arrow

कांग्रेस कहर

केन्द्रको निर्देशनले कोइराला पक्षको भेला रोकिएन, डा शेखरले गरे यस्तो प्रतिबद्धता  

‘कुनै किसिमको डर, धाक, धम्कीबाट आत्तिनुभएन, तपाईंहरू निस्फिक्री भएर घर जानुस्, तपाईंहरूको संरक्षण म गर्छु’

logo
विवेक मिश्र, 
प्रकाशित २०८१ मंसिर १८ मंगलबार
shekhar-bhela-81-8-18.jpg

मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पालिका सभापतिहरुको संरक्षण आफूले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रम उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिनेहरुले भने शेखर कोइरालालाई १५ औँ महाधिवेशनबाट पार्टी सभापति बनाउने र ८४ को आम निर्वाचनपछि प्रधानमन्त्री बनाउने दाबी गरे । 

नेपाली कांग्रेसमा अहिले देखिएको समस्या र देशमा देखिएको समस्याको समाधान उनै शेखरले गर्ने उनीहरुको दाबी थियो । कांग्रेस ओखलढुङ्गाकी पूर्व सभापति गोमा केसीले शेखर कोइराला अबको प्रधानमन्त्री र अबको पार्टी सभापति हुने ठोकुवा गरिन् । 

पाँचथरका कांग्रेस पूर्वसभापति नरेन्द्र केरुङले अहिले कार्यकर्ताको मन टुटेको र भवना टुटेको बताए । अहिले दुःखेका मनलाई मलम लगाउनु पर्ने बताउँदै उनले प्रशिक्षण कार्यक्रमले त्यो पूरा गर्ने विश्वास व्यक्त गरे । 

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मातिर संकेत गर्दै आक्रोश व्यक्त गरे । ‘केन्द्रीय समितिमा चटक देखाउनेहरू मात्रै छन् । दईवटा महामन्त्रीलाई विधान पढ्न पठाउनु पर्ने भयो,’ उनले भने, ‘शेखर कोइरालालाई तर्साउने काम नहोस् ।’

पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले आफ्नो समूहले राखेको कार्यक्रमबारे केन्द्रीय कार्यालयलाई थाहा नभएको भन्दै जिल्ला सभापतिहरुलाई पठाएको पत्रको चर्चा गर्दैै कार्कीले यस्तो आक्रोश व्यक्त गरेका हुन् । 

कोइराला पक्षले विराटनगरमा मंगलबार आयोजना गरेको पालिका सभापतिहरूको सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले सभापतिहरुको संरक्षण आफूले गर्ने बताए । कोइराला पक्षले विराटनगरमा भेला राखेपछि पार्टी केन्द्रले भने आधिकारिक कार्यक्रम नभएको भनी कुनै पनि कार्यक्रम नगर्न र नगराउन निर्देशनसहितको  पत्राचार गरेको थियो ।

केन्द्रले मंसिर २२ गते कोशीको प्रदेश सम्मेलनअघि पार्टीको औपचारिक कार्यक्रम नभएको सूचना कोशीका पालिका सभापतिलाई सोमबार जारी गरेको थियो । यद्यपि कोइराला पक्षले भेला राखेको हो ।

कोशीका १३७ पालिकाबाट ११३ पालिका सभापति भेलामा सहभागी भएको दाबी शेखर पक्षको छ । ‘कुनै किसिमको डर, धाक, धम्कीबाट आत्तिनुभएन । तपाईंहरू निस्फिक्री भएर घर जानुस् । तपाईंहरूको संरक्षण म गर्छु,’ कोइरालाले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ