उद्यमशीलता प्रवर्द्धनबाट रोजगारी सिर्जना हुन्छ : मुख्यमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २० बिहिबार
653
Shares
मनहरी । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिं लामा (तामाङ) ले महिलालाई उद्यमी बनाउन सके रोजगारी सिर्जना हुने बताएका छन् ।
हेटौँडामा आयोजित महिला उद्यमशीलता प्रवर्द्धनका लागि व्यवस्था गरिएका नीतिगत प्रदेशस्तरीय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले साना लगानीका उद्योगमा लगानी तथा प्रवर्द्धन गर्नसके देशमै रोजगारी सिर्जना हुने बताए ।
उनले महिला उद्यमीलाई अगाडि बढाउन सके आर्थिक विकासमा टेवा पुग्नेसमेत बताए । यसका लागि महिलालाई शिक्षामा लगानी गर्न कञ्जुस्याइँ गर्न नहुने उनको जोड थियो । सबै क्षेत्रमा महिलालाई अधिकार प्रत्याभूति गर्नसके उद्योग व्यवसायसँगै राजनीतिक क्षेत्रमा पनि उनीहरूको पहुँच पुग्ने उनले बताए ।
हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले उद्यम क्षेत्रमा उपमहानगरको लगानी रहेको बताइन् ।
हामीले १४ वटा महिला उद्यम क्षेत्रमा काम गरिरहेका छौँ, कृषिसँगै भान्छामा प्रयोग हुने वस्तु गरी १४ किसिमका उद्यम क्षेत्रमा नगरपालिकाले काम गरिरहेको छ”, नगरप्रमुख लामाले भनिन् ।
हेटौँडा क्षेत्रमा ढाकाका पहिरन, ग्रामेन्ट क्षेत्र, तोफु, अदुवा, बेसार, गुन्द्रुक, खुवा र लसुनलाई ब्राण्डेड गर्दै अघि बढिरहेको प्रमुख लामाले बताइन् ।
महिला उद्यमी महासङ्घका अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा भएको अन्तक्र्रियामा उद्योग तथा वाणिज्य मन्त्रालयका पूर्वसचिव यामकुमारी खतिवडाले महिला उद्यमशीलता विकासका लागि सङ्घ र प्रदेश सरकारका नीति, कार्यक्रम र कार्यान्वयनका लागि समन्वयका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।