ओल्ड ट्राफोर्ड । इङलिश प्रिमियर लिग फुटबलमा चेल्सी शीर्ष स्थानमा कायमै रहेको छ । आइतबार रातिको खेलमा वेष्टब्रोमविच आल्बियनलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा १–० ले हराउँदै चेल्सी शीर्ष स्थानमा फेरि पनि पुग्न सफल भएको हो ।
चेल्सीलाई विजयी गराउन डिएगो कोस्टाले निर्णायक गोल गरे । हुनत ७० प्रतिशत खेल आफ्नो पक्षमा राखेको रहे पनि चेल्सीले अपेक्षाकृत गोल गर्न नसकेको आरोप लागेको छ ।
जितपछि चेल्सीले दोस्रो स्थानको आर्सनलको भन्दा तीन अंकको अग्रता लिन सफल भएको छ । चेल्सीको १५ खेलबाट ३७ तथा आर्सनलको ३४ अंक छ ।
लिभरपुल भने लत्रिएको छ । लिभरपुलले घरेलु मैदानमा वेष्ट ह्याम युनाइटेडसंग २–२ को बराबरी खेलेको छ । यो बराबरीले लिभरपुलको शीर्ष स्थानका टिमसंगको अंक यात्रामा केही फितलो बनेको छ ।
म्यानचेष्टर युनाइटेड भने सम्हालिएको छ । म्यानचेष्टर युनाइटेडले घरेलु मैदानमा टोटनह्याम हट्सपरलाई १–० ले हराउँदै म्यानचेष्टरले महत्वपूर्ण तीन अंक बचाएको हो ।
खेलको २९ आंै मिनेटमा हेन्रिक मिखितर्यानले म्यानचेष्टर युनाइटेडका लागि निर्णायक गोल गरे ।
खेल नियन्त्रणको सवालमा ४० प्रतिशतमात्र रहे पनि म्यानचेष्टरले गोलको सवालमा नियन्त्रण गर्न सफल भयो ।
अंक तालिकामा ३१ अंकसहित लिभरपुल तेस्रो स्थानमा छ । ३० अंकको म्यानचेष्टर सिटी चौथो, २७ अंकको टोटनह्याम पाँचौं तथा २४ अंकको म्यानचेष्टर युनाइटेड छैटौं स्थानमा छ ।