arrow

पर्वमा बढ्यो माटोका भाँडाको माग 

माटोका भाँडाकुँडा बनाउन व्यस्त कुमाल समुदाय [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
mato-bhada-.jpg

काठमाडौँ । वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरु यतिबेला दीपावली तथा छठ पर्वको तयारीमा लागेका छन् । यी दुवै पर्वमा माटाका भाँडाकुँडाको माग अत्यधिक हुने गर्दछ । यो माग पूर्ति गर्नकै लागि जनकपुरका कुमाल समुदाय यतिबेला माटोका भाँडाकुँडा बनाउन व्यस्त छन् । तर पछिल्लो समय यो पेशाबाट मनग्य आम्दानी नहुँदा युवाहरु पेशाबाटै पलायन हुँदै गइरहेको गुनासो उनीहरूको छ ।
 
उमेरले ७० वर्ष पुग्नुभएका उपेन्द्र पण्डित माटाका सामानहरू बनाउन यतिबेला व्यस्त छन् । अनुभव र सीपले युवाहरु भन्दा पनि छिटो माटोका भाँडा बनाउँछन् । उनलाई अहिले आउँदै गरेको लक्ष्मीपूजा र आस्थाको पर्व छठका लागि माटोको दियो, हाथी, ढकना, सर्वा लगायतका सामाग्रीहरू बनाउने चटारो छ ।

यी पर्वहरूको समयमा माटाका सामानहरूको माग बढेपछि उनी बिहानैदेखि माटाका सामानहरू बनाउन व्यस्त छन् । जनकपुरधाम वडा नम्बर २४ बसहियाका स्थानीय पण्डितले माटोबाट निर्माण हुने विभिन्न कलात्मक सामग्रीहरू बनाउन थालेको लगभग ४० वर्ष भइसकेको छ । उपेन्द्र घरपरिवार चलाउन पुर्ख्यौली पेशाका साथै अन्य कामहरू पनि गर्छन् । 

माटोको सामग्री कुनै विशेष पर्व वा सिजनमा मात्रै विक्री हुने गर्दछ । त्यसमध्ये दीपावली र छठ पनि हो । यही पेशाको भर पर्ने हो भने घर चलाउन हम्मे हम्मे पर्छ । त्यसैले घरपरिवार धान्न पुर्ख्यौलीका साथै अन्य पेशा समेत अपनाउने गरेको कुमाल समुदाय बताउँछन् । उपेन्द्र जस्तै दैनिकी परीक्षण पण्डितको पनि छ । उनले माटाको भाँडाकुँडाको व्यवसाय शुरु गरेको लगभग ३० वर्ष भइसकेको छ । उनले पहिलेभन्दा माटाको भाँडाकुँडाको व्यापार बढेको बताए । मागअनुसार त्यसको आपूर्ति गर्न नसकेको उनको भनाई छ । 

महँगी बढिरहेको छ । तर आजभन्दा ५ वर्ष पहिले ५० रुपैयाँ पाउने कलशको मूल्य अहिले पनि त्यस्तै छ । २ रुपैयाँमै पछिल्लो ५ वर्षदेखि माटोको दियो बेच्न परिरहेको कुम्हाल समुदायको गुनासो छ ।

विष्णु पण्डित भने यी समस्याहरूलाई पन्छाउँदै आफ्नो पुर्ख्यौली पेशालाई निरन्तरता दिने सोचमा छन् । माटो किन्नेदेखि लिएर दाउरासम्मको मूल्य तिरेर एक महिनासम्म मेहनत गरे पनि मनग्य आम्दानी हुन नसक्दा कुम्हाल पेशामा लाग्न युवाहरु रुचाउँदैनन् । यसले कुमाल पेशा नै सङ्कटमा पर्ने उनीहरू गुनासो गर्दछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ