arrow

स्थानीय सरकारको रबाफ

मेयरको द्वेशपूर्ण चरित्रले फुटपाटको व्यापार समस्या सुल्झिएला त ?

नगरप्रहरीले महिलामाथि गरेको हातपात र मेयरद्धारा पाँच हजारले सान्त्वना प्रयासले ढाकिएन मानवअधिकार हनन

logo
नारायण वली,
प्रकाशित २०८१ साउन २३ बुधबार
btl-khel raj 3.jpg

लुम्बिनी । फुटपाटमा हुँदै आएको व्यापारलाई नगरसभाबाट निर्णय गरेर निश्चित ठाउँ र समयमा व्यवसाय गर्न दिनेगरी पद्धतिको विकासमा लागेको बताउने बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयको द्वेशपूर्ण चरित्रका कारण फुटपात व्यापार निर्मम बन्दै गएको छ ।

मेयर पाण्डेयले नै बाटोमा बसेर कपाल काट्ने र लामो समयदेखि फुटपाटमा बसेर मकै पोल्दै आएका आमासँग भनेर  फोटो खिच्दै सम्मान स्वरुप नगद पाँच हजार दिनेजस्ता कार्यले कस्तो पद्धतिको विकास गर्न खोजिँदैछ भन्ने कुराको अट्कलबाजी भइरहेको छ । 

नगरको प्रमुखले नै त्यही नगरभित्रका सडकको फुटपाटमा बसेर व्यापार गरिरहेकाहरुलाई प्राथमिकता दिनुपर्छ भन्दै सामाजिक सञ्जालमा फोटो पोस्ट्याउँदै हाल्ने यता पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हस्पिटल लाइनतिर दैनिक गुजारा चलाउनकै निम्ति हातमा र डोकोमा व्यापार गर्नेहरुमाथि जाइलाग्न नगरप्रहरीहरु पठाउने, नगरप्रहरीले महिलालाई गरेको मानवअधिकार हननको ज्यादतीलाई मिलाउन ती पीडितलाई उपमहानगरमा बोलाएर नगद पाँच हजार दिई मेयर र उपमेयर हाँसेर खिचेको फोटोले नीति बसाल्ने भन्दा नगरप्रहरीलाई बेथिति गर्न थप टेवा पुग्ने सरोकारवालाहरु बताउँछन् । 

शनिबार बुटवलमा त्यस्तै घटना भयो । नेपालगञ्ज रोडमा फलफूल बेच्दै गरेकी टिका श्रीस मगरमाथि नगरप्रहरीले गरेको दुर्व्यवहार मानवअधिकारको ठाडो उल्लघंन थियो । नगरप्रहरीले उनलाई लछारपछार गर्यो ।

घाँटीमा नाम्लो अड्कियो । डोको नगरप्रहरीले तान्ने र महिलाले अड्किएको नाम्लो छुटाउने क्रममा जबरजस्ती तान्दा श्रीसको कपडासमेत त्यातियो । महिलामाथि ६–७ जना नगरप्रहरी झुण्डिएर तानेको देखेर नजिकै एग्रोभेटमा मल किन्न गएका योगेन्द्र गौतमले भने त्यो कहालीलाग्दो घटनाबाट जोगाउन मैले नगरप्रहरीसँग जुँध्न परेको हो ।

छुटाउन खोज्दा मसँग पनि लफडा गर्न थालेका थिए प्रत्यक्षदर्शी गौतमले हाम्राकुरासँग भने । उनले भने, 'ती महिलालाई जोगाएर म घर फर्किएको हुँ ।'

गुल्मी मालिका गाउँपालिकाकी श्रीस छोराछोरीलाई पढाउन र रोजगारीका लागि भन्दै परिवारसहित ३ वर्षअघि बुटवल झरिन् । कोभिडको लकडाउनले दैनिकी जटिल बनेपछि उनले ऋण लिएर होलसेलमा मण्डीबाट फलफूल ल्याउने र सडकपेटीहरुमा बसेर बेच्न थालिन् ।

लगानी कटाएर बचेको पैसाले घरव्यवहार राम्रै चल्न थालेपछि यसैमा निर्भर भइन् । तर त्यही व्यापारमा स्थानीय सरकारको नजर गड्यो । र निरन्तर सडकपेटीमाथि नगरप्रहरीबाट आक्रमण भइरह्यो । 

श्रीस भन्छिन्, 'पछिल्लो समय व्यापार गर्न दुःख छ । कतिखेर नगरप्रहरी आउँछ र भएको सामान लगिदिन्छ भन्ने त्रासमा बस्नु परेको हुन्छ । पहाडबाट झरेर ईट्टाभट्टीमा भाडामा बसेर कक्षा १० र १२ मा पढाउन गाह्रो भएको छ । झोलामा नास्ता लिएर व्यापार गर्न जान्छौँ त्यहि पनि खोसेर लगिदिन्छन् शनिबार म सहित ३ जनाको  फलफूल लगिदिए । हामीहरु यसअघि स्थानीय सरकारले विकल्प दिए दर्ता गरी राजस्व तिर्न समेत तयार भएको पटकपटक जानकारी गराउन उपमहानगरपालिका गए पनि नगरप्रमुखले भेट्न इन्कार गर्नुभयो ।'

यता फलफूल बेच्ने क्रममा घाइते भएकी बुटवल योगीकुटीकी नर्मता टण्डन बुटवलका नगर प्रहरी नाम सुन्ने बित्तिकै डराउँछिन् । बुटवल बजारको मुख्य चोकहरुमा फलफुल बिक्री गरेर जिविका चलाएकी उनी नगरप्रहरीबाट बच्न भाग्ने क्रममा एक वर्षअघि कारमा ठोक्किन पुगिन् । खुट्टा भाँचियो ।

अहिले खुट्टामा रड राखेकी टण्डन पछिल्लोसमय राम्ररी हिँडडुल गर्नसमेत सक्दैनिन् । उनको जीवनमा गत वर्ष जेठ ३१ गते कालो दिन बन्यो । अस्पताल लाइनस्थित पुष्पलाल पार्कमा घाईते भएर लडेकी उनलाई अस्पताल लगियो ।  

पहिले १ लाख ४० हजार रुपैयाँ शुरुमा खर्च भएको र पछि कारका सवारी धनीले उपचार गरिदिए । उपचारपछि पनि घाउ पाक्यो । थप उपचार गर्न गाउँबाट ऋण काढेर उपचार गरेको उनी बताउँछिन् ।

खुट्टमा रड राखेकी उनको एक वर्षपछि निकाल्नुपर्ने चिकित्सकले सुझाव दिएको बताइन । रड कसरी निकाल्ने चिन्तामा रहेको बताउँदै आफूजस्ता न्यून आय भएकाहरुलाई स्थानीय सरकारले राजस्व लिएर भए पनि ढुक्क भएर व्यापार गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने आग्रह गरिन् । 

स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकार नागरिकको नैसर्गिक छ । नागरिकले आफूले रोजेको पेशा व्यवसाय गर्न पाउनुपर्ने अधिकारकर्मीहरु बताउँछन् । राज्यको कुनै पनि निकायले नागरिकमाथि कुनै पनि किसिमबाट आक्रमण गर्न नमिल्ने र गरेमा मानवअधिकार हनन हुने अधिकर्मी रीमा बीसीले बताइन् ।

राज्यका कुनै पनि निकायले नागरिकमाथि कुटपिट गर्नु, बल प्रयोग गर्नु धरपकड गर्नु मानवअधिकार उल्लंघन हो, अझ महिलामाथि गरिने दुर्व्यवहार कठोर भएकाले सैह्य नहुने जिकिर गरिन् ।  

'कुटपिट गर्ने लछारपछार गर्ने, महिलाहरुको कपडा च्यातिदिनु भनेको मानवता विरुद्धको गम्भीर अपराध हो उपमहानगर यसमा संवेदनशील र जवाफदेही हुनुपर्छ', उनले भनिन् ।

तर आइतबार नै पीडितहरुलाई बुटवल उपमहानगरपालिकामा बोलाएर नगरप्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले नगरको फुटपाट व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्दै पीडित मगर र टण्डनलाई च्यातिएको कपडा किन्न जनही ५—५ हजार रुपैयाँ दिएका छन् ।

पाण्डेयले अस्पताल लाइन क्षेत्रबाट सडक व्यवसायीहरुलाई हटाउने र अन्यन्त्र व्यवस्थापन गर्ने बताएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ