arrow

अनुत्पादक बन्दै कंक्रिट भ्युटावर

logo
नारायण वली,
प्रकाशित २०८१ भदौ ६ बिहिबार
bhiu tawar-lumbini 4.jpg

लुम्बिनी । पर्यटन प्रवर्द्धनका लागि भन्दै देशका विभिन्न जिल्लाहरुमा बनाईएका करोडौँका भ्युटावरहरु अर्थहीन बन्दै गएको पाइएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत आवश्यकताको स्तरीकरण गर्दै अघि बढ्नुपर्नेमा आफ्नो पालामा काम देखाउने प्रवृत्तिले बनाइएका भ्युटावरहरु अनुउत्पादक संरचना बन्न पुगेका छन् ।

स्थानीय तहहरुले पर्यटकहरुलाई आकर्षित गर्नको लागि बनाइएका भ्युटावरहरु लहडी विकासको नमूनाको रुपमा आलोचना हुँदै आएका छन् । देशभरका अधिकांश स्थानीय तह, प्रदेश र संघीय सरकारले विभिन्न बहानामा भ्युटावर बनाएका छन् ।

लुम्बिनी प्रदेशको रुपन्देहीसहित पहाडी जिल्लाहरुमा बनाइएका भ्युटावरहरु योजना अनुसार अझै सम्पन्न हुन नसक्दा सञ्चालनमा आउन सकेका छैनन् भने निर्माणकार्य सम्पन्न भएकोमा पर्यटकहरु नजाँदा लाभमुखी हुन सकेका छैनन् ।

पर्यटनका लागि बनाइएका कतिपय भ्युटावरहरु अनावश्यक ठाउँमा बनाउँदा फजुल खर्च र अज्ञानताको पराकाष्ठा भएको नेपाल पर्यटन पत्रकार संघ लुम्बिनी प्रदेश अध्यक्ष भुवन कार्कीले टिप्प्पणी गरे ।

यस्तै तिलोत्तमास्थित शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) मा भ्युटावरको निर्माणकार्य भए पनि अन्य भौतिक संरचनाहरु नबन्दा सञ्चालनमा आउन सकेको छैन । 

२०७८ साल चैत १५ गते उद्घाटन गरेको भ्युटावर अझै सञ्चालनमा आउन सकेको छैन । साढे ११ करोड रुपैयाँ लगानीमा निर्माण भएको भ्युटावर अहिलेसम्म सञ्चालन नहुँदा तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र वन बाटिकाले कुनै लाभ लिन सकेका छैनन् । वन बाटिकाभित्र निर्माण भएको भ्युटावरले पर्यटकहरुको आगमन बढाउने अपेक्षा राखिएको भएपनि सञ्चालन हुन नसक्दा अपेक्षित उद्देश्य प्राप्त हुन सकेको छैन् । 

शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र वन बाटिकामा बनेको उक्त भ्युटावर १० तलाको छ, जसको उचाइ १३४ फिट रहेको छ । तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत र शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रको ३० प्रतिशत लगानी गरेको छ । दोस्रो चरणमा भने संघीय सरकार र नगरपालिकाले लगानी गरेको पाइएको छ ।

भ्युटावर निर्माण भए पनि ठेक्का लगाउँदा पौडी पोखरी, पानीको फोहोरा, पार्किङ, रेस्टुरेन्ट, निर्माण गरी एकीकृत रुपमा सञ्चालन गर्ने योजना थियो ।

ठेकेदार काम सम्झौता नगरी बसिदियो । पछिल्लो संरचना निर्माणका लागि तिलोत्तमा नगरपालिका र संघीय सरकारको पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५ करोड बजेटमा काम शुरु गरिएको तिलोत्तमा नगरपालिकाले जनाएको छ ।

तिलोत्तमा नगरपालिकाका राजस्व उपशाखाका अनुसार पाल्पाको अनुपम निर्माण सेवा कम्पनीले २०७८ फागुनमा २०७९ साल साउनदेखि भ्युटावर चालु गर्ने गरी वार्षिक ३९ लाख ५० हजार रुपैयाँ बुझाएउने र एक वर्षको बैंक ग्यारेन्टी पनि उक्त कम्पनीले गरेको बताएको छ ।

साउनमा सञ्चालन गर्न असार अन्तिमसम्म ठेकेदारले राखेको सर्तहरु पूरा नभएपछि उक्त कम्पनीले सम्झौता गरेन । कम्पनीले भ्युटावर मात्रै हैन, पौडी पोखरी, रेस्टुरेन्ट, पानीको फोहोरा जस्ता संरचना तयार नभएकाले सम्झौता नगर्ने अडान लिएपछि रोकिएको जनाइएको छ ।

कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको भ्युटावरमा सुविधायुक्त रेस्टुराँ र पर्यटक विश्राम स्थल, रिसर्च कक्ष, डिपार्टमेन्ट स्टोर, कार्यालय कक्ष, शौचालयसहित वातानुकूलित कोठा तथा पुस्तकालय लगायतका संरचना रहने भए पनि अहिले भ्युटावर मात्रै तयार भएको छ ।

उक्त भ्युटावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म आँखाले सजिलै देख्न सकिने र दूरबिनको प्रयोगबाट भारतको गोरखपुर, नौतनवासम्मका शहर देखिने दाबी गरिएको छ ।

पूर्वाधार विकासका जानकारहरु भने स्थानीय सरकारले हचुवाका भरमा भ्युटावर बनाएको बताउँछन् । जानकारहरु प्राविधिक अध्ययन नगरी, हचुवाको भरमा जहाँ पायो त्यहीँ टावर नचाहिने बताउँछन् ।

सस्तो लोकप्रियताका लागि स्थानीय सरकारले भ्युटावरमा लगानी गरेको भन्दै विकासको नयाँ परिचय भएको छ । स्थानीय सरकारले आफ्नो बजेट आफैँ खर्चिन पाउने प्रावधानको दुरुपयोग भइरहेको जिकिर गरे ।

पर्यटन प्रवर्द्धनका लागि नेपालमा भ्युटावरको आवश्यकता छैन । स्थानीय सरकार प्रमुखहरुले स्थानीय आवश्यकताहरु प्राथमिकीकरण गरेर सर्वसाधारणको जीवन सहज बनाउनुपर्ने काम नगरेर भ्युटावरको लहड चलाए अनावश्यक ढंगले पैसा खर्च गर्ने काम गरेको लामो समयदेखि पर्यटन क्षेत्रमा काम गर्दै आएका श्रीराम सिग्देलले बताए ।

'जनताबाट कर उठाएर हचुवाका भरमा भ्युटावरका नाममा लाखौं रुपैयाँ सिध्याउनु मूर्खताबाहेक केही मान्न सकिन्न । राज्यको ढुकुटीलाई खर्चिनु चरम अदूरदर्शिताको नमूना पनि हो', उनले भने । 

‘वन बाटिकामा बनाइएको भ्युटावरको आवश्यकता र योजना हुन नसक्दा औचित्य पुष्टि भएन । टावरले एक रुपैयाँ पनि आम्दानी गरेको छैन । टावरको अन्तिम निर्माण  पूरा भए पनि अन्य संरचना नबन्दा टावर मात्रै ठडिएको छ । यो भ्युटावर निर्माण भएको ३ वर्ष बितिसक्यो । यस्तै दाङको अजम्बरी सामुदायिक वनमा बनाइएको भ्युटावर पनि बेकाम जस्तै बनेको छ', वनका अध्यक्ष पवन रिजालले आफू अध्यक्ष पदमा आउनुभन्दा अघि नै भ्युटावर निर्माण शुरु भएको तर अझै काम पूरा नभएको बताए ।

उनले भने, सम्पन्नताको काम बाँकी छ । त्यति धेरै पैसा खर्च भएको भ्युटावरले एक रुपैयाँ पनि कमाइ गर्न सकेको छैन ।' 

केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा अनुत्पादक भ्युटावर बनाउने होड चलेको थियो ।

यता लुम्बिनी प्रदेश उद्योग पर्यटन मन्त्रालय अन्तर्गत रुपन्देहीमा रहेको पर्यटन डिभिजन कार्यालयले प्रदेशमा पर्यटन क्षेत्रहरुको पहिचान गरी बजेट विनियोजन गर्दै आएको बताएको छ ।

२०७८ फागुन १ गते पर्यटन बोर्डले त्रिभुवन विश्वविद्यालय अल्मुनाई एसोसिएसनसँग छलफल गर्दै यस्ता भ्युटावर नबनाउन आग्रह नै गरेको थियो । पर्यटकीय स्थानलाई कुरुप देखाउने गरी बनाइने यी कंक्रिट टावर अनुत्पादक भएको बोर्डले निष्कर्ष निकालेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ