि मुख्यमन्त्रीमा कांग्रेसबाट तीन जनाको दाबी रहे पनि संसदीय दलका नेता कमलबहादुर शाह नै मुख्यमन्त्री बन्ने भएका हुन् । कांग्रेसबाट प्रकाश देउवा र बहादुरसिंह थापाले पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए ।
सुदूरपश्चिम मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी मिलेर सुदूरपश्चिममा कांग्रेसका शाह नेतृत्वमा सरकार गठनको तयारी गरेका छन् ।
प्रदेश प्रमुख नाजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी पेस गर्न आह्वान गरेको थिए ।
५२ सदस्यीय सुदूरपश्चिम प्रदेशमा कांग्रेसको १८, एमालेको १० र नाउपाका ७ सांसद रहेका छन् । शाह यसअघि पनि मुख्यमन्त्री भएका थिए ।