प्रधानमन्त्री ओलीले यस्तो दिए मन्त्रीहरूलाई निर्देशन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १२ बुधबार
496
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित लक्ष्य हासिल हुने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्। बुधबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सबै मन्त्रालयको त्रैमासिक कामप्रति असन्तुष्टि जनाउँदै निर्धारण गरिएका लक्ष्य प्राप्त हुने गरी कामको गतिलाई अझै तिव्रता दिन मन्त्रीहरूलाई सचेत गराएका हुन् । प्रधानमन्त्रीले राखिएका लक्ष्य अनुसार काम गर्न नसक्ने मन्त्रीलाई पद ओगटेर बस्ने काम गर्न नहुनेतर्फ पनि सचेत गराउनु भएको संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए ।
उनले भने, ‘मुख्यगरी सबै मन्त्रालयकोहरुको एकीकृत प्रस्तुति थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवले प्रस्तुति गर्नु भयो । प्रस्तुतिपछि सचिव, मन्त्रीज्युहरुले आफ्नो आफ्नो मन्त्रालयसँग सम्बद्ध र समग्र विषयमा जुन ३ महिनाको हाम्रो समीक्षा थियो । त्यसमा आधारित भएर हामीले कुरा राख्यौँ । प्रधानमन्त्रीले अन्तिममा निर्देशन दिनु भएको छ । अब अझ गतिका साथ तीन महिनाको यो समीक्षा पछि अब झन् गतिका साथ अगाडि बढ्ने र हामीले मन्त्रालयका लिएका जे लक्ष्य छन्, त्यो लक्ष्य हासिल गर्ने गरी अगाडि बढ्नुपर्छ भनेर प्रधानमन्त्रीले निर्देशन दिनु भयो । केही सुधार गरेर अझ राम्रो गर्नुपर्छ भन्ने नै हो । र, गत वर्षको भन्दा पूँजीगत खर्चको गति हेर्दा खेरी सकारात्मक देखिएको छ । प्रधानमन्त्रीले भन्नु पनि भयो । लक्ष्य अनुसार काम गर्न हामी सबै तयार हुनुपर्छ । जो जुन ठाउँमा छ । त्यसले सोअनुसार काम, कर्तव्य निर्वाह गर्न सकेन भने त कसैले पनि कुनै पनि ठाउँ ओगटी रहनु हुँदैन ।’
त्यस अवसरमा मन्त्रीहरूले आ आफ्नो मन्त्रालयको असोज महिनासम्मको कामको ब्रिफिङ प्रधानमन्त्री ओलीलाई गरेका थिए । त्यस क्रममा मन्त्रीहरूले अन्तर मन्त्रालय समन्वयमा देखिएको समस्याका कारण पनि लक्ष्यअनुसार काम गर्न समस्या भएको धारणा पनि राखेको मन्त्री पाण्डेले बताए । उनकाअनुसार गत वर्षको तुलनामा यस वर्ष सरकारको पहिलो त्रैमासिक कामको नतिजा सकारात्मक देखिएको छ ।