असोजको वर्षामा भएको जनधनको क्षतिको विवरण दिन स्थानीय तहलाई निर्देशन
सरोजश्री अधिकारी,
प्रकाशित २०८१ कार्तिक २६ सोमबार
806
Shares
काभ्रे । गत असोज दोस्रो साताको बाढीपहिरोले जनधनको क्षति पुर्याएकाबारे छिटो पूर्ण विवरण पठाउन स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले निर्देशन दिएको छ ।
धुलिखेलमा बसेको समितिको बैठकले स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतलाई यस्तो निर्देशन दिएको हो ।
हालसम्म स्थानीय तहले क्षतिको पूर्ण विवरण उपलब्ध नगराउँदा राहत तथा पुनःनिर्माणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत आउने सरकारी राहत उपलब्ध गराउन समस्या भएको त्यस अवसरमा जानकारी दिइयो ।
प्राधिकरणको वेभसाइटमा क्षतिको पूर्ण विवरण ‘इन्ट्री’ गरी काभ्रेपलाञ्चोक प्रशासन कार्यालय तथा जिल्ला विपद् व्यवस्थापन समितिमा विवरण बुझाउन निर्देशन दिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षासँगैको बाढीपहिरोले यहाँका विभिन्न स्थानीय तहमा धेरै जनधनको क्षति भएको थियो । जिल्लामा ७९ को मृत्यु भएको थियो भने छ जना अझै बेपत्ता छन् ।
प्रारम्भिक विवरणअनुसार जिल्लामा निजी आवासतर्फ करिब चार हजार घरमा पूर्ण, सात हजार घरमा आंशिक, तीन दर्जन सरकारी भवन तथा सोही सङ्ख्यामा सार्वजनिक भवनमा पूर्ण क्षति भएको जनाइएको छ ।